महिला न्यायाधीशको कथा–१
एक तेइस वर्षे तन्नेरीलाई उनको इजलासमा उभ्याइयो। काठमाडौँ जैसीदेवलका ती युवामाथि आफ्नै बाजेको हत्या गरेको अभियोग थियो।
युवाका एक दाजु थिए। दाजुभाइलाई बाजेले हुर्काएका थिए। तर, उनको दाजुलाई क्यासिनोमा जुवा खेल्ने लत लाग्यो। जुवा खेलेर सम्पत्ति उडाउन थालेपछि बाजेले उनीहरूलाई अंशबण्डा गरिदिए। उनले आफ्नो अंश सिध्याइसकेका थिए। त्यसको केहीपछि नै ती युवाका दाजुलाई टीबी लाग्यो। दाजुको उपचारका लागि उनी बाजेका अगाडि हात फैल्याउन पुगे। तर, बाजे टक्टकिए। पैसा दिन मानेनन्।
जासुसी उपन्यासबाट प्रभावित ती तन्नेरीले बाजेको सम्पत्ति चोर्ने जुक्ति लगाए। उनी राति दराजको चाबी चोर्न बाजे सुतेको कोठाबाट पसेका थिए। बाजे ब्युँझिए। नाति पक्राउ परे। एकातिर चोरीमा असफलता, अर्कोतिर आफ्नै बाजेको सम्पत्ति चोर्न खोजेको लज्जा, उनले बाजेबज्यैलाई छुरा हाने। उपचारपछि बज्यै बाँचिन्, बाजे बाँचेनन्।
मुद्दा सोझो थियो। त्यसैले उनले ती तन्नेरीलाई दोषी ठहर गरी जन्मकैद सुनाइन्।
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठले सो फैसला गरेको दशकौँ बित्यो। त्यतिबेला उनी काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश थिइन्। उनी सर्वोच्च अदालतसम्म पुगिन्। अहिले त उनी अवकाश जीवन बिताइरहेकी छन्। ८३ वर्षको उमेरमा उनको स्मृति धमिलो हुन थालेको छ। कति मान्छे, कति घटना विस्मृतिको गर्भमा पसिसकेका छन्। तर, ती २३ वर्षे तन्नेरीको अनुहार उनले बिर्सेकी छैनन्। सो फैसलाले आज पनि उनको मन नमज्जासँग पिरोलिरहन्छ।
‘त्यो समय अहिलेको जस्तै काण्डैकाण्ड हुने समय थिएन। परिवार भनेको धेरै ठूलो कुरा थियो। यस्ता खालका घटना निकै कम हुन्थे,’ आफ्नो दीर्घ जीवन र लामो करिअरको सिंहावलोकन गर्न बसेकी शारदा श्रेष्ठले सुनाइन्, ‘एउटा २३ वर्षे युवकलाई जन्मकैद सुनाउनुपर्दा भावनात्मक रुपमा म निकै विक्षिप्त भएको थिएँ।’
शारदाले सुनेकी छिन्, जेलमा राम्रो अचारण गरेर पछि उनी रिहा भए। अहिले भारतमा बसेर गुजारा गरिरहेका छन्।
शारदाको जीवनका हरेक पानामा भिन्न कथा लेखिएका छन्। उनले अनेक खिताब पाएकी छन्। नेपालको पहिलो महिला न्यायाधीश त उनी हुँदै हुन्, सर्वोच्च अदालतकी दोस्रो महिला न्यायाधीश पनि हुन्। आफ्नै घरमा बसेर हामीसँग जीवनका प्रत्येक पाना पल्टाउँदै जाँदा उनी कहिले खेलौना हात पारेकी बालिकाझैँ फुरुङ्ग हुन्छिन्, कहिले विरक्तिन्छिन्।
‘बुवाको मुद्दा जित्न’ कानुन अध्ययन
त्यो जमाना महिलाहरूका लागि बिल्कुल श्यामश्वेत थियो। छोरीहरूको सपनाको सीमा कति हो? समाज जवाफमा भन्थ्यो, ‘राम्रो घर, श्रीमान् र परिवार।’ त्यहाँभन्दा पर हेर्ने अनुमति छोरीहरूलाई थिएन। तर, शारदाले त्यो सीमा नाघिन्, डाक्टर बन्ने चाहना राखिन्।
भाग्यवश, उनका बुवा कृष्णनरसिंह छोरीको शिक्षामा लगानी गर्न तयार भए। श्री ३ जुद्धशमशेरको शासनकालमा ऐन सवालसमेत हेर्ने खरदार पदमा थिए।
तर, २००७ सालको परिवर्तनपछि उनको दुःखका दिन सुरु भएका थिए। पैसाको कमी थिएन। तर, व्यवस्था बदलिएको थियो। राणाहरूका लागि काम गरेका उनी नयाँ शासकहरूको निसानामा पर्ने नै भए।
‘राणाहरूसँगको घनिष्ठताका कारण हातहतियार लुकाएर राखेका छौ कि भनेर हाम्रो घरमा खानतलासी हुन्थ्यो। यस्ता गतिविधिले मनमा भयले जरा गाडेको हुन्थ्यो,’ शारदा सुनाउँछिन्।
नयाँ प्रजातान्त्रिक व्यवस्थालाई असफल तुल्याउन ‘खुकुरी दल’ ले काठमाडौँमा आतंक मच्चाउन थाल्यो। त्यसबाट सुरक्षाका लागि २००८ मा टोलटोलमा ‘रक्षा मण्डल’ गठन गरियो।
‘बुवाको मातहतमा एक मण्डली हाम्रो घरमा पनि थियो। त्यस मण्डलीमा खटिएका मानिसहरू रातभरि सुरक्षाका लागि तैनाथ रहन्थे। सबैतिर खतरा सकिएको आभास भएपछि मात्र उनीहरू आफ्नो बाटो लाग्थे,’ शारदा सम्झना गर्छिन्।
२०१८ सालमा शारदा बीएस्सीको परीक्षा दिएर बसेकी थिइन्। उनका बुवा सामेल रहेको ‘रक्षा मण्डल’लाई ‘अराष्ट्रिय तत्व’ घोषित गरियो। किनभने अघिल्लो वर्ष नै राजा महेन्द्रले व्यवस्था उल्ट्याएर दलहरूमाथि प्रतिबन्ध लगाइसकेका थिए। उनका बुवालाई पनि जेल सजाय सुनाइयो। कसुर र सजाय पनि स्पष्ट थिएन।
‘रोगले थलिनुभएको बुवा। जेलमा हुने यातना। अहिले म कल्पना पनि गर्न सक्दिनँ, त्यो बेलाको बुवाको जेल जीवन र हाम्रो अवस्था। त्यति मात्रै कहाँ हो र! केही समयपछि हाम्रो घरमा लेख्न र पढ्न जान्ने जति सबैलाई अनुसन्धानको घेरामा राखियो,’ शारदाले सुनाइन्।
शारदाले दिदीको साथ लागेर बुवालाई छुटाउने थुप्रै प्रयत्न गरिन्। सकिनन्। बुवालाई राम्रो मान्नेका ढोकामा पनि पुगिन्। नराम्रो मान्नेहरूसँग पनि हात जोडिन्। उनको केही लागेन।
मुद्दाको फैसला समेत उनको हातमा परेन। छोरीलाई फैसला नदिने भनेर रित्तो हात फर्किन विवश पारियो।
‘भारी बोक्दा दुखेको घाउ कहिलेकाहीँ भरियाले देउरालीलाई पनि सुनाउँदैन। अरुलाई नसुनाउनु भनेको आफू नदुख्नु होइन। दुःख नबाँड्नु मात्रै हो। मेरो नियति त्यस्तै थियो,’ उनले सुनाइन्, ‘म भित्रभित्रै दुखेको थिएँ। बुवाको त्यो निराश अनुहारले मलाई डाक्टरको सपना त्यागेर कानुनमा लाग्न बाध्य गरायो र लागेँ पनि।’
शारदाले साइन्स पढ्न छोडिन्। डाक्टर बन्ने सपना त्यागिन् र कानुन पढ्न थालिन्। कानुन पढ्दै जाँदा शारदाले थाहा पाइन्, ‘नेपालमा कानुनको धेरै दुरुपयोग भएको रहेछ।’
शारदा बीएल भर्ना हुँदा महिलाको संख्या ६ जना थियो। परीक्षामा भने ३ जना माात्रै सामेल भए। ३ जनामध्ये फस्र्ट पार्टमा उत्तीर्ण हुने शारदा मात्रै भइन्। शारदालाई पढेर धेरै अंक ल्याउनु थिएन। अब्बल हुनु थियो। उनको कानुन पढ्नुको एउटै उदेश्य थियो, ‘बुवाको मुद्दा जित्नु।’
उनकी बहिनीले एमएमा उत्कृष्ट नतिजा ल्याइन्। पुरस्कारका रुपमा ‘महेन्द्र विद्याभुषण’ पदक तत्कालीन राजा महेन्द्रको हातबाट दिने घोषणा गरियो। तर उनकी बहिनीले शिक्षामा बुवाको ठूलो योगदान रहेको र बुवाको अनुपस्थितिमा उक्त पदक लिन नसक्ने बताइन्। त्यसपछि राजा महेन्द्रले उनका बुवालाई जेल मुक्त गरिदिए।
दरबार स्कुलमा पढ्दा पढ्दै ...
शारदाले बुवा जेलमा रहेका बेला थुप्रै खालका असुरक्षाको महसुस गर्नु पर्यो। ललितपुरबाट काठमाडौँको दरबार स्कुलमा रात्रीकालीन कक्षामा पुग्नु पर्थ्यो। शारदालाई बाटो सुरक्षित लाग्दैनथ्यो। तर, उनलाई भरथेग गर्ने, ढाडस दिने कोही थिएन। अनि शारदाले चिनजान रहेका काठमाडौँका शंकरमान श्रेष्ठसँग विवाह गरिन्।
शारदा महर्जनकी छोरी। शंकरमान श्रेष्ठ। उनीहरूको विवाह समाजमा स्वीकार्य भएन। त्यसपछि उनीहरू काठमाडौँमा डेरा गरेर बसे। त्यसको केही समयपछि शारदाकी सासूको अग्रसरतामा उनीहरूको विधिवत् विवाह भयो। शंकरमान पाटन हाइस्कुल पढ्दा नै राजनीतिमा सरिक थिए। २००७ सालअघि पाटन हाइस्कुलमा पढ्न पनि राणाहरूबाट अनुमति लिनु पर्थ्यो। नेपालको तत्कालीन अवस्थाबाट देशलाई बाहिर निकाल्नुपर्छ भनेर राजनीतिमा लागेको शंकरमान शारदालाई सुनाउँथे। तुलसीराम अमात्यबाट प्रभावित भएर राजनीतिमा लागेका शंकरमान पछि लाल कम्युनिस्ट पार्टीमा संलग्न भए।
हिजोआज शारदा श्रीमानसँगको वियोगका दिन बिताइरहेकी छन्। १० वर्ष हुन लाग्यो, शंकरमान बितेको। शारदा आज पनि श्रीमानलाई कृतज्ञतापूर्वक सम्झना गर्छिन्। उनका श्रीमान् उनको जीवन, सपना र सफलताका लागि सधैँ सहयोगी बनिदिए।
‘श्रीमानको साथ नभएको भए मैले जे हासिल गरेँ, त्यो गर्न सक्दिनथेँ,’ उनी भन्छिन्, ‘जीवनको उत्तराद्र्धका केही सपना थिए। हामीले योजना बनाएर बस्यौँ। हामीले माने पनि नमाने पनि कालले मान्दो रहेनछ। कालको नियमले हाम्रो योजनालाई बुझ्दो रहेनछ। श्रीमानको मृत्युपछि आफ्नै जीवनका थुप्रै योजना अधुरा छन्। पर सरेका छन्।’
अनि बनिन् पहिलो महिला न्यायाधीश
शारदाले २०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरिन्। त्यो वर्ष पास हुने उनी एक्लो महिला थिइन्। शारदालाई पढेर मात्रै किन सन्तोष हुन्थ्यो, उनलाई आफ्नो योग्यता अनुसारको काम गर्न मन थियो। कानुन पढेर वकालत गर्नका लागि लाइसेन्स निकाल्नु पर्थ्यो। त्यसका लागि शारदाले ३० वटा मुद्दाको बहस नोट तयार गर्नु पर्थ्यो। बहस नोट तयार पार्ने क्रममा शारदाको भेट कृष्णप्रसाद भण्डारीसँग भयो। भण्डारी ‘नेपाल ल फर्म’ सञ्चालन गर्थे। त्यही ‘ल फर्म’मा शारदाले अन्य वकिल कृष्णप्रसाद पन्त, लवदेव भट्ट र कुसुम श्रेष्ठलाई भेटिन्। कानुन व्यवसायी बन्न उनीहरूले आफूलाई सघाएको उनको भनाइ छ।
भन्छिन्, ‘उहाँहरूले मलाई कानुन व्यवसायमा स्थापित हुन धेरै सहयोग गर्नु भयो। सर्वोच्च अदालतमा कसरी जाने पनि मैले उहाँहरूबाट नै सिकेकी थिएँ।’ शारदाले त्यहीँ बहस नोट पूरा गरिन् र लाइसेन्स निकालिन्।
एकदिन शारदा काम सकेर नेपाल ल फर्मबाट फर्किंदै थिइन्। उनको भेट तत्कालीन कानुन सचिव रामानन्दप्रसाद सिंहसँग भयो। सिंहले भूमिसुधार विशेष अदालतले न्यायाधीशका लागि विज्ञापन खुलेको सुनाउँदै आवदेन गर्न सुझाए। त्यसको भोलिपल्ट शारदाले आवेदन दिइन्। उनको नाम निस्कियो। त्यसपछि शारदा भूमिसुधार अदालत कास्की र लमजुङका लागि नियुक्ति लिएर नेपालको पहिलो महिला न्यायाधीशको इतिहास लेख्न सफल भइन्।
‘त्यही समयबाट महिला पनि अदालतको न्यायाधीश बन्ने प्रचलन सुरु भएको हो। यसले मजस्ता कानुन पढेका महिलाका लागि माथि जान सक्ने थप सम्भावनाको ढोका खोलिदियो,’ उनी भन्छिन्।
पढेर मात्रै गएकी शारदालाई सुरुवाती दिनमा काम गर्ने तरिका थाहा थिएन। उनले भूमिसुधार विभागका निर्देशक डा. मोहनमान सैँजुलाई भेटेर काम सिकाइदिन आग्रह गरिन्। मोहनमानले शारदाको आग्रह नकार्न सकेनन्। उनले ३ महिना हप्ताको ३ दिन भूमिसुधार विशेष अदालत ललितपुर र हप्ताको ३ दिन भूमिसुधार विशेष अदालत भक्तपुरमा सिक्ने अवसर दिए।
शारदा सम्झन्छिन्, ‘यी दुवै अदालतमा जनकमान श्रेष्ठ न्यायाधीश हुनुहुन्थ्यो। उहाँले हामीलाई काम सिकाउनु भयो।’
त्यो समय आफूले थुप्रै ज्ञान लिएको शारदाको भनाइ छ। भन्छिन्, ‘यो ३ महिनापछि म फैसला राम्रोसँग लेख्नसक्ने भएँ। न्यायाधीशले गर्नुपर्ने अन्य सबै काम सकेर निस्किएँ।’
महिला न्यायाधीश हुनुका अप्ठ्यारा
त्यसपछि शारदाले निरन्तर ४ दशक न्यायाधीशका रुपमा काम गरिन्। जहाँ पुग्दा पनि उदाहरण हुन्थिन्। तर, कयौँ पटक उनले महिला भएका कारण सन्देहको सामना गर्नुपर्यो, त्यो पनि देशको राजधानीमा।
‘काठमाडौँबाहिर महिला भएकै कारण क्षमतामा अविश्वास गरिएको, प्रश्न गरेको नमिठो अनुभव त्यति धेरै छैन। काठमाडौँ जिल्ला अदालत आएपछि भने मैले त्यस्ता थुप्रै अविश्वासको सामना गर्नु पर्यो,’ उनले भनिन्।
महिला भएकै कारण थुप्रै पटक अपमानित हुनुपरेको नमिठोपना आज पनि उसैगरी बिझाउँछ शारदाको छातीमा।
‘एउटी महिलाले पुरुषबाट व्यवहारमा निकै अपहेलना सहनुपर्ने रहेछ। मैले पनि अनेक कारण अपमानित हुनुपर्यो, उनीहरूको अपमानलाई मलाई हृदयमा एकखालको चोट दिएकै हुन्थ्यो,’ शारदा सम्झना गर्छिन्।
शारदा न्यायाधीश हुँदा उनका श्रीमान् नेपाल बैंकमा काम गर्थे। उनका दुई छोरा थिए। कामको सिलसिलामा श्रीमान–श्रीमती अलग अलग ठाउँमा खटिन्थे। छोराहरू काठमाडौँमै होस्टलमा बसेर पढ्थे। शारदाको मन छोराहरू एक्लै परे भनेर आत्तिइरहन्थ्यो।
शारदा भन्छिन्, ‘काममा मात्रै कहाँ हो र, मनमा पनि उस्तै गाह्रो हुनेरहेछ महिलालाई काम गर्न।’
मुटु कमाउने त्यो मुद्दा
काठमाडौँ जिल्ला अदालतमै रहँदाको कुरा हो। त्यो समय एउटा पुरुषले दुई विवाह गर्नु सामान्य मानिन्थ्यो। कानुन पनि निर्माणकै चरणमा थियो। काठमाडौँ डिल्लीबजारका एक पुरुषले पनि दुई श्रीमती विवाह गरेका थिए। उनीहरूको राम्रो आम्दानी थिएन। एकदिन ती पुरुषले जेठीसँग सल्लाह गरेर कान्छी श्रीमतीलाई बम्बईको कोठीमा बेचेछन्।
श्रीमती बेचेर उनी काठमाडौँ डिल्लीबजारमा आलिसान महल बनाएर जेठी श्रीमतीसँग बसे। कान्छी श्रीमती पनि बेलाबेला काठमाडौँ आउँथिन्। श्रीमानसँग बस्थिन् र फर्किन्थिन्। तर, उनलाई कोठीको नारकीय जीवन मन परेन। उनी कोठी छोडेर नेपाल फर्किइन्।
काठमाडौँ आएपछि उनका सौता र श्रीमान् दुवै मिलेर उनलाई घर निकाला गरे। त्यसपछि कान्छी श्रीमती न्याय माग्न अदालत पुगेकी थिइन्। शारदा सम्झना गर्छिन्, ‘त्यो समय न्याय माग्न आउने छोरी मान्छेको संख्या असाध्यै कम हुन्थ्यो। महिलाले मागिहाले पनि न्याय पाउन मुस्किल थियो। बोल्नु नै ठूलो मानिन्थ्यो।’
इजलासमा उनका श्रीमानले उनलाई श्रीमती त स्वीकार गरे तर आफूले नबेचेको, उनी आफूखुसी वेश्यावृत्तिमा लागेको बयान दिए। बम्बईमा रहेको समयमा पनि काठमाडौँ आउने, त्यही घरमा बस्ने र फर्किने गरेको आधार हेरेर अदालतले उनले अंश पाउने फैसला सुनायो। शारदालाई भने यो फैसला अपूर्ण लागिरहन्छ।
‘आफ्नै श्रीमतीलाई कोठीमा लगेर राखी त्यहाँ कमाएको पैसाले आफूले ऐशआरामको जिन्दगी बाँच्ने हाम्रो समाजको दर्दनाक घटना हो यो,’ उनी भन्छिन्, ‘अहिले त यस्ता खालका घटना धेरै भइरहेका छन्। तर, त्यो समय मान्छे कसरी यति निर्दयी हुन सक्छ भन्ने लाग्थ्यो।’
सर्वोच्चमा दोस्रो हुँदाको खुसी र खिन्नता
जीवनको लामो समय जागिरको सिलसिलामा देशका विभिन्न ठाउँमा पुगेकी शारदालाई घरको न्यास्रो लागिरहन्थ्यो। उनी मौका मिल्नासाथ बिदा बस्थिन्। घर आउँथिन् र परिवारसँग रमाउँथिन्। २०६० सालको अन्त्यतिर पनि उनी घरबिदामै थिइन्। उनको घरको गेटमा हुलाकी पोसाकमा एक जना मानिस आए। उनको नामको चिठी हातमा थमाएर फर्किए। चिठीमा उनको सर्वोच्चमा पदोन्नति भएको खबर थियो। शारदाको खुसीको सीमा रहेन।
‘जीवनकै ठूलो सपना पूरा भएको रहेछ। हतारहतार श्रीमान भएको ठाउँमा गएँ र उहाँलाई भनेँ, ‘सुन्नु न मेरो त सर्वोच्च अदालतमा नियुक्ति भएछ।’
उनका श्रीमान नजिकै आए। श्रीमतीलाई धाप मारे र बधाई दिए। शारदा झसंग ब्युँझिइन्। त्यो त सपना पो रहेछ।
तर, त्यो सपना देखेको केही समयपछि नै उनको सर्वोच्च अदालतमा नियुक्ति भयो। २०६१ साल वैशाख ३ गते शारदाको हातमा सर्वोच्च अदालतमा नियुक्ति भएको पत्र परेको थियो।
शारदाले सानैबाट सुनेकी थिइन्, ‘सर्वोच्चको न्यायाधीश भनेको धेरै ठूलो कुरा हो।’ कानुन पढ्न थालेदेखिकै उनको सपना थियो सर्वोच्च। जुन पूरा हुन लामो समय लाग्यो। नेपालकै पहिलो महिला न्यायाधीश भए पनि सर्वोच्चमा नियुक्त हुने दोस्रो महिला न्यायाधीशका रुपमा शारदाको नाम लेखियो। दोस्रो हुनुपर्दा उनको मन केही भारी भएको थियो। उनीअघि नै सुशीला सिंह शिलु सर्वोच्चकी न्यायाधीश भइसकेकी थिइन्।
उनी भन्छिन्, ‘सबै कुरामा म अगाडि आएकी थिएँ। तर, सर्वोच्चमा पुग्दा दोस्रो बनाइयो। यो कुराले केही खिन्न बनाए पनि मसँग खुसी हुने ठाउँ थियो। त्यो हो– मेरो धेरै ठूलो सपना पूरा भएको थियो।’
सर्वोच्चमा नियुक्ति पाउँदा शारदा राजविराज पुनरावेदन अदालतमा कार्यरत थिइन्। त्यहाँबाट सरुवा भएर काठमाडौँ आइन्। एकातिर जिन्दगीको सबैभन्दा ठूलो सपना पूरा भएको थियो। अर्कोतिर काठमाडौँमा आफ्नो परिवारसँगै बस्न पाउने कुराले उनलाई थप खुसी दिएको थियो।
र, त्यो चर्चित फैसला
सर्वोच्च अदालतको न्यायाधीशका रुपमा शारदले केही चर्चित मुद्दाका फैसला गरिन्। त्यसमध्ये एक थियो, दलित आयोगमा महिला र पुरुषबीचको कार्यकालमा विभेद। दलित आयोगमा पुरुष सदस्यको कार्यकाल ४ वर्ष र महिलाको २ वर्ष रहने कानुनी व्यवस्था थियो। त्यसउपरको रिट निवेदनमा शारदाले आफ्नो संलग्नतामा फैसला सुनाइन्। र, पुरुष र महिलाको कार्यकाल बराबरी हुनुपर्ने आदेश गरिन्।
सर्वोच्चमा शारदाले गरेको अर्को चर्चित फैसला हो, अविवाहित महिलाले प्रसूति बिदा पाउने फैसला। तत्कालीन शाही नेपाल वायु सेवा निगममा विवाहित महिलाले प्रसूति बिदा पाउने व्यवस्था थियो। तर एकल आमाले बच्चा जन्माउन चाहेको खण्डमा बिदा पाउने व्यवस्था थिएन। यसका विरुद्धमा कानुन व्यवसायी मीरा ढुंगानाले रिट दायर गरेकी थिइन्। उनले अहिलेको विकसित समाजमा एकल आमा पनि हुन सक्ने भएकाले प्रसुति बिदा लिनका लागि विवाहित महिला नै हुनु पर्ने भन्ने वाक्यांश खारेज गर्न माग गरेकी थिइन्। शारदाको इजलासले उक्त शब्द असुहाउँदो देखिएको भनी विवाहित हटाएर संशोधन गरी महिला मात्र लेख्ने फैसला गरेको थियो।
शारदा सर्वोच्च रहँदाको सबैभन्दा चर्चित मुद्दा थियो, गोदावरी मार्बलको मुद्दा। सरकारले गोदावरी वनमै भएको मार्बल खानी उत्खनन् गर्न दिनेगरी सम्झौता गरेको थियो। उद्योगीहरूले मार्बल उत्खनन् गर्न विस्फोट गर्न थाले। त्यसले वरपरका मानिस र पशुपन्छीको जीवन प्रभावित भयो। यही असरको विषयलाई लिएर प्रो–पब्लिकले मुद्दा दायर गरेको थियो।
यो मुद्दा शारदा र न्यायाधीश ताहिर अली अन्सारीको इजलासमा पर्यो। शारदा आफैँ गोदावरी क्षेत्रमा गएर त्यसको अध्ययन गरिन्। मार्बल उत्खनन् कार्यले त्यहाँको वातावरणमा परेको नकारात्मक असर देखिन्। त्यसपछि उनले गोदावरी मार्बल बन्द गर्ने फैसला सुनाइन्। जसको निकै चर्चा भएको थियो।
शारदा भन्छिन्, ‘अहिले पनि म कतै जाँदा, मुद्दाको कुरा उठ्दा यही फैसलाको कुरा जोडेर धेरैले भन्नुहुन्छ, तपाईंले गरेको यो फैसला सधैँ स्मरण हुनेछ। मलाई यस्तै कुराले हर्षित बनाउँछ।’
२०६५ साल जेठ २० गते शारदाले सर्वोच्चबाट बिदा लिइन्। सेवानिवृत्त भएपछि पनि शारदा थुप्रै सामाजिक कार्यमा संलग्न भइन्। प्रोजेक्टहरूमा काम गरिन्। ८३ वर्षको उमेरमा पनि उनी सक्रिय जीवन बाँचिरहेकी छिन्। तर, ज्यान कमजोर हुन थालेको छ। स्मृति धमिलो, आँखा कमजोर हुन थालेका छन्।
आफ्नै जीवनलाई पछाडि फर्किएर हेर्दा शारदालाई लाग्छ, उनले जीवनभर इमानदार भएर काम गरिन्।
‘जुनसुकै मुद्दाको फैसला गर्नुपूर्व आफ्नो बुद्धिले भ्याएसम्म सोचेर निर्णय लिएँ। मलाई लाग्छ, मैले गरेका सबै निर्णयले पीडितहरूलाई न्याय भएको छ,’ उनी भन्छिन्।
उनलाई लााग्छ, न्यायाधीशको काम कानुनमा लेखिएको आधारमा जनतालाई फैसला सुनाउनु मात्रै होइन।
‘गलत कानुनलाई सच्याउने प्रयत्न पनि गर्नुपर्छ। मैले आफ्नो तर्फबाट विभेदपूर्ण र नराम्रा कानुनी व्यवस्थालाई परिवर्तन गर्नुपर्छ भनेर सुरुवातदेखि जागिरे जीवनको अन्तिमसम्म आवाज उठाइरहेँ,’ शारदा भन्छिन्, ‘धेरै कानुन परिमार्जन पनि भए। जसले अन्यायमा परेकाहरूले न्याय पाए। मलाई यहि कुराले सन्तोष दिन्छ।’
Shares
प्रतिक्रिया