राजनीति


सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको अध्यक्षमा पोखरेल

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको अध्यक्षमा पोखरेल

नेपालखबर
माघ १९, २०७६ आइतबार ८:३,

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको अध्यक्षमा नवीन पोखरेल चुनिएका छन्।

जनयुद्धमा अभिभावक गुमाएका युवा तथा बालबालिकाको अगुवाईमा गठन भएको त्यस्तै सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको काठमाडौँमा शनिबार सम्पन्न प्रथम साधरणसभाले पोखरेललाई अध्यक्ष चुनेको हो।

त्यस्तै समितिका उपाध्यक्षमा ममता शर्मा र अंकित लोहनी, महासचिवमा अटल आचार्य, सचिवमा सामना श्रेष्ठ र कला अधिकारी एवं कोषाध्यक्षमा नग्मा माली चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा एकराज फुयाल, राजन राई, अञ्जली यादव, पविन कुमार ठाकुर, रोहन रिमाल, महेश श्रेष्ठ, सुजन सापकोटा, सर्मिला घर्तिमगर, सन्दीप पुन, जटिल कार्की, दीपशिखा नाथ, निमप्रकाश केसी, पूजा बुढा र जगत चलाउ चयन भएका छन्।

प्रथम साधरणसभाको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने दावी गरे।

मन्त्री पुनले आफूहरु संयोगले जनयुद्धबाट बाँचेर आएको भन्दै सहिदहरुको सपना बाँचेकाहरुले पूरा गर्नुपर्नेमा जोड दिए। आफ्नो पार्टी र सरकार जनयुद्ध तथा त्यसअघि र पछि भएका आन्दोलनका सहिदहरुका सपना साकार पार्न सक्रिय र प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयुद्धका सहिदलाई सहिद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेको बताए। उनले सो निर्णयलाई वर्तमान सरकारले राजपत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदको सूचीमा समावेश गर्ने काम छिट्टै गरिने प्रतिबद्धता जनाए। ‘लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदघोषणा गरिन्छ’, मन्त्री पुनले भने, ‘यो सरकारले त्यो काम गर्छ।’

फाउन्डेसनमा जनयुद्धको क्रममा शाहदत प्राप्त गर्ने र बेपत्ता हुने योद्धाहरुका सन्ततिलाई समेटिएको र यसलाई विस्तार गर्दै लाने अध्यक्ष पोखरेलले बताए। ‘जनयुद्धका क्रममा अभिभावकहरुले देश र जनताको पक्षमा गरेको बलिदानलाई सधैं स्मरणीय गराउन हामीहरुहरु संगठित भएको हौँ’, उनले भने, ‘राज्यलाई सहिद तथा बेपत्ता योद्धाहरुको योगदानको स्मरण गराउँदै अभिभावकविहीन बालबालिकाहरुको शिक्षादीक्षा र भविष्यका लागि अब फाउन्डेसनले पहल गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad