राजनीति


प्रदेश खारेजको रास्वपा नीति राजनीतिक बेइमानी, जनतालाई धोखा: सीके राउत

प्रदेश खारेजको रास्वपा नीति राजनीतिक बेइमानी, जनतालाई धोखा: सीके राउत

नेपालखबर
असार १०, २०८३ बुधबार १५:२४, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट प्रदेश खारेजको एजेन्डा पारित गरेकोमा विरोध जनाएका छन्। 

चितवनमा जारी रास्वपाको महाधिवेशनमा उपभासपति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रदेश सभा खारेज गर्ने प्रस्ताव गरेका थिए। त्यसलाई रास्वपा बन्दसत्रले पारित गरेको छ। 

त्यसलाई लिएर जनमत पार्टीका अध्यक्ष सीके राउतले विरोध जनाएका हुन्। बुधबार सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेन्द्र शाहले चुनावी प्रचारका क्रममा बोलेको भिडिओ पोस्ट गर्दै  अध्यक्ष राउतले रास्वपाले जनतालाई धोका दिएको टिप्पणी गरेका छन्। 

‘भोट माग्ने बेलामा मधेसिया छौडा बन्ने, कुर्ता गम्छा लगाउने, मधेसी भाषामा सम्बोधन गर्ने, प्रदेशलाई बलगर बनाउँछु र अधिकार माग्न काठमाडौँ जानु पर्दैन भन्ने,’ राउतले भनेका छन्, ‘अनि त्यही वाचाको आधारमा  क्लीन स्वीप गर्ने, देशभरिमा झण्डै दुई-तिहाई बहुमत ल्याउने, तराई-मधेसको २१ जिल्लाका ७८ सीटमध्ये ७४ सीट जित्ने अनि अहिले आएर प्रदेश सभा खारेज गर्ने एजेन्डा पारित गर्न लगाउनु राजनीतिक बेइमानी हो, जनतासँग धोखा हो, खोलो त¥यो लौरो बिर्सियो भन्ने उखानको चरितार्थ हो।’

अहिले आत्तिहाल्नुपर्ने अवस्था नभए पनि यसलाई स्वीकार्न नसकिने उनले बताएका छन्। प्रदेश सभा खारेज गर्ने कुरा पञ्चायतकालीन सोच भएको उनले औँल्याएका छन्। 

‘कसै-कसैले प्रदेश राख्ने तर प्रदेश सभा खारिज गर्ने भन्ने कुरा गरेको छ भने त्यो निरंकुश पञ्चायती व्यवस्थाको अञ्चल र विकास क्षेत्रवाला सोच हो,’ राउतले भने, ‘विना व्यवस्थापिकाको प्रदेश केवल प्रशासकीय एकाइ र कर्मचारीतन्त्र मात्रै हो, अहिलेको जिल्ला जस्तै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad