बागमती


सांसदले काठमाडौं हिँडेको नाटक गर्दा १२ मन्त्रालय रहेको बागमतीमा पुगे १३ मन्त्री

सांसदले काठमाडौं हिँडेको नाटक गर्दा १२ मन्त्रालय रहेको बागमतीमा पुगे १३ मन्त्री

सुनिता विष्ट
चैत २०, २०८० मंगलबार २२:१, काठमाडौँ

बागमती प्रदेश सरकारमा मंगलबारमात्रै ५ जना मन्त्रीले शपथ लिए। एमालेका ४ र एकीकृत समाजवादीका एक गरी पाँचजना मन्त्री थपिँदा १२ मन्त्रालय रहेको बागमतीमा मन्त्रीको संख्या भने १३ पुग्यो।

साना दलको माग स्वीकार नगरे सरकारको संकट टार्न नसकिने देखिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री पदलाई सत्ता टिकाउने कार्ड बनाउँदा मन्त्रालय भन्दा मन्त्री धेरै हुन पुगे।

आज (मंगलबार) बिहान ९ बजे नेकपा एसकी सांसद रमा आलेमगरले बिनाविभागीय मन्त्रीको शपथ खाइन्। दिउँसो मुख्यमन्त्री जम्मकट्टेलले एमालेका चार मन्त्री नियुक्त गरे। आजै साँझ प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरूको शपथ कार्यक्रम आयोजना भयो।

एमालेबाट नवनियुक्त चार मन्त्रीहरू प्रकाश श्रेष्ठ उद्योग वाणिज्य, भूमि तथ प्रशासन, केशव प्रसाद पोखरेल वन तथा वातारण, एकालाल श्रेष्ठ खानेपानी उर्जा तथा सिँचाइ र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रीको शपथ लिए।

नयाँ मन्त्री थपिएसँगै प्रदेशमा मन्त्रीको संख्या १३ पुगेको हो।

यसअघि मन्त्रालयको संख्या धेरै भयो, राज्यलाई भार थपियो भन्ने एमाले हाल प्रदेश सरकारमा सहभागी छ। अघिल्लो पटक सरकारमा आएलगत्तै कार्यदल नै गठन गरेर तीनवटा मन्त्रालय घटाएको एमालेको यो पटक मन्त्रालय घटाउने मनस्थिती देखिँदैन।

हचुवामै मन्त्री नियुक्त
बागमतीमा हचुवाकै भरमा मन्त्री नियुक्त गरिएको भनेर आलोचना समेत भैरहेको छ। सत्ता टिकाउनका लागि जसले जतिवटा मन्त्रालय मागेपनि सहजै स्वीकार गर्दै मन्त्री नियुक्त गरेको विपक्षी दलका नेताहरू बताउँछन्।

सोमबार बागमती प्रदेश सभाको घटनाले नेकपा एकीकृत समाजवादीले एक मन्त्री थप गर्ने मौका पायो। नेकपा एसकी सांसद रमा आलेमगर मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आह्वान गरेको बैठकमा तीन घण्टा हराइन्। कहिले काठमाडौंबाट हिँडे, त कहिले भीमफेदी आइपुगेँ भन्दै तीन घण्टा अल्मल्याइन्।

यसले एक समर्थक नपुग्ने डरले मुख्यमन्त्रीको होस उडायो। जब मुख्यमन्त्रीले उनलाई मन्त्रीमा नियुक्तीको पत्र तयार गरे, तबमात्रै आलेमगर प्रदेश सभा भवन प्रवेश गरिन्। यसरी सत्ता जोगाउन जानाजान मन्त्रालय भन्दा बढी मन्त्री दिन तयार हुनुपर्ने अवस्था आइलाग्यो।

नेकपा एसले ३ मन्त्री राख्छ?
यता, बागमती प्रदेश सभामा नेकपा एसको ७ सिट छ। थोरै सिट रहे पनि निर्णयक रहेको नेकपा एसले तीनवटै मन्त्रालय माग नगरेको दाबी गर्छ।

मन्त्रालय हेरफेर गरेर नेकपा एसका बागमतीमा पहिलेदेखि नै रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्सालमध्ये एकलाई फिर्ता बोलाउने र फिर्ता आएका ठाउँमा नवनियुक्त मन्त्री आलेमगरलाई पदभार गराउने योजना बनाएको नेकपा एसका एक सांसदले बताए।

‘दाबी गर्न त हामीले नपाउने भन्ने हुँदैन’ उनले भने, ‘तर पनि हामी दलहरूको अंकगणित पनि हेर्छौं। केही दिनमा हाम्रै दलका एकजना मन्त्री फिर्ता हुनुहुन्छ। त्यसमा शंका छैन।’

अरु दलले विचार गरुन् : एमाले
पाँच मन्त्रालय लिएको नेकपा एमाले मन्त्री घटाउने विषयमा सकारात्मक देखिँदैन। ठूलो दल भएकै कारण कांग्रेसले छोडेको ५ मन्त्रालय आफूहरूले लिएको र त्यसमा अरुलाई दिन मन्त्री फर्काउने कुरा मान्य नरहेको अर्थमन्त्री तथा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया बताउँछन्।

‘प्रदेशमा रहेका गठबन्धनको ठूलो दल एमालेले ५ वटा मन्त्रालय लिनुमा कुनै नौलो विषय होइन’ थपलियाले नेपालखबरसँग भने।

उनले नेकपा एकीकृत समाजवादी तर्फ इंकित गर्दै भने, ‘७ सिट रहेको दलले यो भन्दा पहिले पनि दुई मन्त्रालय पाएको हो। अब पनि पाउने त्यति नै। त्यसैले कसलाई फिर्ता गर्ने? कसलाई मन्त्री बनाउने? उसको दलको कुरा हो। मन्त्रालय घट्न सक्छ, तर बढ्दैन।’

मन्त्री व्यवस्थापनको चुनौतीमा मुख्यमन्त्री
विश्वासको मत पाउनका लागि भटाभट मन्त्री नियुक्त गरेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई अब कसरी मिलाएर लाने भन्ने चुनौती थपिएको छ। माओवादीका हाल मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा योजना मन्त्री गंगानारायण श्रेष्ठ गरी ४ मन्त्री छन्।

यद्यपि, सिट संख्याको अंकगणितलाई हेर्ने हो गठबन्धनमा रहेका दलमध्ये २१ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीको मन्त्री घटाउने सम्भावना न्यून छ।

मुख्यमन्त्रीलाई प्रश्न : मन्त्रालय भन्दा मन्त्री किन धेरै?
मन्त्रालय भन्दा मन्त्री किन धेरै नियुक्त गरियो? साना दलको घेराबन्दीमा पर्नुभएको हो? नेपालखबरको यो प्रश्नमा उनले घेराबन्दीमा नपरेको तर प्रदेशको स्थितीले मन्त्री नियुक्त गरिएको जवाफ दिए।

‘अहिलेको राजनीतिक परिस्थिती अनुसार सबैलाई मिलाएर अथवा सबैको सम्मानजक व्यवस्थापन गरेर लैजानुपर्ने अवस्था छ’ उनले भने, ‘यो अवस्थामा हामीले एउटा कार्यदल बनाएका छौं। अहिलेको सपथ ग्रहण र नियुक्ती भनेको प्रारम्भिक नियुक्ती हो।’

उनले थपे, ‘हामी बसेर छलफल गरेका छौं। यो विषयमा आज पनि सरकारमा सहभागी दलहरूबीच घनिभूत ढंगले छलफल भयो। हामी सबैको व्यवस्थापन गर्छौं।’

सत्ता टिकाउनकै लागि दुई सिट रहेको हानेपालाई एउटा मन्त्रालय र ७ सिट रहेको नेकपा एसलाई तीनवटा मन्त्रालय दिएको आरोप लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .