राजनीति


भवन बनाउनका लागि दिल खोलेर सहयोग गर्न शुभेच्छुकसँग नेकपाको अपिल

भवन बनाउनका लागि दिल खोलेर सहयोग गर्न शुभेच्छुकसँग नेकपाको अपिल

नेपालखबर
माघ १९, २०७६ आइतबार ११:३५,

बल्खुमा नेकपा मुख्यालय बनाउन पार्टीका सम्पूर्ण सदस्यहरूले न्यूनतम एकदिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिल खोलेर सहयोग गर्न अपिल गरेको छ।

सत्तारुढ दल नेकपाको जारी केन्द्रीय समिति बैठकबाट ११ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सो अपिल गरिएको हो।

‘यो बैठक काठमाडौँको मदननगर बल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गर्दछ,’ प्रस्तावको अन्तिम बुँदामा भनिएको छ। ‘देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुनेगरी आगामी तीन महिना भित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गर्दछ।’

बैठकले मङ्सिर १४ गते सम्पन्न निर्वाचन परिणामहरूले पार्टीको राष्ट्रिय राजनीतिको मूख्य, निर्णायक र लोकप्रिय शक्तिका रुपमा रहेको तथ्य पुनर्पुष्टि गरेको निष्कर्ष निकालेको छ।

‘यो बैठक भक्तपुर, धरान, भरतपुर लगायत विभिन्न स्थानहरूमा प्राप्त अनपेक्षित परिणामहरूबाट गंभीर शिक्षा लिन आवश्यक ठान्दछ,’ पारित प्रस्तावमा भनिएको छ। ‘यो बैठक गतः आम निर्वाचनमा नेपाली जनताबाट प्राप्त अभूतपूर्व समर्थन र विश्वासलाई ऐतिहासिक अवसर र अग्निपरीक्षाका रुपमा लिएर जनभावना अनुरुप विकास निर्माण, सुशासन, जनसेवा र समृद्धिका दिशामा अझ दृढ, गतिशील, स्वच्छ र निष्ठापूर्ण ढङ्गले समर्पित हुन नेपाल सरकार, प्रदेश सरकारहरू, सबै स्थानीय तह र जनप्रतिनिधिहरूलाई आह्वान गर्दछ।’

चीनको वुहान शहरबाट सुरु भई चीन लगायत विभिन्न मुलुकहरूमा तीव्र गतिमा फैलिइरहेको नोभल–कोरोना भाइरसको समस्याप्रति गहिरो चिन्ता व्यक्त गर्दै चीनले चालेको प्रभावकारी कदमको प्रशंसा गरेको छ ।

‘यस विरुद्धको अभियानमा चीनियाँ जनता, सरकार र चीनियाँ कम्युनिष्ट पार्टीलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दछ । नोभल कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट नेपाली जनतालाई सुरक्षित गर्न विमानस्थल लगायत सीमा–नाकाहरूमा उच्च सतर्कता अपनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ उसले भनेको छ। ‘वुहान शहरमा रहेका नेपाली विद्यार्थीहरू लगायत नेपाली नागरिकलाई आपत्कालीन उद्धार गर्न सरकारसँग आग्रह गर्दछ।’

बैठकले इरान, इराक लगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै कुनै पनि समस्याको वार्ताद्वारा शान्तिपूर्ण समाधान खोजिनु पर्ने तथा युद्ध या आक्रमणका कुनै पनि गतिविधिहरू तत्काल रोकिनु पर्ने नेपालको मान्यता रहेको बताएको छ।

‘यो बैठक सम्वद्ध सबै पक्षलाई संयम हुन र तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आह्वान गर्दछ । उक्त क्षेत्रमा दस लाखभन्दा बढी नेपालीहरू कार्यरत रहेको र नेपालीहरूको सुरक्षा नेपालको सर्वोपरि चासोका बिषय भएको हुनाले उक्त क्षेत्रमा विकसित स्थितिको निरन्तर अनुगमन गर्न र नेपालीहरूको सुरक्षाका लागि सबै खाले कुटनीतिक पहललाई तीव्र पार्न यो बैठक सरकारको गंभीर ध्यानाकर्षण गर्दछ,’ प्रस्ताव ७ मा भनिएको छ।

२०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दै ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरूका आधारमा ती भूभागहरू एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा नेकपा स्पष्ट रहेकोमा जोड दिएको छ।

‘नेपाल र भारतका परराष्ट्र सचिवहरूको संयन्त्रबाट समस्याको समाधान गर्ने पूर्व सहमति विपरीत गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ,’ प्रस्तावमा भनिएको छ। ‘यस सम्बन्धमा नेपाल सरकारले सर्वदलीय बैठक आयोजना गरेर साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्न लिएको तदारुकता, देशको भौगोलिक अखण्डता रक्षाका लागि सरकारले लिएको अडान र चालेका कदमहरू सही रहेको कुरामा जोड दिँदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन गर्दछ।’

विभिन्न स्थानमा सीमाना र दसगजा मिचिएको र नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad