ad ad

राजनीति


शंकरदास नेतृत्वको समितिको सुझाव : प्रहरीको छुट्टै हवाई सुरक्षा सेवा गठन गरौँ

शंकरदास नेतृत्वको समितिको सुझाव : प्रहरीको छुट्टै हवाई सुरक्षा सेवा गठन गरौँ

नेपालखबर
चैत २०, २०८० मंगलबार २१:२०, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गठित समितिले प्रहरीको छुट्टै हवाइ सुरक्षा सेवा गठन गर्न सुझाव दिएको छ।

म‌ंगलबार समितिको प्रतिवेदन कार्यान्वयनबारे भएको छलफलमा समितिले सो सुझाव दिएको जनाएको हो।

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरोकारवालाबीचको छलफल भएको थियो।

छलफलमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, अध्यागमन विभाग, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, भन्सार कार्यालय त्रिभुवन विमानस्थललगायत निकायका प्रमुखहरू सहभागी थिए।
 
प्रतिवेदनमा नेपाल प्रहरीको छुट्टै हवाइ सुरक्षा सेवा गठन गर्न, विमानस्थलबाट निजी क्षेत्रका सुरक्षा गार्ड हटाउन, दुई वर्षभन्दा बढी कार्यरत कर्मचारीलाई सरुवा गर्न, आधुनिक उपकरण र डिटेक्टरको व्यवस्था गर्न सुझाव दिइएको संयोजक बैरागीले जानकारी दिए। 

यस्तै, कुटनीतिक कार्गो जाँच गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन, विमानस्थलको एकीकृत इन्टलिजेन्स् बनाउन, अध्यागमन ऐन र नियमावली समय सापेक्ष संशोधन गरी विमानस्थलको प्राविधि सुधारलगायत पक्षमा प्रतिवेदनले सुझाव दिएको छ।

छलफलमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तत्काल प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए।

त्यसक्रममा उनले विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्न, एक अर्कालाई दोषारोपण नगर्न आग्रह पनि गरे।

उनले त्रिभुवन विमानस्थलको भीआइपी कक्ष प्रयोग नगर्न गृह मन्त्रालयका अधिकारीलाई आग्रह गरे। नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति न्यूनीकरण गर्नुपर्ने उनको भनाई थियो।

छलफलमा त्रिभुवन विमानस्थलमा कार्यरत प्रायः सबै निकायका प्रतिनिधिले भीआइपीको स्पष्ट मापदण्ड बनाउन र उनीहरुको आगमन र प्रस्थान व्यवस्थित गर्न आत्यावश्यक रहेको औंल्याएका थिए। भीआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौतीसमेत बढेको उनीहरुको भनाइ थियो।

यस्तै सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्न जोड दिइएको गृह मन्त्रालयले जनाएको छ।

विमानस्थलबाट बाहिरिएको करिब ६१ केजी सुन बरामद भएपछि गत भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदाश वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .