ad ad

कला


करण परियार, जसले नेपाल आइडलको छनोट चरणमै तहल्का पिटे

करण परियार, जसले नेपाल आइडलको छनोट चरणमै तहल्का पिटे

तस्बिर : सरोज बैजु


राधिका अधिकारी
चैत १४, २०८० बुधबार ८:५४, काठमाडौँ

१८ पुगेर १९ मा हिँडिरहेको उमेर। निश्छल स्वभाव। बोलीमा चञ्चलता र मिठास। सफा, मधुर गला। उनको यही गलाले एकैपटक तानेको छ अग्रजदेखि अनुजसम्मको मन। एकाएक सामाजिक सञ्जालमा पाएको ख्यातिले पुलकित उनी आफैंसँग प्रश्न गर्छन्, ‘यो माया साँच्चैको माया हो त?’ 

अनि आफैँ उत्तर दिन्छन्, ‘साँच्चै त हो नि। नत्र किन मैले देख्दै नदेखेका, समाजले आइडल मानेका मान्छेले पनि मेरो भिडिओ सेयर गरेर शुभकामना दिन्थे होला!’
 

उनी अर्थात् नेपाल आइडलका प्रतियोगी करण परियार। 

केही दिन भयो, करणलाई यो के भैरहेको छ भन्ने लागिरहन्छ। उनलाई यो पनि थाहा छैन, मान्छेहरूले गरेको यति धेरै प्रशंसा राम्रो हो कि नराम्रो। भन्छन्, ‘बोल्नै नसक्ने गरी खुसी लाग्दो रहेछ।’ 

नेपाल आइडलको पाँचौँ सिजनमा प्रतियोगीका रूपमा सहभागी करणले  निर्णायकबाट गोल्डेन माइक पाएका छन् र टप १२ प्रतिस्पर्धीमा छनौट छन्। निर्णायकहरूले उत्कृष्ट गायन भएकालाई गोल्डेन माइक दिने गर्छन्।

करणले भने आफ्नो स्वरले एउटै मञ्चबाट यति धेरै माया पाउला भनेर उनले सोचेकै थिएनन्। भन्छन्, ‘नेपाल आइडलमा म टाइटल जित्छु भनेर आफै आएको होइन। गुरुले एकपटक गएर हेर भन्नुभयो। म दगुरिहालेँ। यहाँ आएपछि त दुनियाँ अर्कै रहेछ। मलाई त थाहै थिएन।’

करणले संगीत सिक्न थालेको धेरै भएको छैन। उनी गत असारबाट काठमाडौँ जोरपाटीमा कृष्ण केसीसँग संगीत सिकिरहेका छन्।

गीत गाउन पनि सिक्नुपर्छ भनेर ८ कक्षा पढ्दा नै थाहा पाएको करण सुनाउँछन्। करणले नेपाल आइडलभन्दा पहिला भारतीय गायन रियालिटी सो ‘सारेगमप’ हेरे। उनले हेरेको सिजनमा नेपालका आयुष केसी र प्रीतम आचार्य सहभागी थिए। उनीहरूले गाएको करणलाई असाध्यै मन पर्थ्यो। 

करण पनि उनीहरूले जस्तै गाउने प्रयास गर्थे। तर, सक्दैनथे। स्कुलका थुप्रै कार्यक्रममा गायनकला प्रस्तुत गरेका करणको स्वर सबैले मन पराउँथे। उनलाई पनि आफ्नो स्वर राम्रै लाग्थ्यो। तर यसपटक लागेन। 

‘मैले कति कोसिस गरेँ, उनीहरूले जस्तै मिठो गाउन। कसै गरे पनि सकिनँ। मैले किन उनीहरूले जस्तै गाउन नसकेको होला भनेर पीर पनि लाग्थ्यो। पछि थाहा भयो कि उनीहरूले संगीत सिकेको भएर यति सजिलोसँग गाउन सक्ने रहेछन्,’ उनले भने, ‘त्यो पछि बल्ल थाहा पाएको, गीत गाउन पनि तालिम लिनुपर्दो रहेछ। अनि मैले प्लान बनाएँ– १२ कक्षा पास गरेपछि संगीत सिक्छु।’

बर्दियाको जयनगरमा उनका बुवाआमाले कपडा सिलाएर जीवन चलाइरहेछन्। आफ्नो खेतीपाती छैन। उनीहरूले छोराको सपना अभावको भुङ्ग्रोमा सेक्न चाहेनन्। करण सम्झिन्छन्, ‘म संगीत सिक्छु, गीत गाउँछु भन्दा बुवाले गीत गाएर मात्रै हुँदैन, सीप पनि सिक्नुपर्छ, लुगा सिलाउन सिक, गीत पनि गाउलास् भन्नुभयो।’ 

उनले बुवाआमासँगै कलमा बसेर धागो काट्ने, टाँक हाल्ने काममा सघाए। तर, लुगा सिलाउन सिकेनन्। भन्छन्, ‘सिकेको भए जानेको काम गर्नुपर्थ्यो। संगीत सिक्न आउन पाइँदैनथ्यो होला। नसिकेर राम्रै भएछ।’

उनी बुवासँगै काठमाडौँ आए। २ महिना सँगै बसे। त्यसपछि बुवा गाउँ फर्किए। बुवा हुँदासम्म त करणलाई केही कुराको पीर थिएन। बुवा गएपछिका केही दिन उनले भोकसँग मित्रता गरे। यो सहरमा उनका साथी छन् रोहित। रोहितलाई उनी आफ्नो संगीत पार्टनर भन्न रुचाउँछन्। उनै रोहितले काम खोजिदिए। अभावमा आफ्नो घरमा लगेर राखे। करण भन्छन्, ‘अब त म एक्लै छु भनेर दुःख लाग्दैन।’

काठमाडौं आएपछि करणको सपना थियो, गिटार किन्ने। पैसा थिएन। सापटी मागेर किने। त्यो दिन उनलाई लागेको थियो, संसारको सबैभन्दा ठूलो खुसी यही होला।

‘तर होइन रहेछ नि! अहिले त्योभन्दा कति ठूलो खुसी पाएको छु,’ करण निर्दोष लवजमा सुनाउँछन्। 

च्यासलस्थित नेपाल आइडल सुटिङ भैरहेको स्टुडियोबाहिर बसेर कुरा गर्दागर्दै करण आफ्नो स्कुल जीवनतिर फर्किए। उनले सबैभन्दा धेरै सम्झिए स्कुलमा हुने कार्यक्रम, कार्यक्रममा गुरूले ‘कर्णप्रिय स्वरका धनी भाइ करण परियार’ भनेर मञ्चमा बोलाएको। भन्छन्, ‘सरले स्कुलमा र बुवाले घरमा तिम्रो स्वर राम्रो छ। गाउन सक्छौ भनेर नसम्झाएको भए गाउँ छोडेर संगीत सिक्न आउने सपना कहाँ देख्थेँ होला।’

करणलाई अब ढिलोचाँडो सपना पूरा हुन्छ भन्ने लागेको छ। आफ्नो सपना पूरा हुँदै गर्दा करणले बुवाका अधुरा सपना थुप्रैपटक सम्झिए। उनका बुवाले जीवनमा ३ वटा सपना देखे। पहिलो, गायक बन्ने। त्यसपछि डाक्टर र निर्देशक बन्ने। तर, उनले त्यसो गर्न पाएनन्।

करण भन्छन्, ‘मेरो बुवा अहिले पनि दुःखी हुनुहुन्न। तर, उहाँको एउटा मात्रै सपना पूरा भएको भए कति खुसी हुनुहुन्थ्यो होला।’ 

बुवाका अधुरा सपना सम्झिँदा करण निकैबेर बोल्न सकेनन्। ‘अब त बूढो हुनुभयो। बुवाको कुनै सपना पनि मैले पूरा गर्न सक्दिनँ,’ उनी भन्छन्, ‘त्यही भएर बुवालाई उहाँको चाहनाबारे कहिल्यै सोधिनँ। सोध्यो भने बुवाको मन दुख्छ कि जस्तै लाग्छ। सक्ने भए बुवाको पनि सपना पूरा गरिदिनुहुन्थ्यो।’

नेपाल आइडलको यो सिजनमा कञ्चनपुरकी प्रेरणा विश्वकर्माले पहिलो गोल्डेन माइक पाइन्। करणलाई लाग्यो ‘गोल्डेन माइक कसले पाउने रहेछन्? म पनि गोल्डेन माइक पाउने गरी गीत गाउँछु।’ 

अन्ततः उनको हातमा पनि आइडलका निर्णायकले गोल्डेन माइक थमाएर एकैपटक उत्कृष्ट १२ का लागि छनौट गरे। यसपटक करणले गोल्डेन माइक जिते, उनको स्वरले धेरैको मन। अहिले सामाजिक सञ्जालले करणले पाएको लोकप्रियता देखेर आइडलका निर्णायक कालीप्रसाद बाँस्कोटा डराइरहेका छन्। 

उनी भन्छन्, ‘उसमा निर्दोषपना धेरै छ। जीवनलाई राम्रोसँग बुझेकै छैन। आज जति राम्रो गाएको छ, सधैँ एकनास गाउन सक्छ भन्ने पनि हुँदैन। यो प्रतिस्पर्धा हो। यसका आफ्नै नियम छन्। सामाजिक सञ्जाल फेरि कतिबेला कता दौडिन्छ थाहा हुँदैन। भोलि थोरै कसैले नराम्रो भनिदियो भने उसलाई असर गर्छ कि भनेर डर लागेको छ।’

यता करण भने झण्डै दार्शनिकले झैँ जवाफ दिन्छन्, ‘जहाँसम्म पुगिन्छ, त्यहाँसम्म शत प्रतिशत दिने हो।’ 

नेपाल आइडलको मञ्चमा आफूले गीत गाएर आमाबुवालाई प्रत्यक्ष देखाउने उनको चाहना छ। अनि अहिले माया गरेर सामाजिक सञ्जालमा सपोर्ट गर्नेलाई केही भन्नु छ भन्ने प्रश्नमा करण भन्छन्, ‘भोटिङ राउन्डमा पनि यस्तै माया गर्दिनुहोस्। अरु त भन्ने मसँग शब्द नै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .