राजनीति


रास्वपा महाधिवेशन: गण्डकीबाट आकांक्षीको लर्को, स्वर्णिम कति सुरक्षित?

बालेन समूह व्यवस्थापन गर्नुपर्ने चुनौती
रास्वपा महाधिवेशन: गण्डकीबाट आकांक्षीको लर्को, स्वर्णिम कति सुरक्षित?

वाशुदेव मिश्र
असार ९, २०८३ मंगलबार १५:१५, पोखरा

सञ्चारकर्मबाट बिदा लिँदै रवि लामिछानेले २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरे। असार १७ गते उनको नेतृत्वमा २१ सदस्यीय संस्थापक सदस्यको नामावली निर्वाचन आयोगमा दर्ता हुँदा प्रवक्ता डा. मुकुल ढकाल थिए। सदस्यहरूमा हालका सभामुख डीपी अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिनकुमार आचार्य, महेश्वर घिमिरे, वसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णुकुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा.प्रभात अधिकारी, गीता रेग्मी, डा.राकेश यादव, प्रमिला कुलुजू, रविना घिमिरे र एजिला गुरुङ थिए। 

वैकल्पिक राजनीतिको उद्घोषसहित जन्मेको रास्वपाले २०७९ मंसिरमा भएको आफ्नो पहिलो प्रतिनिधिसभा निर्वाचनमै २१ सिट जित्यो।

चितवन २ बाट भारी मतले विजयी रवि उपप्रधान तथा गृहमन्त्री बने। तर दोहोरो नागरिकताको मुद्दाले उनको पद धेरै टिकेन। सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासको फैसलाले उनी सांसद र गृहमन्त्री पदबाट बर्खास्त भए। भर्खरै संसद्‌मा पुगेका रवि नागरिकता काण्डले एकाएक कमजोर बने।

त्यही बेला राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका र कांग्रेसको चुनावी घोषणापत्रका मस्यौदाकार डा. स्वर्णिम वाग्ले पार्टीबाट विरक्तिए। चितवनबाट चुनाव लड्ने आकांक्षा राखेका उनी कांग्रेसको तत्कालीन संस्थापनले नपत्याएपछि निराश भएका थिए। तर तत्काल पार्टी छाडेनन्।

चुनावपछि भने परिस्थति बदलियो । महत्वकांक्षी स्वर्णिमको नजर वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपामा गयो। अनि रविलाई पार्टी अगाडि बढाउन चाहिएको थियो- वाग्लेजस्तै ‘सेलेब्रिटी’।

तनहुँ क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुनेवाला थियो। रविको क्षेत्र चितवन-२ र तनहुँ-१ मा २०८० वैशाख १२ गते उपनिर्वाचन गरिने घोषणा गरियो। 

मन बहलाउन कास्कीको पर्यटकीय गाउँ सिक्लेसको भ्रमणमा रहेकै बेला स्वर्णिमले २०७९ चैत १६ गते सामाजिक सञ्जालमार्फत कांग्रेस छाडेको घोषणा गरे। रास्वपा स्रोतका अनुसार घोषणाअघि नै रविले उनलाई तनहुँ-२ मा उम्मेदवार बनाउने वचन दिइसकेका थिए।

पार्टी छाडेको घोषणा गर्दै स्वर्णिमले लेखेका थिए, ‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजू-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ। अब कांग्रेस-कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।’

लगत्तै उनी औपचारिक रूपमा रास्वपामा आबद्ध भए। अनि उपनिर्वाचनमा तनहुँ-१ मा डा. गोविन्द भट्टराईलाई भारी मतले हराउँदै सांसद बन्न सफल भए। 

उता चितवन-२ मा पनि रवि अझ बढी मतले फेरि सांसद चुनिए। यी दुईको जोडी खुब जम्यो। रविले जन्माएको पार्टीमा स्वर्णिम साँच्चिकै ‘सुन’जस्तै चम्किला बने।

२०८० मंसिरमा महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले वाग्लेलाई उपसपभापति पदमा मनोनयन गर्‍यो। उनी त्यसबेला डोलप्रसाद अर्यालपछि दोस्रो वरीयताको उपसभापति बने। डीपी हाल प्रतिनिधिसभाको सभामुख बन्दै पार्टी राजनीतिबाट अलग भएका छन्।

स्वर्णिम भने उपसभापति नै रहँदै अर्थमन्त्री बनेका छन् र अहिले असार ७ देखि चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबाट उपसभापति पदमै दोहोरिने दाउमा छन्।

रास्वपा र गण्डकी 
गोरखास्थित सहिद लखन गाउँपालिकाको बुङकोट स्थायी घर भएका स्वर्णिमले फेरि उपसभापति बन्ने आकांक्षासहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरिरहँदा गोरखाकै पालुङटार घर भएका कविन्द्र बुर्लाकोटी पनि महामन्त्री पदमा दोहोरिने धुनमा छन्।

पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेलाई साथ दिइरहेका कविन्द्र गोरखा-२ बाट निर्वाचित सांसद तथा संसदीय दलका सचेतक हुन्। 

गोरखाकै एलिजा गुरुङ रास्वपाका संस्थापक सदस्य हुन्। गोरखाकै भरतमणि देवकोटाले पनि रविलाई पार्टी निमार्णमा सघाएका थिए। पार्टीको अनुशासन आयोगका पूर्वसंयोजक उनी रास्वपा केन्द्रीय कार्यालय रहेको घरका धनी पनि हुन्। दुःखका बेला सहयोग गरेका देवकोटालाई रवि स्वयंले जारी महाधिवेशनबाट पुनः महत्त्वपूर्ण जिम्मेवारीमा ल्याउन चाहेको स्रोतको दाबी छ।

ग्यालेक्सी फोरके टेलिभिजनमा रविसँगै काम गरेका कास्की २ का सांसद उत्तम पौडेल, केन्द्रीय सदस्य शिव नेपाली, डा. ढाकाकुमार श्रेष्ठ, प्रदेश कमिटीका संस्थापक प्रवक्ता स्याङ्जाका बोधराज रेग्मी, कास्कीकै अशोक खड्काथोकी, हाल लमजुङबाट सांसद इ.धर्मराज केसी, नवलपुरबाट सांसद राजन गौतम तथा उपनिर्वाचनको मुखैमा डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति छाड्दै रास्वपामा समाहित भएका गण्डकीका पूर्वमन्त्री हरिशरण आचार्यलगायतले रविलाई साथ दिएका थिए।

यीमध्ये शिव नेपाली र ढाकाकुमार श्रेष्ठ अघिल्लो प्रतिनिधिसभामा समानुपातिक सांसद पनि बनेका थिए। आर्थिक लेनदेन प्रकरणका कारण रास्वपाले तत्काल कारबाही गरिएका ढाका हाल रास्वपामा छैनन्।

हाल रास्वपामा जेनजी आन्दोलनबाट उदाएका गोरखाका सुधन गुरुङदेखि २०७९ सालको स्थानीय चुनावमा अटेरी अभियानको नेतृत्व गर्दै पोखराको मेयरमा उम्मेदवारी दिएका खड्गराज (गनेस) सम्म छन्। हाल सुधन गृहमन्त्री र गनेस पर्यटनमन्त्री छन्। दुवै रास्वपाका केन्द्रीय सदस्य हुन्। उनीहरू हाल प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को समूहबाट रास्वपाको केन्द्रीय समितिमा समावेश भएका हुन्। 

गण्डकीकै पूर्वमन्त्री तथा कुनै बेला अखण्ड नेपाल पार्टीका अध्यक्ष रहेका कुमार खड्का पनि रास्वपामै छन्। चितवनमा जारी रास्वपाको महाधिवेशनमा यी सबैजसो केन्द्रीय सदस्य पदका आकांक्षी छन्।

गण्डकी प्रदेशका प्रतिनिधिसभाका १८ क्षेत्रमध्ये  रास्वपाले १५ सिट जितेको छ। म्याग्दीमा रास्वपाकै सहयोगमा महावीर पुनले चुनाव जितेका हुन्। सांसद रहेकामध्ये अधिकांशले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

उम्मेदवार धेरै हुँदा अप्ठेरो 
रास्वपाको संशोधित विधानअनुसार एक महिलासहित ३ जना उपसभापति चुनिने छन् भने महामन्त्री २ जना हुनेछन्। १४८ सदस्यीय केन्द्रीय समितिमा ९९ जना चुनावबाट चयन हुन्छन् भने बाँकी ५१ सदस्य सभापतिले मनोनयन गर्नेछन्।

रास्वपाको वर्तमान विधानमा प्रदेशबाट २ महिलासहित ५ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ। जारी रास्वपाको पहिलो महाधिवेशनमा गण्डकी प्रदेशबाट ४७७ जना प्रतिनिधि सहभागी छन्।

कास्कीका सांसद उत्तमप्रसाद पौडेल, खड्गराज पौडेलसहित पवित्रा थापा, न्युरोडका अशोक खड्का, कुनै बेला पोखरालाई नै कार्यक्षेत्र बनाएका बोधराज रेग्मी, अशोक खड्काथोकी, पूर्वसांसद शिव नेपाली, पूजा बाँस्तोला, विष्णुकुमारी गुरुङलगायतले केन्द्रीय सदस्य पदमा आकांक्षा देखाएका छन्।

‘म खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार हो। आकांक्षीहरूको लर्को छ। प्रतिनिधि बनेकाहरू सबै केन्द्रीय सदस्य लड्ने भन्छन्’, गण्डकीका संस्थापक प्रवक्ता बोधराज रेग्मीले नेपालखबरसँग भने, ‘यस्तै अवस्था रहने बलियो देखिएको अनुहार पनि पराजित हुने सम्भावना रहन्छ।’

पार्टीमा सक्रिय मेघबहादुर आले, गोमा क्षेत्री, मोहनबहादुर थापा, आशुतोष प्रधान, नवराज थापा, प्रदीप पाण्डे, संघीय नेतृत्व मञ्चमा रहेका हरिशरण आचार्यहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने चुनौती रवि र स्वर्णिमकै काँधमा छ।

स्वर्णिम उपभापति हुँदा गोरखाकै बुर्लाकोटी कहाँ होलान्?

पार्टी र सरकार दुवैतिर महत्त्वपूर्ण पदमा रहेका डा. स्वर्णिम वाग्ले फेरि उपभापति आकांक्षी रहँदा गोरखाकै कविन्द्र बुर्लाकोटी महामन्त्री पदको दाबेदार छन्। यद्यपि दुवै पदमा आकांक्षीको लर्को छ।

गोरखाकै भरतमणि देवकोटालाई पार्टी सभापति रविले महत्त्वपूर्ण पद दिन चाहे भने त्यसको असर सरकारमा रहेका स्वर्णिममा पर्न सक्छ। तर रास्वपा स्रोतका अनुसार तत्काल स्वर्णिम सुरक्षितजस्तै देखिएका छन्। यद्यपि उपसभापति चुनिन पहिला केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्छ।

‘पछि समायोजन भएका (प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह समूह) लाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ। उता (बालेन समूह) बाट आएकाहरूलाई सभापतिले मनोनयन गर्ने सम्भावना छ। स्थापना कालदेखिका नेताहरू प्रतिस्पर्धामा जानुपर्ने हुनसक्छ’, रास्वपाका एक नेताले नेपालखबरलाई सुनाए, ‘अहिले हेर्दा महामन्त्रीमा कविन्द्र स्वाभाविक दाबेदार हुन् तर प्रतिस्पर्धा चर्को हुने देखिएको छ। उपसभापतिका रूपमा स्वर्णिम दाइको देशभर प्रभाव छ भने महामन्त्रीका रूपमा कविन्द्रजीको पार्टी संगठनमा पहुँच हुने नै भयो। अहिलेसम्मको अवस्था हेर्दा गण्डकीबाट पदाधिकारीमा जाने यी दुई नै हुन्।’

ती नेताका भनाइमा केन्द्रीय सदस्यका आकांक्षी तथा कास्की-२ का सांसद उत्तमप्रसाद पौडेल पनि सहमत छन्।

‘रास्वपा अब आम जनताको आशा र भरोसाको केन्द्र बनेको छ। सत्तामा छ। स्वाभाविक रूपले पार्टी ठुलो हुँदा काम गर्छु भन्नेहरू धेरै हुन्छन्। अहिले केन्द्रीय सदस्य वा पदाधिकारीको चाहना राख्नेहरूको संख्या ठुलो देखिनुको कारण यही हो’, उनले नेपालखबरसँग भने, ‘काम गर्नसक्ने मान्छे नै पदमा पुग्नुपर्छ। स्वर्णिम दाइ र महामन्त्रीज्यूहरूको हकमा उहाँहरू कामले प्रमाणित भएको व्यक्ति नै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad