उखु किसानले पुनः आन्दोलन गर्ने भएका छन्। किसानहरुको रकम भुक्तानी नपाएको तथा उखु खेतीको संरक्षणका लागि भन्दै किसानहरुले आजदेखि आन्दोलनको घोषणा गरेका हुन्।
घोषित कार्यक्रमको तालिका नै उनीहरुले सार्वजनिक गरेका छन्। उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रावस्वार्थ राय, सचिव हरिश्याम राय र उखु कृषक रामविलास महतोले आजैदेखि फागुन ५ गतेसम्म उखु किसानको बक्यौता रकमको विवरण गाउँमै पुगेर संकलन गर्ने बताएका छन्।
त्यस्तै फागुन ६ देखि २१ गतेसम्म उखु किसानको एकछाक मात्र खाना खाएर खेतमा काम गर्ने, २२ गतेदेखि चैत २ सम्म चलु काठमाडौं भरु काठमाडौं अभियान सञ्चालन गर्ने र चैत ४ देखि माइतीघर मण्डलामा आएर पुनः अनशन गर्ने समयतालिका सार्वजनिक गरिएको छ।
विगत १८ महिनायता उखु किसानले भुक्तानी माग गर्दै आन्दोलनरत छन्। सोही क्रममा उनीहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए। आन्दोलनकै क्रममाा सरकार र किसानबीच पुस १८ मा उद्योग मन्त्रालयमा माघ ७ सम्म चिनी मिल मालिकले र सरकारले दिनुपर्ने अनुदान रकमसहित सबै बक्यौता किसानलाई दिने सम्झौता भएको थियो।
तर पनि सम्झौता कार्यान्वयन नभएकोले किसानले पुनः आन्दोलन घोषणा गरेका हुन्। अघिल्लो आन्दोलनपछि केही मिलले भुक्तानी गरे पनि अझै करोडौँ भुक्तानी नभएपछि किसान पुनः आन्दोलित हुनपुगेका हुन्।

प्रतिक्रिया