सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको इण्डो प्यासिफिक स्ट्राटेजी –आईपीएस) उसको सैन्य रणनीति नै भएको हुँदा त्यसलाई स्वीकार गर्न नसकिने बताएका छन्।
उनले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) भने उसको सम्बन्ध र विकासलाई गति दिने रणनीति भएको बताए।
‘आइपीएस अमेरिकाले अगाडि बढाएको वृहत रणनीति हो। उनीहरुले आफ्नो स्वार्थ र अति महाशक्तिको सुपरपावरलाई कायम राख्नको लागि अगाडि बढाएको सैन्य रणनीति नै हो,’ प्रचण्डले बिहीबार नेकपा वागमति प्रदेशको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्ने क्रममा भने। ‘त्यसलाई स्वीकार गर्न सक्तैनौं भन्यौं।’
उनले एमसीसीबारे त्यसको अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन गरेर राष्ट्रको हित अनुकुल हुनेगरी नै अगाडी बढाउने बताए। एक–दुई दिनमैं त्यसबारे निर्णय गर्ने उनले जनाए।
‘बीआरआई भनेको पनि चीनले विभिन्न देश, महादेशसँग आफ्नो सम्बन्ध विस्तार गर्ने र आर्थिक विकासलाई गति दिने रणनीति हो त्यो । बीआरआईको त हामी हस्ताक्षरकर्ता भइसकेका छौं तर इण्डो प्यासिफिक एउटा सैन्य रणनीति भएकोले त्यसलाई हामी स्वीकार गर्न सक्तैनौं भन्यौं।’

प्रतिक्रिया