कारोबार


टोखा–छहरे सुरुङमार्ग : पहिलो चरणको अध्ययन सकियो, प्रतिवेदन चीनमा तयार हुँदै

टोखा–छहरे सुरुङमार्ग : पहिलो चरणको अध्ययन सकियो, प्रतिवेदन चीनमा तयार हुँदै

नेपालखबर
माघ १९, २०७६ आइतबार १२:०,

काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्गको पहिलो चरणको अध्ययन सम्पन्न भएको छ। अध्ययनको प्रतिवेदन बन्न बाँकी नै छ।

सडक विभागका अनुसार चिनियाँ टोलीले नेपालमा आएर उक्त सुरुङको पहिलो चरणको अध्ययन गरेर फर्किएको हो। आगामी एक महिनाभित्र उक्त अध्ययनको रिपोर्ट तयार गर्ने गरी चिनियाँ टोली फिर्ता भएको विभागले जनाएको छ। उक्त प्रतिवदेन चीनमा नै बन्ने र चिनियाँ टोलीले चीन सरकारलाई नै बुझाउनेछ।

विभागका उपमहानिर्देशक अर्जुनजंग थापाका अनुसार चिनियाँ टोली एक महिनाअघि नेपाल आएको थियो। उक्त टोलीले फिल्डमा नै रहेर अध्ययन गरेको थियो।

टोलीले सुरुङमार्ग निर्माणको लागि पहिलो चरणको अध्ययन गरेको थियो। यो अध्ययनले सुरुङमार्ग निर्माणको सम्भावना छ कि छैन भनेर देखाउनेछ। यही अध्ययनको आधारमा थप अध्धयनहरु हुनेछ।

‘चिनियाँ नौ जनाको प्राविधिक टोलीले गरेको अध्ययनको प्रतिवेदनको आधारमा चीनले अर्को टोली नेपाल पठाउनेछ’, उनले नेपालखबरसँग भने, ‘अहिलेको अध्ययनले निर्माणको सम्भावना मात्रै देखाउनेछ। यसको लागतलगायत अन्य कुराहरु भने यसपछि मात्रै थाहा हुनेछ।’

तर रिपोर्ट नआई अध्ययनमा के के भए भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन। विभागका अनुसार यो प्रारम्भिक अध्ययन मात्रै हो। परियोजना हुने स्थान र त्यस परिसरमा रहेको आँकडालाई चिनियाँ टोलीले अध्ययन गरेको छ।

यो सुरुङमार्ग नेपाल–चीन जोड्ने रसुवागढी नाकालाई लक्षित गरेर निर्माण गर्ने तयारी भइरहेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा काठमाडौंको टोखादेखि नुवाकोटको छहरे हुँदै सदरमुकाम विदुर भएर वेत्रावती र स्याफ्रुबेसीसम्म सुरुङसहितको सडक निर्माण गरिदिने सहमति भएको थियो। उक्त सहमतिको आधारमा पहिलो चरणको अध्धयन भएको हो।

यो समझदारीअनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङसहितको ३२ किमि सडकमार्ग अनुदानमा निर्माण गरिदिनेछ। टोखा–छहरे सुरुङमार्ग ७ किमिको बन्ने अनुमान छ। काठमाडौं–रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुनेछ। काठमाडौंको टोखा र नुवाकोटको छहरे तथा रसुवाको वेत्रावती र स्याफ्रुबेसीमा सुरुङमार्गयुक्त सडक निर्माण गरिनेछ।

यो सुरुङमार्गसहितको सडक निर्माण भई सञ्चालनमा आएमा मालवाहक सवारीसाधन रसुवागढीदेखि काठमाडौंसम्म दुईदेखि तीन घण्टामा आइपुग्नेछ। नेपालको राजधानीसँग चीनले पनि प्रमुख नाकाको रुपमा रसुवागढीलाई नै बनाउने तयारीमा छ। जसअनुसार सडक स्तरोन्नतिको काम समेत भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad