ad ad

राजनीति


गृहमन्त्रीको नाम उल्लेख गरेरै छानबिन समिति बन्ने कुराबाट पछि हट्दैनौँ : कांग्रेस

गृहमन्त्रीको नाम उल्लेख गरेरै छानबिन समिति बन्ने कुराबाट पछि हट्दैनौँ : कांग्रेस

नेपालखबर
जेठ १३, २०८१ आइतबार १७:५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ।

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद जीवन परियारले कार्यदल बैठक कांग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ भएको बताए।

उनले आफूहरू गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताए। उनले सत्तापक्ष विभिन्न शब्दहरुमा खेलिरहेको आरोप पनि लगाए।

उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग सम्वद्ध पदाधिकारीहरूलाई छानबिनको दायरामा नल्याएसम्म कांग्रेस मान्नेवाला नरहेको स्पष्ट पारे। उनले कार्यादेशमा सहमति भएर संसदीय छानबिन समिति बनेन भने बजेट प्रस्तुत हुँदापनि आफूहरुको आन्दोलन जारी रहने बताए।

उनले भने, ‘रवि लामिछाने हिजो कार्यरत रहेको गोर्खा मिडिया नेटवर्कमा जुन खालको अपचलन भयो भनेर विपक्षी दलले उठाएको छ। उठाएको अडानमा त्यहीँ छौँ। जबसम्म गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको, त्यहाँ भएका पदाधिकारीहरु, त्यहाँ भएका व्यक्तिहरु जो–जो छानविनको दायरामा ल्याउनुपर्छ, त्यो छानबिनको दायरामा नल्याएसम्म नेपाली कांग्रेसले मान्नेवाला छैन।’

सांसद जावेदा खातुन जागाले सहकारीबाट अपचलन भएको जनताको लाखौँ रुपैयाँ रकम फिर्ता नभएसम्म आफूहरु पछि नहट्ने बताइन्। उनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति नबनेसम्म आन्दोलन जारी रहने बताइन्। उनले सडक आन्दोलन समेत सुरु भएको जानकारी दिइन्।

कांग्रेसकै अर्का सांसद रमा कोईराला पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वर्णिम वाग्लेलाई सहकारी ठगको मतियार भएको आरोप लगाइन्। वाग्लेले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा बिपी कोईरालाको नाम लिएको भन्दै सहकारी ठगको मतियारले बिपीको नाम लिनु गलत भएको बताइन्। उनले सहकारी ठगलाई बिपी कोईरालाको नाम लिने अधिकार नभएको बताइन्।

उनले गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नेगरी संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसको आन्दोलन जारी रहने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .