ad ad

अन्तर्वार्ता


माओवादी छाड्छु, एमाले–जसपा गठबन्धनलाई सघाउँछु : रामकुमार शर्मा (अन्तर्वार्ता)

नयाँ यात्राबारे भन्छन् : मेरो ‘केमेस्ट्री’ उपेन्द्र यादवसँग मिल्छ
माओवादी छाड्छु, एमाले–जसपा गठबन्धनलाई सघाउँछु : रामकुमार शर्मा (अन्तर्वार्ता)

फाइल तस्बिर


जनार्दन पोखरेल
असोज २८, २०७९ शुक्रबार १८:४१, सर्लाही

महोत्तरी क्षेत्र नम्बर ३ ‘ख’ मा पाएको टिकट खोसिएपछि नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामकुमार शर्मा पार्टीबाट विद्रोह गर्ने मनस्थितिमा पुगेका छन्। सुरुमा माओवादीले शर्मालाई महोत्तरी ३ प्रदेशसभा ‘ख’ को टिकट दिएको थियो। तर, मनोनयनको दिन टिकट खोसिएपछि शर्मा नेतृत्वप्रति रुष्ट छन्।

महोत्तरी ३ मा सत्ता गठबन्धनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा एमालेसँग गठबन्धन गरेर जसपाका हरिनारायण यादव संघीय संसदका उम्मेदवार छन्। महोत्तरी ३ ‘क’बाट लोसपाका अभिराम शर्मा उम्मेदवार छन्। ‘ख’ मा पनि लोसपाकै रानी शर्मा उम्मेदवार छिन्। सत्ता गठबन्धनको सहमतिमा लोसपाकी रानी शर्मालाई उम्मेदवार बनाउन माओवादीले शर्माको टिकट खोसेको थियो। उम्मेदवारी दिन नपाएपछि शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न तत्कालै काठमाडौं गएका थिए। तर काठमाडौं गएर पनि उनले चित्त बुझाएका छैनन्। टिकट खोसिएर आफ्नो अपमान भएको ठानेका उनले माओवादी नै छाड्ने निष्कर्ष निकालेका छन्। माओवादी छाड्ने योजना बनाएका शर्मा अब उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गर्ने सम्भावना छ। उनले आफूनिकटहरुसँग पनि त्यही बताइरहेका छन्। प्रचण्डले चित्त दुखाएको बताइरहेका उनले उपेन्द्र यादवसँग आफ्नो कुरा मिल्ने बताइरहेकाले उनको राजनीतिक यात्रा अब जसपाबाट हुने सम्भावना छ। प्रचण्डलाई भेटेपछि पनि उनको चित्त बुझेको छैन। टिकट खोसिएपछि निराश शर्मासँग नेपालखबरले गरेको कुराकानी : 

तपाईंले माओवादी केन्द्र छाड्न लाग्नु भएको हो?
माओवादीले मलाई अपमान गर्यो। मेरो योगदानको मूल्यांकन भएन। विदेशी दलाल (महन्थ ठाकुर) का लागि पार्टीले मलाई बलिदान चढायो। म जनयुद्ध लडेको, रगत पसिना बगाएको मान्छे हो। जनयुद्धका लागि मैले सरकारी जागिरबाट राजीनामा गरेँ। मेरो परिवारका सदस्य शहीद भएका छन्। मेरो सबै परिवारले माओवादी जनयुद्धमा खुन, पसिना बगाएको छ।

टिकट खोसिएपछि तपाईंले अध्यक्ष प्रचण्डसँग कुरा गर्नु भएन?
बिहीबार मैले अध्यक्ष प्रचण्डसँग उहाँको निवासमै पुगेर एक घण्टा कुराकानी गरेँ। महोत्तरी ३ महन्थ ठाकुरलाई किन छाड्नु भयो भनेर प्रश्न गरेँ, असन्तुष्टि जनाएँ। गठबन्धनका कारण महन्थलाई उम्मेदवार बनाउन बाध्य भएको उहाँले भन्नुभयो। ‘मलाई शेरबहादुर देउवा र महन्थजीले ठूलो दबाब दिए’ भन्ने कुरा उहाँको थियो।

महन्थजीले त्यो महोत्तरी ३ को संघ र प्रदेशका सबै क्षेत्र मेरो भएन भने यो गठबन्धनमा म रहनुको अर्थ छैन भनेर दबाब दिएपछि बाध्य भएर त्यो क्षेत्र उनलाई छाड्नु परेको अध्यक्षको प्रष्टीकरण थियो। तपाईंको उम्मेदवारी फिर्ता लिँदा म आफैँ दुःखी छु भन्ने कुरा प्रचण्डजीले गर्नुभयो। 

‘म यसको क्षतिपूर्ति गर्न चाहन्छु। तपाईंलाई पार्टीको मधेश प्रदेश प्रमुखको जिम्मेवारी दिन्छु। राष्ट्रिय सभामा पहिलो नम्बरमा ल्याउँछु। तपाईंको पीडा म बुझ्छु। म पनि बाध्यतामा परेँ। आफैँले दिएको टिकट फिर्ता लिँदा म पनि खुसी छैन’, भन्नुभयो। उहाँले मलाई निकै सम्झाउने प्रयास गर्नुभयो।

प्रचण्डले त्यसरी सम्झाउँदा त तपाईंको चित्त बुझ्यो होला नि?
चित्त बुझ्ने कुरै हुँदैन। म महन्थ ठाकुरसँग संघमा चुनाव लड्न चाहन्थेँ। मैले सुरुदेखि नै पार्टी नेतृत्वसँग यो माग गर्दै आएको हुँ। पछि जसपा सत्ता गठबन्धनबाट बाहिरिएपछि महन्थ ठाकुर आउनुभयो। असहमतिका बाबजुद अध्यक्षले सम्झाएपछि उहाँलाई महोत्तरी ३ छाड्न पनि म तयार भएकै थिएँ। पार्टीमा कहिलेकाहीँ उतारचढाव हुन्छ भनेर मैले प्रदेशमै चित्त बुझाएको थिएँ। तर, त्यसमा पनि धोका भयो। यसबाट म आहत छु, मर्माहत छु। आश्चर्यचकित छु।

सुरुमा प्रदेशको टिकट दिँदा पनि मैले अध्यक्ष प्रचण्डलाई ‘तपाईंले आफ्नो सुविधाको लागि मलाई बाध्य पारेर प्रदेशमा पठाउनु भयो’, भन्ने गुनासो गरेको थिएँ। तर, अहिले प्रचण्डजीले प्रदेशमा आफैँले दिएको टिकट पनि खोस्नु भयो। यसमा म धेरै दुःखी छु। राष्ट्रिय सभामा ल्याउँछु र प्रदेशमा पार्टीको मुख्य जिम्मेवारी दिन्छु भन्ने उहाँको कुरामा पनि मलाई विश्वास छैन।

टिकट फिर्ता गर्दा तपाईंलाई अध्यक्षले जानकारी दिनु भएन?
कुनै जानकारी दिनुभएन। म जस्तो व्यक्तिको टिकट फिर्ता गर्दा कमसेकम अध्यक्षले पूर्व जानकारी त दिनु पथ्र्यो नि। उहाँले त्यो पनि गर्नु भएन।

‘गठबन्धनको कारण मलाई अप्ठ्यारो भयो है’ भनेर फोनबाट मात्रै भए पनि उहाँले मलाई जानकारी गराउनु पर्थ्यो। दुई शब्द सोध्नुपर्थ्यो। त्योसमेत नगर्दा मैले ठूलो अपमान महसुस गरेको छु। म पीडामा छु। यो मेरो स्वतन्त्रताविरुद्धको निर्णय हो। उहाँले जे जस्ता लोभ लालच देखाए पनि मेरो चित्त बुझ्ने अवस्था छैन। त्यसले मलाई सन्तुष्टि दिँदैन। किन भने मान्छेलाई चाहिने सम्मान हो, स्वाभीमान हो। त्यसपछि मात्रै बाँकी चिज हो।

अब के गर्नु हुन्छ त?
एक साता मौन बस्छु। म आफ्ना कार्यकर्ता, समर्थक र मन मिल्ने साथीहरुसँग विचार विमर्श गर्छु। उहाँहरुको कुरा सुन्छु। चिन्तन मननमा छु। त्यसपछि ठोस निर्णयमा पुग्छु। मेरो त्यो ‘बोल्ड डिसिजन’ नेपाली जनता, नेपाली समाज र मेरो पनि हितमा हुनेछ।

प्रचण्डले मलाई ठूलो अन्याय गर्नुभयो। त्यो अन्याय पनि कसको लागि भन्दा विदेशी दलालको लागि। महन्थ ठाकुर विदेशीको घोषित दलाल हुन्। ‘उनलाई खुसी पारेर तपाईंले के स्वार्थ पूरा गर्नुछ, त्यो तपाईंको कुरा भयो। तर, मलाई यसले निकै पीडा दिएको छ’ मैले प्रचण्डसँगको भेटमा उहाँलाई भनेको छु।

महन्थ ठाकुरप्रति तपाईं किन यति धेरै पूर्वाग्रही बन्नु भएको?
महन्थ ठाकुर विदेशीको दलाल, विदेशीको प्रतिनिधि हुन्। उनी नेपालमा बसेर नेपालको हितमा होइन, विदेशीको हितमा काम गर्ने मान्छे हुन्। उनको यस्तै गतिविधि बुझेरै मैले निर्वाचित सांसद पद त्यागेर ०६५ मै विद्रोह गरेको हुँ। तर, अहिले प्रचण्डले तिनै विदेशीको प्रतिनिधिलाई खुसी पार्न मलाई बलि चढाउनु भन्ने मलाई लाग्छ। उहाँले किन यस्तो निर्णय गर्नुभयो, इतिहासले खोजी गर्ने छ।

एउटै गठबन्धनमा बसेपछि महन्थलाई सघाउनु अध्यक्षको पनि बाध्यता थियो होला नि?
त्यो मान्न म तयार छैन। मधेशमा लोसपासँग मिलेर माओवादीलाई ध्वस्त बनाउने काम भएको छ। हामी आफूलाई राष्ट्रवादी, देशभक्त क्रान्तिकारी भन्छौँ। तर, लोसपासँग तालमेल गर्छौं। यो मिल्ने कुरा होइन। लोसपा जस्तो पार्टीसँग गठबन्धन गरेर समाजवादको यात्रा अघि बढ्न सक्दैन। हाम्रो विचार राजनीति नमिल्ने लोसपासँगको तालमेल हाम्रो लागि घातक हुनेछ।

अबको चुनावमा तपाईंको भूमिका के हुन्छ?
म जसरी पनि महन्थ ठाकुर र उनको टिमलाई हराउन लाग्ने छु। यो निश्चित हो, महोत्तरी ३ बाट म महन्थ ठाकुरलाई विजयी हुन दिन्न।

महन्थ ठाकुरको विजयलाई तपाईं कसरी रोक्न सक्नु हुन्छ? त्यो क्षेत्रमा लोसपा आफैँ बलियो छ, फेरि उनलाई गठबन्धनको पनि साथ छ नि!
हेर्दै जानुस्, अब महन्थ ठाकुर र उनको टिमलाई चुनावमा धुलो चटाउनु मेरो पहिलो दायित्व र कर्तव्य हुने छ। मैले यो कुरा अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराइसकेँ। ‘तपाईंले कुनै लोभ लालचमा परेर महन्थलाई समर्थन गरे पनि म रामकुमार शर्मा उनलाई समर्थन गर्न सक्दिनँ’ भनेर मैले प्रचण्डलाई प्रष्टसँग भनेको छु। यदि माओवादीमै बसेर महन्थलाई हराउने छुट मैले पाएँ भने ठिकै छ। नत्र म अर्को ‘डिसिजन’ गर्ने छु। नेपालमा बसेर विदेशीको लागि काम गर्ने दलाललाई म समर्थन गर्न सक्दिनँ।

तपाईंको उम्मेदवारी फिर्ताको निर्णयलाई महोत्तरी पार्टीले कसरी लिएको छ?
पार्टीका साथीहरु सबै दुःखी छन्, निराश छन्। यो निर्णयबाट त्यहाँको पार्टीमा ठूलो पहिरो जान सक्छ। त्यो क्षेत्रमा सत्तारुढ गठबन्धन हिजोसम्म बलियो अवस्थामा थियो। तर, महन्थ ठाकुरले गठबन्धनको आवरणमा जसरी लोसपालाई अघि बढाउने प्रयास गर्नुभयो। त्यसले कांग्रेस-माओवादी दुवैतिर आक्रोश बढेको छ। शारीरिक रुपमा अशक्त ८२ वर्षीय वृद्ध महन्थ ठाकुरलाई भोट हाल्ने पक्षमा त्यहाँका माओवादी–कांग्रेसका मतदाता छैनन्। हामीजस्ता मान्छेले सत्ता गठबन्धनबाट विद्रोह गरेपछि उहाँले जित्ने सम्भावना रहँदैन।

तपाईं अब चुनावमा एमाले नेतृत्वको गठबन्धनलाई सघाउनु हुन्छ?
त्यो हुन सक्छ। हामी महन्थ ठाकुरविरुद्ध उभिँदा उपेन्द्र यादव नेतृत्वको जसपा र एमाले गठबन्धनका उम्मेदवारलाई स्वतः फाइदा हुने छ। हरिनारायण यादव एमाले-जसपा गठबन्धनका संघीय संसदका उम्मेदवार छन्। जसपाबाट दिपेन्द्र झा प्रदेश सदस्य छन्। एमालेका पोलिटब्युरो सदस्य रामदयाल मण्डल मेरो प्रदेशबाट उम्मेदवार हुनुहुन्छ। हाम्रो विद्रोहले उहाँहरुको जित्ने आधार बलियो हुनेछ।

तपाईं माओवादीबाट विद्रोह गरेर जसपामा प्रवेश गर्ने मनस्थितिमा पुग्नु भएको हो?
मेरो व्यक्तित्व आन्दोलनबाट बनेको हो। मैले माओवादीबाट विद्रोह गरेँ भने जसपासँग सहयात्रा हुनसक्छ। मेरा शुभचिन्तक समर्थक, वुद्धिजीवीहरुले पनि मलाई यस्तै सुझाव दिँदै हुनुहुन्छ। मेरो र उपेन्द्र यादवजीको ‘केमेस्ट्री’ पनि मिल्छ। उहाँ अध्यक्ष र म महासचिव भएर पनि लामो समय मधेशी जनअधिकार फोरममा काम गरेकै हो। त्यतिबेला पनि उपेन्द्रजी पछिको सिनियर लिडर म नै थिएँ। अहिले मधेश प्रदेशका मुख्यमन्त्रीसहित जति पनि लिडर छन्, सबैलाई मैले विगतमा नेतृत्व गरेकै हो। त्यो पार्टीमा पनि मेरो खुन पसिना बगेको छ। मैले महन्थ ठाकुरको टिमलाई हराउन पनि एमाले–जसपाको गठबन्धनमा जानुपर्ने अवस्था आउन सक्छ। 

टिकट नपाउँदैमा पार्टी छाड्ने मनस्थितिमा पुग्न मिल्छ? यस्तो गतिविधिले त राजनीतिलाई विकृत बनाउँछ नि!
म पार्टीको पोलिटब्युरो सदस्य छु। मेरी श्रीमती इन्दु शर्मा निवर्तमान सांसद र पार्टीको केन्द्रीय सदस्य हुन्। हामीमाथि नै यो खालको अपमान कसरी सहन सकिन्छ?

विगतमा म सांसदमा निर्वाचित भएको मान्छे हो। यत्रो प्रतिष्ठा भएको मान्छेसँग नेतृत्वले यो खालको व्यवहार गर्नु सर्वदा अनुचित कुरा हो। अध्यक्ष प्रचण्डको यो निरंकुशता मलाई स्वीकार्य छैन। यसले मलाई ठूलो पीडा बोध भएको छ। यो खालको अपमान गर्ने अधिकार प्रचण्डलाई छैन। यस्तो अपमान गर्नु जरुरी पनि थिएन।

०६४ मा म महन्थ ठाकुरको पार्टीबाट निर्वाचित सांसद थिएँ। सांसद हुँदै म माओवादीमा प्रवेश गरेँ। सांसद पदबाट राजीनामा गरेर माओवादी आन्दोलनमा होमिएको व्यक्ति हो म। अहिले यो खालको अपमान सहनुपर्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .