ad ad

राजनीति


इलाम २ मा ११४ मतले हारेका खड्का नै कांग्रेसका उम्मेदवार

इलाम २ मा ११४ मतले हारेका खड्का नै कांग्रेसका उम्मेदवार

सागर न्यौपाने
चैत १४, २०८० बुधबार ७:१८, काठमाडौँ

नेपाली कांग्रेसले इलाम–२ को उपचुनावमा डम्बर खड्कालाई उठाउने भएको छ। चार दशकदेखि कांग्रेसमा निरन्तर सक्रिय उनलाई दोस्रो पटक पार्टीले उम्मेदवार बनाउन लागेको हो। 

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको चुनावमा नेकपा एमालेका सुवास नेम्वाङसँग जम्मा ११४ मतले पराजित भएका खड्कालाई उपचुनावमा पनि उम्मेदवार बनाउने कांग्रेसले तयारी गरेको छ। 

उम्मेदवारका लागि जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका भेषराज आचार्य र केशव थापालाई पछि पार्दै तेस्रो नम्बरमा परेका खड्काले टिकट पाउने निश्चित भएको कांग्रेस उच्च स्रोतले जनाएको छ। टिकटकै लागि खड्का अहिले काठमाडौँमै छन्।

यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले इलाम पुगेर सम्भावित उम्मेदवारबारे अध्ययन गरिसकेका छन्। सम्भावित उम्मेदवारबारे छलफल र विश्लेषण गरेका छन्। अब उनले यसको ब्रिफिङ पार्टी सभापति शेरबहादुर देउवालाई दिनेछन्। त्यसपछि बस्ने कांग्रेस संसदीय बोर्डको बैठकले उम्मेदवारबारे अन्तिम निर्णय गर्नेछ। 

गत भदौ २५ गते एमालेका नेम्वाङको निधन भएपछि सो क्षेत्र रिक्त भएको हो। आगामी वैशाख १५ गते उपचुनाव गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।  

एमालेले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उपचुनावमा उठाउँदैछ। उनीहरु दुवै ३५ वर्षमुनिका छन्। खड्का भने ५० पुगेका छन्।

तर, कांग्रेसले पुरानै अनुहारलाई निरन्तरता दिन लागेको छ।

‘पार्टी केन्द्रमा सिफारिस भएका नाममध्ये डम्बरजी नै युवा हुनुहुन्छ,’ देउवानिकट उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘अब उहाँलाई अघि सार्ने निर्णय हुने सम्भावना बढी छ।’

खड्काले टिकट पाउने निश्चित भएपछि अभियान थालिसकेको बताए। 

‘हामी चुनाव जित्नेगरी नै लागेका छौँ। विशेषगरी युवाको हकमा, रोजगारी, मठमन्दिर या खेलकुदका क्षेत्रमा होस्, सबै कुरामा हाम्रो पार्टी र म आफैँ लागिरहेका छौँ,’ उनले नेपालखबरसँग भने, ‘इलामका सम्पूर्ण जनतालाई मैले दुःखसुखमा साथ दिएको छ भन्ने थाहा छ। हामी सामाजिक कार्यमा पनि सक्रिय रहेको कारण यसपटक इलाममा जित्छौँ भन्नेमा विश्वस्त छौँ।’

७ जनाको नाम केन्द्रमा 
कांग्रेस कोसी प्रदेश कार्यसमितिले उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रीय कार्यसमितिमा पठाएको छ।

पहिलो नम्बरमा भेषराज आचार्यको नाम राखिएको छ। दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्का छन्। 

पहिलो नम्बरमा नाम सिफारिस गरिएका आचार्य २०७० को निर्वाचनमा सुवाससँगै पराजित भएका थिए। 

यस्तै, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस भएको छ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले केन्द्रमा प्राप्त भएका नाममा अध्ययन भइरहेको बताए। 

‘आकांक्षीहरुको नाम सिफारिस भएको छ, ती नाममा आन्तरिक परीक्षण भइरहेको छ,’ विश्वकर्माले भने, ‘सायद दुई दिनभित्रमा टुंगो लाग्छ।’

यसबारे नेपालखबरले विश्वकर्मालाई सोधेको छ–एमाले र रास्वपाले युवालाई उम्मेदवार बनाए, कांग्रेसले के गर्छ? 
कांग्रेसले त सुवास नेम्वाङसँगै युवा डम्बर खड्का भिडाएको हो नि। कांग्रेसको सिफारिस भएर आएका नाममध्येमा उहाँ युवा हो। 

कांग्रेस केन्द्रीय सदस्य नै हो उहाँ। जिल्ला सभापति पनि हुनुहुन्छ।

भनेपछि तपाईंहरुको युवा उम्मेदवार नै खड्का हो?
नेताहरुले सबै अध्ययन गरिरहनुभएको छ। प्राप्त भएका नाममै बुझ्ने काम भइरहेको छ। त्यसको आधारमा बलियो उम्मेदवार छान्छौँ। सम्भावना खड्काकै छ।

तर, शेखर कोइरालाले आफ्ना नेतालाई उम्मेदवार बनाउन खोज्नुभएको छ होइन र?
त्यहाँबाट आएका मानिसहरु सबै असल नै छन्। एउटा पक्षको मात्र भन्ने छैन। केही सिनियर छन्। केही पार्टीमा एक्टिभ छन्। त्यसमा निधो नभइकन यो गर्छाैँ भनिहाल्न कठिन छ।

सबै सम्भावितमध्येमा पार्टीको सभापति पनि हो, यसअघि कम मतले पराजित भएको घोषणा भएको पनि हो, त्यसो भएको हुनाले उहाँकै (खड्का) पक्षमा हुन्छ।

पहिला सुवास नेम्वाङसँग ११४ मतले पराजित भएको अहिले कांग्रेसले कतिको दबाब महसुस गरेको छ?
स्वाभाविक हिसाबले दबाब महसुस नहुने कुरै भएन। पहिला गठबन्धन हुँदा हामी चुनाव लडेको अहिले गठबन्धन अर्कापट्टि छ। दोस्रो, एकपटक जित्ने निश्चित भएको उम्मेदवार थोरै मतको अन्तरले पराजित भइसकेर उम्मेदवार बन्दै हुनुहुन्छ। तर, राष्ट्रिय माहोललाई हेर्दा चुनावमा हामी बलियो छौँ। 

सो क्षेत्रको मतको विश्लेषण भयो?
बढीजसो कांग्रेसका पक्षमा युवासाथीहरु आन्तरिक रुपमा लाग्नुभएको हामीले पाएका छौँ।

सुहाङ र मिलन दुईजना उम्मेदवार बनेपछि कांग्रेसले कसरी हेरेको छ?
चुनाव हो, उमेरकै आधारले मात्र भोट जाने होइन। किनभने राष्ट्रिय मुद्दा, स्थानीय मुद्दा, स्थानीय योगदान हेर्नुपर्छ। उमेरकै हिसाबले मात्र हुँदो रहेनछ।

नत्र त सुवास नेम्वाङ (७०) जितेर डम्बर खड्का हार्ने थिएनन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .