राजनीति


नेपाली कमजोर बनाउने गरी अंग्रेजी भाषाको प्रयोग गर्नुहुँदैन : शिक्षामन्त्री

नेपाली कमजोर बनाउने गरी अंग्रेजी भाषाको प्रयोग गर्नुहुँदैन : शिक्षामन्त्री

नेपालखबर
माघ १९, २०७६ आइतबार ११:३५,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अंग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताएका छन्।

विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अंग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए।

‘अंग्रेजी मात्र होइन, चिनियाँलगायतका अन्य भाषाको सिकाइ र प्रयोग गर्दै जानुपर्छ’ उनले भने, ‘अंग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको छ।’

मन्त्री पोखरेलले शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै शिक्षा क्षेत्रको विकास बिना सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता पाउन नसक्ने बताए। उनले नयाँ–नयाँ प्रविधिको उपयोग गर्न नसके मुलुकले विकासमा फड्को मार्न नसक्ने औँल्याउँदै राज्यले प्रविधिमैत्री शिक्षामा जोड दिएको बताए।

‘पहिले÷पहिले शिक्षक र पुस्तकलाई ज्ञानको केन्द्र मानिन्थ्यो’, उनले भने, ‘प्रविधिको विकाससँगै अहिलेका विद्यार्थीले इन्टरनेटको प्रयोगले आफैँ पनि धेरै सिक्न थालेका छन्।’ उनले शिक्षालाई उत्पादनशील, सभ्य र सुसंस्कृत बनाउन विद्यालयलाई सबल बनाउनुपर्ने बताए। सामुदायिक विद्यालयमा सिकाइ केन्द्रीत सुधारकोे आवश्यकता रहेकामा उनले जोड दिए।

मन्त्री पोखरेलले काठमाडौँ उपत्यकामा दश प्रतिशत सामुदायिक र ९० प्रतिशत निजी विद्यालय रहेको जानकारी दिँदै सामुदायिक विद्यालयले निजी विद्यालयलाई पछि पार्नुपर्ने बताए।

‘अधिकांश सामुदायिक विद्यालय भौतिकरुपमा सबल छन्’, उनले भने, ‘तर शैक्षिक गुणस्तर वृद्धि गर्न सकिरहेका छैनन्।’ उनले गणित र विज्ञानको नजिता सन्तोषजनक आउन नसकेको बताउँदै सरकारले विज्ञान विषय सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन गर्न लागेको जानकारी दिए।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विश्व निकेतनमा अध्ययन गरेका विद्यार्थी राष्ट्रियस्तरमा प्रतिष्ठित बन्न पुगेको बताए। उनले कम्प्युटरलाई अतिरिक्त विषयका रुपमा अध्ययन गराउनेमा यस विद्यालय नेपालकै पहिलो भएको दाबी गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad