राजनीति


सात हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी

सात हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी

नेपालखबर
असार २२, २०८३ सोमबार १५:५९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको बताएका छन्। 

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सात हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताएका हुन्। पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएकोले सगरमाथा संरक्षणलाई विशेष प्राथमिकतामा राखिने उनको भनाइ थियो। 

प्रस्तावित ऐनमा सात हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा आरोहण अनुमति नपाइने प्रावधान समावेश गरिने उनले बताए। यस्तो व्यवस्थाले सगरमाथामा हुने भीड घटाउनुका साथै अनुभवी आरोहीले मात्र अनुमति पाउने उनको भनाइ छ। 

‘सगरमाथामाथिको प्रेसर बढी भयो, सगरमाथा चढ्नेहरूको भीडलाई नियन्त्रण नगर्दा यसको अस्तित्व नै संकटमा आउने कुरामा म पनि सहमत छु, यसको लागी मन्त्रालयले पर्यटनसम्बन्धी ऐन बन्दै छ, नियमावली, कार्यविधिहरू बन्दैछन्,’ मन्त्री पौडेलले भने, ‘त्यसमा सात हजार माथिका हिमालहरू नचढीकन सगरमाथा चढ्न नपाउने प्रकारका प्रावधान अब हामीले बनाउँदै छौँ।’

सगरमाथामा अत्यधिक भीडले यसको दीर्घकालीन संरक्षण र अस्तित्वमा चुनौती उत्पन्न हुने चिन्ताप्रति आफू सहमत रहेको उनले सुनाए। ‘हिमालको रोयल्टी बढाउनेतर्फ गैरकर राजस्व हिसाबले खासमा यो अर्थ मन्त्रालयले हेर्ने विषय हो। तथापि अर्थ मन्त्रालयसंग समन्वय गरेर आगामी दिनमा सगरमाथामाथिको प्रेसरलाई हटाउन हामी प्रतिवद्ध छौँ,’ उनले भने। 

उनले पर्यटनको विविधतालाई खालमा राखेर सबै प्रकारका पर्यटन प्रवर्द्धनलाई मन्त्रालयले ध्यान दिने बताए। एकै प्रकारको पर्यटन प्रवर्द्धन दिगो नहुने उनको भनाइ थियो। 

मन्त्री पौडेलले ट्वीनटर विमान संरक्षण र विस्तारको नेपाल वायुसेवा निगमलाई आवश्यक निर्देशन दिने बताए। पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि आवश्यक हवाई रुटको लागि कूटनीतिक पहल गरिरहेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad