राष्ट्रिय प्रजातन्त्र पार्टीले कालापानीबाट तत्काल भारतीय सेना फिर्ता गर्न माग गरेको छ। लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता नेपालको अविभाज्य भूमि भएको उल्लेख गर्दै नेपालको उपरोक्त सार्वभौम क्षेत्रमा भइरहेको भारतीय अतिक्रमणको राप्रपाले निन्दा गरेको छ।
माघ १७ गतेदेखि काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ताको अतिक्रमित भुमि फिर्ता गराउन तथा कालापानीबाट भारतीय सेना फिर्ता गराउन सरकारले प्रभावकारी कुटनीतिक प्रयास गर्न माग गरेको हो।
बैठक नौ बुँदे विशेष प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको राप्रपाले जनाएको छ। बैठकमा अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र भावी कार्य्दिशा सम्बन्धि राजनीतिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ। यसै गरी महामन्त्री भास्कर भद्राद्धारा प्रस्तुत सचिवालय र आगामी कार्यक्रम सम्बन्धि प्रतिवेदन, सहायक कोषाध्यक्ष निना भेटवालको आर्थिक प्रतिवेदन सामान्य परिमार्जन सहित पारित गरिएको छ।
राप्रपाले पार्टीकाे केन्द्रीय महाधिवेशन २०७७ जेष्ठ २५ गते काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ। निर्वाचन समितिका संयोजक पार्टीका उपाध्यक्ष तोरण बहादुर गुरुङद्वारा प्रस्तुत निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन सहित पारित गरिएको राप्रपाले जनाएको छ।
यस्तै, राप्रपाले हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको पुनस्र्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधान जस्ता बिषयलाई लिएर फाल्गुन र चैतमा विभिन्न जिल्लाहरुमा राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया