समाज


चलाउने सरको न्यायिक यात्रा : पीडक फुक्काफाल छन्, म डराईडराई हिँड्छु

चलाउने सरको न्यायिक यात्रा : पीडक फुक्काफाल छन्, म डराईडराई हिँड्छु

तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
मंसिर १३, २०८० बुधबार १०:४, काठमाडौँ

सर्वोच्च अदालतको मूल ढोकाअगाडिको सुन्दर बगैँचा। सुस्त हावाको झोँक्कामा नाचिरहेका फूलका थुङ्गा सयपत्री, गोदावरी र गुलाबका। सहरको हल्लाखल्ला नआइपुग्ने यो ठाउँमा पुग्दा लाग्थ्यो, यहाँ हर कसैको मन शान्त हुन्छ। तर, तिनै मुस्कुराइरहेका फूलहरुको बीचमा बसेर आँसु बगाइरहेका थिए प्रेम चलाउने। कुरा गर्दै जाँदा उनी बारम्बार भक्कानिन्थे र भन्थे, ‘न्याय माग्दा मैले हजार पटक मर्नु पर्‍यो।’

१६ वर्षअघि त्रिभुवन विश्वविद्यालय प्रवेश गर्दा उनले हृदयमा चैतन्य मिश्रलाई राखेका थिए। आफ्ना गुरु मिश्रलाई आदर्श मान्ने चलाउने उनीजस्तै शिक्षक बन्न चाहन्थे। राजनीति मन पर्दैनथ्यो। विश्वविद्यालयलाई राजनीति गर्ने थलो बनाइनु हुँदैन भन्थे। तर, सबैभन्दा धेरै राजनीति त्रिभुवन विश्वविद्यालयमै थियो। राजनीति गर्नेहरुको व्यवहारको असर पढ्ने सपना बोकेर आएकाहरुले पनि बेहोरिरहेको देख्दा चलाउनेको मन नमज्जाले दुख्यो। उनी यो बेथिति हो भनेर बोल्थे। यही बोलीका कारण उनले त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमै कयौँ पटक धाकधम्की सुनिसकेका थिए।

त्रिवि समाजशास्त्र विभागमा ताला लागेको लामो समय भैसकेको थियो। चलाउने सोही विभागका उपप्राध्यापक, आफ्नो विभागमा लागेको ताला खोल्ने प्रयासमा थिए। त्यही क्रममा २०७७ असोज २० मा उनीमाथि त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा सांघातिक हमला भयो। 

हमलापछि चलाउने अस्पताल भर्ना भएका थिए। उनका साथीहरुले चलाउनेलाई कुटपिट गर्ने नेपाल विद्यार्थी संघका पाँच जना कार्यकर्ताविरुद्ध जाहेरी लेखे। उनकी श्रीमती जाहेरी बोकेर कीर्तिपुर प्रहरीकहाँ पुगिन्। प्रहरीले कुटपिट गरेको प्रमाण माग्यो, जाहेरी लिनै मानेन। त्यसपछि उनकी श्रीमतीले महानगरमा गएर जाहेरी दर्ता गरिन्। 

महानगरबाट अगाडि बढेको उनको मुद्दामाथि सामान्य फैसला आउन ३ वर्ष समय लाग्यो। न्यायालयको चक्कर लगाउन थालेको ३ वर्षपछि गत बिहीबार काठमाडौं जिल्ला अदालतले उनीमाथि हमला गर्नेलाई दोषी ठहर गर्दै सजाय सुनायो। त्यसपछि चलाउनेले थोरै राहत महसुस गरे। 

तर, अदालतले न्यायका लागि लगाएको समय, यो समयमा उनले भोगेको मानसिक यातना, वरपरका मान्छेले लगाएको वचनले प्रेमको मनमा आँधी कुदिरहन्छ। 

‘त्यही आक्रमणका कारण मेरो शरीरमा २ पटक सर्जरी गर्नु पर्यो। आईसीयूमा बसेँ। लामो समय अरुको सहारामा हिँड्नु पर्यो। मैले शरीरको यो सबै दुखाइ भुलिसकेँ। मनमा लागेको चोट, जुन चोट यहाँको न्यायालयले दियो, सरकारका मान्छेले दिए, भुल्न खोज्छु सक्दिनँ,’ भक्कानिँदै प्रेमले अदालत परिसरमा सुनाए। 

उनलाई सबैभन्दा धेरै पीडा त त्रिविका विद्यार्थीले हमला गरे भनेर बनेका समाचारले दिन्छ। 

‘मैले पढाउने विभागमा लगाइएको ताला खुल्नुपर्छ भन्नु के मेरो गल्ती थियो? ताला लगाइएको दुई महिना भइसकेको थियो। संसारको कुन चाहिँ विद्यार्थीले आफू पढ्ने विश्वविद्यालयमा यसरी महिनौं, वर्षौं ताला लगाउन सक्छ?’ उनी प्रश्न गर्छन्, ‘ताला लगाउनेहरू विद्यार्थी थिएनन्। आपराधिक गिरोहको खेती थियो। उनीहरूको उदेश्य विश्वविद्यालयको दोहन थियो। ताला भय र आतंकको औजार थियो। सम्बन्धन, नियुक्ति, सरुवा, बढुवा र भागबन्डा लागू गर्ने औजार। त्यहाँ मेरिट, वरिष्ठता कतै पर्थेन। कुनै घटनाका माध्यमले उनीहरू तालाबन्दीको विरोधमा मुखर हुनेहरूका मुख थुन्न चाहन्थे ताकि धन्दा सजिलै चलिरहोस्। उनीहरु हरेक वर्ष कलेज भर्ना गर्ने तर पढ्न नआउने टुरिस्ट विद्यार्थी हुन्। मेरा विद्यार्थी त मसँगै मेरो न्यायका लागि आवाज उठाइरहेका थिए।’

न्यायको यो यात्रा निक्कै कष्टकर रहेको प्रेम सुनाउँछन्। उनलाई अहिले पनि अज्ञात व्यक्तिहरुले पछ्याउन छाडेका छैनन्। 

भन्छन्, ‘बाटोमा हिँड्दा म डराइ–डराइ हिँड्छु। घरमा बस्दा पनि ढुक्कले बस्न सक्दिनँ।’ मानसिक रुपमा विक्षिप्त बनेका उनी अदालत परिसरमा हामीसँग कुरा गर्दागर्दै पनि टोलाउँथे। 

‘म कहाँ मान्छे रहेँ र! देशको सुदूर कुनाबाट शिक्षाको उज्यालो बाँड्ने सपना बोकेर काठमाडौं आएको एउटा भुइँ–मान्छेका विरुद्ध यो देशको राज्यसत्ता लाग्यो। देशका प्रधानमन्त्री, कानुनमन्त्री सबैले प्रेम चलाउने अन्यायमा परेको होइन। ऊ नक्कली घाइते हो समेत भने,’ उनले गुनासो गरे, ‘तपाईं कल्पना पनि गर्न सक्नु हुन्न यो सब मैले कसरी सुनेँ र सहेँ। गरिखाने एउटा मान्छेलाई राज्यसत्ताको आडमा सडकमा ल्याइएको छ। म लेख्ने पढ्ने काम छोडेर अदालतको चक्कर काटिरहेको छु।’

शान्त स्वभावका प्रेम यही घटनाले आफूलाई रिसाहा बनाएको बताउँछन्। मन्त्रिपरिषदको बैठकले प्रेममाथि कुटपिटको गर्नेको मुद्दा फिर्ता लिने निर्णय गर्यो। सरकारको निर्णयको विरोध गर्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा समेत लियो। 

‘अन्यायमा परेको एउटा मान्छेले मलाई न्याय देऊ भन्दा प्रहरीको गिरफ्तारीमा पर्नु पर्यो। मलाई मानिसहरुले अपराधिलाई झैँ हेरे,’ बोल्दाबोल्दै प्रेम विह्वल हुन्छन्।

गएको तीन वर्षमा आफूले धेरैथोक गुमाएको उनको भनाइ छ।

‘सबैभन्दा ठूलो कुरा त मैले आफ्नै देशका अभिभावकको भरोसा गुमाएँ,’ प्रेमले लामो सुस्केरा हाले। न्यायालय, हरेक न्यायिक निकायले दिएको पीडा एकातिर छ, परिवारले आफ्नो कारण पाएको त्रास र भयको खत अर्कोतिर दुख्छ।।

‘म त ज्यूँदो लास भैहालेँ, मेरा आफन्त पनि हरेक क्षण त्रासमा बाँचेका छन्। उनीहरुले कयौँ पटक रुँदै यो लडाइँ छोड्, न्याय माग्दा माग्दै तिमी थाक्ने छौँ। थाकेको दिन तिम्रो आत्मसम्मानमा झन् धेरै चोट लाग्ने छ। तिमी मर्छौ भने। साथीहरुले पनि राज्य लागेपछि कसैको केही लाग्दैन। तिम्रो पनि केही लाग्दैन भने। म हरेकचोटि मर्थेँ,’ उनले भने, ‘यो राज्य मेरो होइन रहेछ।’

पटकपटक मुद्दा फिर्ता लिन दबाब आउँथ्यो। आफ्नाहरुको चिन्ता उस्तै थियो। प्रेम समस्यै समस्यामा परे। उनलाई कयौं पटक न्यायको यो लडाइँ त्यागेर देशै छोडेर हिँड्ने सोच नआएको होइन। तर, उनी भाग्न सकेनन्।

यो लडाइमा थोरै मानिस थिए, जसले उनलाई हिम्मत दिए। आँट दिए। त्यही आँटको भरमा प्रेमले ३ वर्ष लामो समय अदालत, मानव अधिकार आयोग, प्रहरी प्रशासन लगायतको चक्कर काटे। शिक्षण गरेर सामान्य जीवन बाँचिरहेका प्रेमले आर्थिक रुपमा पनि थुप्रै हण्डर झेल्नु पर्यो। भन्छन्, ‘कति दिन त चिया खाने पैसा पनि नभएर भोक–भोकै हिँडेको छु।’

अहिले जिल्ला अदालत काठमाडौँले पीडकलाई २ वर्षको कैद सुनायो। तर, प्रेमलाई न्याय पाएको महसुस भएको छैन। भन्छन्, ‘उनीहरुलाई जेल चलान नगर्दासम्म मैले कसरी न्यायको महसुस गरौं? उनीहरुलाई प्रहरीले पक्राउ गरेर जेल हाल्छ भन्ने कुरामा म विश्वस्त हुन सकेको छैन।’

उनलाई हिजोआज आफ्नै जिन्दगीको माया लाग्न छोडिसक्यो। 

‘अपराधी बचाउन आन्दोलन हुन्छ। अपराधीलाई फूलमाला गरिन्छ। चरणचरणमा उनीहरुलाई छोडिन्छ। छुट्ने निश्चित भइसकेपछि योजनाकारहरू दुई महिनापछि अदालतमा देखा पर्छन्। श्राद्घमा बिरालो बाँध्नेजस्तै एउटा संस्कार हुन्छ र उनीहरू पनि छुट्छन्। त्यो तहको अपराध गर्नेहरू यसरी छुट्दै जान्थे, म ज्यूँदै मरिहरन्थे,’ उनी भन्छन्, ‘लामो संघर्षपछि अदालतले पीडक उपर सजाय सुनाउँछ। उनीहरु फुक्काफाल हिँडिरहेका छन्। कोही देशबाहिर पुगेका छन्। म आफू चाहिँ डराइडराइ हिँडिरहेको छु। न्याय माग्न गाह्रो रहेछ। पीडितले हरेकचोटि मर्नु पर्ने रहेछ यो देशमा।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .