ad ad

राजनीति


प्रतिनिधिसभा बैठक : विपद्‌मा परेका नागरिकको उद्धार र पुनःस्थापना गर्न माग

प्रतिनिधिसभा बैठक : विपद्‌मा परेका नागरिकको उद्धार र पुनःस्थापना गर्न माग

नेपालखबर
असार १३, २०८१ बिहिबार १३:०, काठमाडौँ

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विपद्‌मा परेका नागरिकको उद्धार र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले मनसुनको सुरुवाती चरणमै देशका विभिन्न ठाउँमा धनजनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले विराटनगर डुबानमा परेका कारण जनजिवन प्रभावित भएको भन्दै डुबानमा परेका नागरिकलाई उद्धार गर्न माग गरे। सरकारले ठूला–ठूला कुरा गरेर मात्रै नहुने भन्दै डुबानमा परेका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए। 

‘विराटनगर अहिले जलमग्न छ। बाढीले गर्दा विराटनगरमा कुनै किसिमको आवतजावत गर्ने स्थितिमा छैन। सरकारले कसरी त्यसको व्यवस्थापन गर्ने? कसरी चाँडै उद्धार गर्ने? त्यो कुराको ध्यान दिइराखेको छैन। सरकारलाई विशेष ध्यान दिन भन्न चाहन्छु कि कुराले चिउरा भिज्दैन,’ उनले भने, ‘त्यसको निम्ति दहि, मोही चाहिन्छ। सरकारले तुरुन्त त्यहाँको उद्धार गर्नुप¥यो। ठूला ठूला कुरा गरेर भएन। बस्ती डुबेको छ। त्यो कुराको व्यवस्थापन सरकारले तुरुन्त गर्नुप¥यो। विराटनगरमा पानीको निकासका लागि कम बजेट विनियोजन हुँदा वर्षेनी समस्या आउने गरेको छ।’

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा पोहोर गएको विपद्को क्षतिपूर्ति र राहत आजसम्म नपाएका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले गृहमन्त्रीले विपद्का फाइलहरु खोलेर जनतालाई राहत दिनुपर्ने पनि बताए। उनले जनताको पुनःस्थापना गर्ने र जनतालाई राहत दिने फाइलहरु खोल्न गृहमन्त्रीलाई आग्रह गरे।

‘एक वर्षसम्म गृहमन्त्रालयको विपद् प्राधिकरण अन्तर्गत हुने काममा अहिलेसम्म केही भएको छैन। ती घरहरूलाई व्यवस्थापन गर्न र विपद्बाट पीडितहरुलाई स्थानान्तरण गर्न अथवा पुनःवासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु। एक वर्ष अगाडी ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा भएका विपद्का फाइलहरु गृहमन्त्रालयमा थन्किएर बसेका छन्,’ उनले भने, ‘म गृहमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु, तपाई फाइल धेरै हेरिरहनुभएको छ। कमसेकम विपद्‌मा परेका फाइलहरु, जनतालाई राहत दिने फाइलहरु, पुनःस्थापना गर्ने फाइलहरू ति फाइलबाट जनतालाई राहत हुन्छ भने त्यस्ता फाइलतिर पनि गृहमन्त्रीको ध्यान जाओस्।’

प्रतिनिधि सभा सदस्य किरण शाहले विपद्‌मा परेर नागरिकको मृत्यु भइरहँदा र बिस्थापित भइरहँदा मन्त्रीहरू भने मिशन ०८४ मा व्यस्त भइरहेका बताए। उनले मधेस प्रदेशका विभिन्न भू–भागहरु डुबानमा परेका भन्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराए।

‘गत वर्ष प्राकृतिक प्रकोपले कम्तिमा ५० जनाको मृत्यु भएको र सयौँ जना विस्थापित भएका थिए। यस वर्ष पनि मृत्यु र विस्थापितको क्रम जारी छन्। मन्त्रीहरू भने मिसन ०८४ मा व्यस्त छन्। यो निकै दुःखद् हो। मधेस प्रदेशका केही भूभागहरू डुबानमा परेको छ। मृत्युवरणमा परिसकेको छ। उद्धार गर्न जरुरी देखिएको छ।’

आकस्मिक समयमा बोल्ने अन्य सांसदहरूले पनि आ–आफ्नो क्षेत्रमा विपद्का कारण जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुनःस्थापनाको माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .