राजनीति


राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

नेपालखबर
फागुन ७, २०७६ बुधबार २:२२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्।

नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

नेकपाद्वारा मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै प्रचण्डले भने, ‘कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी एमसीसी पास हुन्छ।’

 पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो बनेको बताए। ‘नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको छ, उनले भने, ‘दुई पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ।’

उनले नेपालका कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको दाबी गरे। कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको उनको भनाई थियो।

लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको प्रचण्डले बताए। ‘अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने छ,’ उनले भने।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव नेपालले कम्युनिष्ट पार्टीले कमिटी प्रणालीमा विश्वास गर्ने बताए। नेता नेपालले नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको भन्दै कार्यकर्ताको मूल्याङ्कन उसको आचरण र कामका आधारमा हुने बताए।

नेकपा महासचिव विष्णु पौडलले कम्युनिष्टले हनुमानले जडीबुटी ल्याऊभन्दा दोर्णाचल पर्वत उचालेर ल्याएजस्तो काम नेकपाले गरेको तर्क गरे।

कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीसहित प्रदेशका १० वटै जिल्लाका नेकपाका अध्यक्षले जिल्लास्तरमा हालसम्म भए÷गरेका पार्टीका काम, गतिविधि र अन्य प्रगतिको विवरण प्रस्तुत गरेका थिए।

भेलामा कर्णाली प्रदेश समितिका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, अध्यक्ष, सचिवसहित पार्टी अगुवाको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad