राजनीति


अशोक राईको दलले फ्लोर क्रस गर्न लागेको भन्दै उपेन्द्र यादव सर्वोच्चमा

अशोक राईको दलले फ्लोर क्रस गर्न लागेको भन्दै उपेन्द्र यादव सर्वोच्चमा

नेपालखबर
जेठ ६, २०८१ आइतबार १७:१२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिन लागेको विश्वासको मत लिने प्रक्रियामा अशोक राई नेतृत्वको समूहलाई सहभागी हुनबाट रोक्न माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन्।

आफ्नो दल विभाजनसम्बन्धी विवादमा सर्वोच्चले यसअघि नै सबै प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिइसकेकाले अशोक राई नेतृत्वको समूहका सांसदले संसदमा हुने मतदानमा सहभागी हुन नपाउने तर्क यादवले गरेका छन्।

आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले विश्वासको मत नदिने नीति रहेको र राई नेतृत्वको समूहले फ्लोर क्रस गरी विश्वासको मत दिन लागेको जनाउँदै उनले त्यसमा हस्तक्षेप गर्न सर्वोच्चसमक्ष माग गरेका छन्। 

रिट सर्वोच्च प्रशासनले दर्ता गरिसकेको अध्यक्ष यादवले नेपालखबरलाई जानकारी दिए। रिटको पेसी भोलि सोमबार नै तोकिएको छ।

यसअघि यादव अशोक राई नेतृत्वको समूहलाई निर्वाचन आयोगले दिएको मान्यताले वैधानिकता नपाउने भन्दै सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए।

प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले यथास्थितिमा राख्न आदेश जारी गरेको थियो। अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयमा जेठ ८ अर्थात् पर्सि मंगलबारका लागि पेसी तोकिएको छ।

जसपा नेपालबाट विद्रोह गरी राईको नेतृत्वमा ७ सांसद सम्मिलित समूहले जसपा नामको दल दर्ता गरिसकेको छ। उक्त समूह सरकारमा सामेल छ भने यादवले सरकार छाडेर समर्थन फिर्ता लिइसकेका छन्। उनले समर्थन फिर्ता लिएकै कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad