ad ad

राजनीति


बद्री न्यौपानेलाई आम जनता पार्टीले जिम्मेवारीबाट हटायो

बद्री न्यौपानेलाई आम जनता पार्टीले जिम्मेवारीबाट हटायो

नेपालखबर
मंसिर १३, २०८० बुधबार ७:१७, काठमाडौँ

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले नेता बद्रीप्रसाद न्यौपानेलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ। 

कांग्रेस, चुरे भावर, एमाले हुँदै आम जनता पार्टीमा प्रवेश गरेका न्यौपाने मन्त्री हुँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका पात्र हुन्।

पार्टीको मंगलबार सकिएको स्थायी कमिटी बैठकले न्यौपानेलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेकाले निर्दोष साबित नहुँदासम्मका लागि पार्टीको सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। 

केन्द्रीय प्रवक्ता चन्द्रभुषण साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले बद्री प्रसाद न्यौपानेलाई निर्दोष साबित नहुँदासम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको छ।’

भृकुटीमण्डमा फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले तत्कालीन महिला बालबालिका मन्त्री न्यौपानेलाई दोषी ठहर गरेको थियो। न्यौपाने तत्कालिन माओवादी नेता डा.बाबुराम भट्राई प्रधानमन्त्री हुँदा चुरे भावर पार्टीबाट मन्त्री बनेका थिए।

गएको फागुनमा विशेष अदालतले भृकुटी मण्डपको जग्गा प्रकरणमा न्यौपानेसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।

न्यौपानेसहित मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका कांग्रेस सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषद्‌का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र फनपार्क प्रमुख सञ्चालक रवीन्द्र गुरुङ दोषी ठहर भएका थिए। 

गुरुङ र न्यौपानेमाथि जनही ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी गरिएको छ। न्यौपानेलाई साढे ९ वर्ष जेल सजायसमेत तोकिएको छ। सजाय तोकिए पनि उनी पक्राउ परेका छैनन्। 

सर्लाही निवासी न्यौपाने गएको निर्वाचनमा एमालेबाट सांसद हुन नपाएपछि आम जनता पार्टीमा प्रवेश गरेका थिए। 

त्यतिबेला पार्टीको बागमती र गण्डकी प्रदेश तथा विदेश विभाग इन्चार्ज बनेका उनी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि पार्टीमा निस्क्रिय थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .