ad ad

राजनीति


मुकुल ढकालको प्रतिवेदन उनैलाई ‘बुमर्‍याङ’ : पार्टीमा एक्लिए, रविसँग बढ्यो दूरी

मुकुल ढकालको प्रतिवेदन उनैलाई ‘बुमर्‍याङ’ : पार्टीमा एक्लिए, रविसँग बढ्यो दूरी

सागर न्यौपाने
असार १४, २०८१ शुक्रबार २१:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले एक महिना समीक्षा यात्रा गरेर तयार पारेको प्रतिवेदन र त्यसपछि व्यक्त गरेको धारणाले उनको राजनीतिक करिअरमा धक्का लाग्ने सो पार्टीका नेताहरूले बताउन थालेका छन्। 

प्रतिवेदन सार्वजनिक गर्न उनले दिएको दबाबले उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने खुसी छैनन्।

सभापति लामिछानेका विश्वासिला नेताका रूपमा चिनिँदै आएका थिए ढकाल। पार्टी स्थापनादेखि निरन्तर शक्तिमा रहेका उनले प्रतिवेदनमा किटेरै पार्टी कमजोर बनेको भन्दै आगामी चुनावमा राष्ट्रिय दल बन्नै नसक्ने बताएका छन्।

असार १२ मा लामिछानेलाई बुझाउनुअघि नै प्रतिवेदनका केही अंश बाहिरिएपछि नेताहरू महामन्त्रीप्रति रुष्ट छन्। शुक्रबार साँझ रास्वपाको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधिसकेको छ। 

‘बरु उहाँले प्रतिवेदनका विषयमा मौन बसेर सभापतिजीसँग सल्लाह गरेको भए फेस सेभिङ हुनसक्थ्यो, उहाँको जित हुन्थ्यो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘तर प्रतिवेदन बाहिर सार्वजनिक गरिदिएर सभापतिजीसँग दूरी बढाउने काम गर्नुभयो।’

असार १३ गते बिहान पार्टी कार्यालयमा सभापति लामिछानेले राखेको बैठकमा प्रतिवेदनका विषयमा नेताहरूले कुरा उठाएका छन्।

‘प्रतिवेदन पार्टीमै नबुझाई बाहिर हल्लाखल्ला भयो, सभापतिज्यू, यसलाई स्वाभाविक मान्न सकिँदैन,’ बैठकमा नेताहरूको भनाइ उधृत गर्दै लामिछानेनिकट स्रोतले भन्यो, ‘जिम्मेवारीमा भएको र पार्टीको नीति कार्यक्रम बनाउने व्यक्ति आवेशमा आउनुभयो जस्तो छ।’

जवाफमा लामिछानेले बैठकमा छलफल गर्ने मात्र बताए। डा. महामन्त्री ढकालले जेठ ६ गते देशका विभिन्न जिल्लामा एक महिना यात्रा गरेर प्रतिवेदन तयार पारेको बताएका छन्।

समीक्षा यात्रा नाम दिएर असार ५ गतेसम्म दुई हजार बढी मानिससँग प्रत्यक्ष साक्षात्कार गरेपछि तयार पारेको प्रतिवेदन उनैलाई ‘बुमर्‍याङ’ भएको नेताहरू दाबी गर्छन्।

‘अहिलेसम्म महामन्त्रीबाट पार्टीबारे जेजसरी धारणा सार्वजनिक भए र प्रतिवेदनमा समेटिए, त्यो उहाँलाई नै बुमर्‍याङ भयो,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘प्रतिवेदनका अंशअंश सार्वजनिक गरेर उहाँले गल्ती गर्नुभयो, यसको क्षति भयंकर पर्नसक्छ।’

यसबारे रास्वपाले असार १९ मा केन्द्रीय समिति बैठकमा छलफल गर्ने भएको छ। 

‘बैठकमा महामन्त्रीमाथि ठूलो प्रश्न उठ्ने छ,’ स्रोतले थप्यो, ‘सायद डिफेन्स गर्न उहाँलाई निकै कठिन पर्न सक्छ।’

रास्वपाको सबै निर्णय प्रक्रियामा महामन्त्री हाबी भएको ती नेताको दाबी छ। प्रतिवेदनका कतिपय विषय बाहिर चुहाएर नेताहरूलाई महामन्त्रीले चिढ्याएको उनीहरूको विश्लेषण छ। 

रास्वपाका महत्वपूर्ण निर्णय प्रक्रियामा महामन्त्रीलाई सभापति लामिछानेले ढुक्कसँग विश्वास गरेका थिए। तर, अब उनी पार्टीमा रहनेबारे नै नेताहरू सन्देह व्यक्त गर्न थालेका छन्। 

‘उहाँले पार्टीमा नरहने वातावरण आफैँ बनाउनुभयो,’ लामिछानेनिकट एक नेताले भने, ‘उहाँ अब कसरी प्रस्तुत हुनुहुन्छ भन्ने कुराले धेरैथोक निर्धारण गर्छ। उहाँको यो स्वयं परीक्षण महँगो पर्नसक्छ।’

दुई वर्षअघि (२०७९ असार ७) स्थापना भएको रास्वपाका संस्थापक महामन्त्री हुन् ढकाल। कालीकोटका विकट ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा दिन रास्कोट अस्पताल बनाउने योजना अघि सारेका ढकाललाई लामिछानेले साथ दिए।

उनको रवि लामिछाने फाउन्डेसनले २०७५ चैत २४ देखि कालिकोटमा अस्पताल निर्माण थालेको थियो। त्यसबेला लामिछाने टेलिभिजन कार्यक्रम चलाउँथे। 

२०७८ वैशाख १ मा सकिएको सामुदायिक अस्पताल निर्माणमा ८ करोड ५० लाख खर्च भएको थियो। रवि लामिछाने फाउन्डेसन र रास्कोट कम्युनिटी हस्पिटलको संयोजनमा निर्माण भएको अस्पताल रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ। 

त्यसबेला निकट भएपछि रास्वपा खुलेलगत्तै रविले शक्तिशाली पदको जिम्मा ढकाललाई दिए। 

‘पार्टी सरकारमा जानुदेखि छोड्नुसम्ममका सबै निर्णयमा सभापतिजीले महामन्त्रीसँग नै छलफल गरेर अघि बढ्नुभएको थियो,’ सांसद शिशिर खनालले भने, ‘अझ, संगठन निर्माणमा त सभापतिले उहाँलाई नै सम्पूर्ण जिम्मेवारी दिनुभएको छ।’

नेताहरूका अनुसार प्रतिवेदन ल्याएपछि महामन्त्री एक्लिँदै गएको बताउँछन्। पार्टीभित्र एकछत्र काम गरेर आफ्ना निर्णय गराउन सफल भएका उनलाई साथ दिएकाहरूले समेत उनको शैली गलत भएको बताउन थालेका छन्।

‘संगठन विभाग प्रमुख अर्काे (सहमहामन्त्री) भए पनि, महामन्त्रीका रूपमा उहाँले सधैँ त्यसमा हस्तक्षेप गर्नुभएको हो। संगठनहरू बनाउने, बिगार्ने र अस्थिर बनाउने कुरामा उहाँको एकदमै ठूलो हात छ,’ केन्द्रीय सदस्य गणेश कार्कीले भने, ‘उहाँले राम्रै नियतले गर्नुभएको थियो भने पनि त्यसले परिणाम त राम्रो दिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .