नेपाली कांग्रेसमा डा. शेखर कोइराला समूहले आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा तय गरिएको महासमिति बैठक सार्न नहुने जनाएको छ।
बुधबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको शेखर समूहको बैठकले यस्तो धारणा बनाउन लागेको हो।
बैठकमा छोटो समय बसेर निस्किएका उपसभापति धनराज गुरुङले आफूहरु महासमिति बैठक निर्धारित मितिमै हुनुपर्ने पक्षमा रहेको बताएका छन्।
सभापति शेरबहादुर देउवाले पुसको चिसोमा बैठक गर्न समस्या हुने भन्दै माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनपछि मात्रै महासमित डाक्ने गरी गृहकार्य अघि बढाइसकेका छन्।
यसअघि आफ्नै निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा देउवाले चिसोमा महासमिति सदस्यहरूलाई काठमाडौँ आउन कठिन हुने बताएका थिए।
त्यही बैठकबाट उनले महासमिति बैठक सार्नुपर्ने प्रस्ताव अघि सारेका थिए। तर उक्त बैठकमा सहभागी महामन्त्री गगनकुमार थापाले त्यसको विरोध गरेका थिए।
बुधबार महामन्त्री थापासमेत सहभागी शेखर समूहको बैठकमा देउवाले महासमिति सार्न खोजेको भन्दै निर्धारित समयमै हुनुपर्ने गरी धारणा बनाउने भएको हो।
Shares

प्रतिक्रिया