पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गरेर सहयोग गर्नुपर्ने बताएका छन्।
सोमबार राजधानी काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान र प्रविधिमा आधारित ज्ञान तथा सीपलाई मुलुकको स्रोत–साधनसँग जोडेर उपयोग गर्न सक्नुपर्नेमा उनको जोड छ।
उनले हाल केहीले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगको निकटताबारे प्रश्न गर्ने गरेको उल्लेख गर्दै पाँच दशकदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई साकार पार्नको लागि सहयोग गरिरहेको जिकिर गरे। देशमा विकास र समृद्धि हासिल गर्न सबैले दलगत स्वार्थभन्दा माथि उठेर नयाँ पुस्तालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘केहीले यसले रास्वपासँग के खोज्न लाग्यो भन्ने गर्नुभएको छ। मैले हिजो ५० वर्षदेखि जे भन्दै आएको छु, त्यही खोज्न लागेको हो। विकास र समृद्धि अब ल्याउनुपर्छ। हाम्रो पुस्तालाई उहाँहरुलाई सहयोग गर्नुपर्छ। हामीसँग भएको ज्ञान र सिप हस्तान्तरण गर्नुपर्छ। र उहाँहरुसँग भएको प्रविधिमा आधारित जुन ज्ञान र सिप छ, त्यसको आधारमा मुलुकमा उपलब्ध स्रोत र साधनको ठिक ढंगले प्रयोग गरेर देशलाई समृद्ध बनाएर लग्नुपर्छ।’
उनले विज्ञान र प्रविधिको अहिलेको युगमा राजनीति अधिकार र अधिकारको लडाइँको निम्ति बनाएका राजनीतिक संगठन काम नलाग्ने दाबी समेत गरे।
Shares

प्रतिक्रिया