राजनीति


सुक्खा बन्दरगाह र महाकालीमा आधुनिक पुल निर्माणमा राष्ट्रपतिको जोड

सुक्खा बन्दरगाह र महाकालीमा आधुनिक पुल निर्माणमा राष्ट्रपतिको जोड

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार १२:७,

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमको दिगो आर्थिक वृद्धि हासिल गर्न विद्युतीकरण, उद्योग, होटल, घरवास, सडक तथा सञ्चार सेवाको सुदृढीकरणमा जोड दिनुपर्ने बताएकी छन्।

कञ्चनपुरको भीमदत्तनगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा आज आयोजित विशेष समारोहमा सम्बोधन गर्दै उनले सुक्खा बन्दरगाह, महाकाली नदीमा आधुनिक पुल र विभिन्न भौतिक पूर्वाधार निर्माणमा सम्बद्ध पक्षको ध्यान जानुपर्ने बताइन्। उनले भनिन्, ‘धनगढी विमानस्थल क्षेत्रीय तथा अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गरी मुलुकको अर्थतन्त्र सुदृढीकरण गर्न पनि ध्यान जानुपर्नेछ।’

पश्चिम सेती, पञ्चेश्वर परियोजना, कैलाश मानसरोवर पहुँच मार्ग सम्पन्न गर्न सम्बन्धित निकाय अग्रसर हुने अपेक्षा गर्दै उनले कृषि क्षेत्रको विकास गर्न सके सुदूरपश्चिममा रोजगारीको ठूलो सम्भावना रहेको बताइन्। राष्ट्रपति भण्डारीले देशमा ठूलो घाँसेमैदान भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गराउने सम्भावना रहेकाले त्यस क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न सम्बन्धित निकाय अग्रसर हुनुपर्नेमा जोड दिइन्।

‘सुदूरपश्चिमका राना थारू समुदायको मौलिक पहिचान हाम्रो समाजको भएकाले संरक्षण र संवद्र्धन गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्छ’, उनले भनिन्, ‘दिगो आर्थिक वृद्धि हासिल गर्न विद्युतीकरण, उद्योग, होटल, घरवास, सडक तथा सञ्चार सेवाको सुदृढीकरणमा ध्यान दिनुपर्छ।’

समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटनको विकासका लागि प्रदेश सरकार नीति बनाएर अघि बढेको उल्लेख गर्दै पर्यटकीयस्थलको पहिचान र प्रचारप्रसार तथा स्थानीय उत्पादनलाई पर्यटनसित जोडेर प्रवद्र्धन गरिने जानकारी गराए। ‘सुक्खा बन्दरगाह र यहाँ बन्द रहेको मझगाउँ विमानस्थल छिट्टै सञ्चालन हुनुपर्छ’, मुख्यमन्त्री भट्टले भने, ‘प्रदेश सरकारले जनस्तरसम्म सेवा प्रवाह गर्न स्थानीय तहलाई समन्वय गरेर अघि बढिरहेको छ।’ समारोहमा नगरप्रमुख सुरेन्द्र विष्टले राष्ट्रपतिलाई नगरवासीका तर्फबाट सम्मान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad