ad ad

राजनीति


डीआईजी सरुवाबारे रास्वपाले उठायो प्रश्न, शर्मालाई ढकालको चुनौती– सदनमा बोल्न सक्नुहुन्छ?

डीआईजी सरुवाबारे रास्वपाले उठायो प्रश्न, शर्मालाई ढकालको चुनौती– सदनमा बोल्न सक्नुहुन्छ?

नेपालखबर
साउन १३, २०८१ आइतबार १४:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवाबारे प्रश्न उठाएको छ। 

प्रतिनिधि सभा सांसद हरि ढकालले आइतबारको आकस्मिक समयमा बोल्दै अहिले बनेको नयाँ सत्ता गठबन्धनको उद्देश्य अनुसार केसीको सरुवा गरिएको बताए। 

‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो? विश्वासको मत लिएको दुई दिनभित्रमा गरियो। किन, के का लागि, हामीले यो गठबन्धन कुन उद्देश्यका लागि बनेको छ भनेका थियौँ, त्यही उद्देश्यका लागि सरुवा गरिएको छ,’ उनले भनेका छन्। 

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि मन्त्रिपरिषद् विस्तारदेखि नै विभिन्न विवादित पृष्ठभूमिका व्यक्तिलाई नियुक्ति दिइएको उनको जिकिर थियो। 

‘हामीलाई यो सरकारका उद्देश्य थाहा थियो। अहिले देखिन थालेको छ। अनुसन्धानका वरिपरि रहेका र गरिनुपर्नेलाई मन्त्री पद दिएर पुरस्कृत गरियो,’ उनले भने, ‘गुण्डा नाइके, फिरौती, मानव बेचबिखनको आरोप लागेका मान्छेलाई प्रादेशिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।’

विश्वप्रकाशलाई प्रश्न– प्रश्न सोध्न सक्नुहुन्छ?
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसअघि गत असार १० गते इन्स्पेक्टर सरुवा गर्ने बेलामा राखेको भनाई स्मरण गर्दै सांसद ढकालले प्रतिप्रश्न गरेका छन्। 

‘कांग्रेसका महामन्त्रीज्यूले गत असार १० गते पोस्ट गर्नुभएको थियो, गलत भाष्य सावित गर्नका लागि,’ उनले भने, ‘डीआईजी मनोज केसीको सरुवाको बारेमा तपाईं बोल्न सक्नुहुन्छ? यो सदनमा? सक्नुहुन्न।’ 

त्यतिबेला संसद्‌बाटै महामन्त्री शर्माले भनेका थिए, ‘सूर्यबहादुर मगर जिल्ला प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत थिए। गृहमन्त्रीजी हिजो मालिक रहेको सूर्यदर्शन सहकारी संस्था त्यही कास्कीमा छ। सूर्यबहादुर त्यही छानबिन गर्ने एक इन्स्पेक्टर थिए। उनलाई समय नपुगी हटाइयो।  सूर्यबहादुर २०८० भदौ ८ गते हाजिर भएका थिए। उनलाई वैशाख २६ गतेको निर्णयबाट डाँडा कटाइयो र महोत्तरी पुर्‍याइयो। यही रोस्टममा उभिएर प्रहरी चलाउँदैनौं भन्दै हुनुहुन्थ्यो, झूट बोल्नलाई देशको गृहमन्त्रीले रोस्टम प्रयोग गर्न पाउने कि नपाउने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .