ad ad

राजनीति


परराष्ट्रमन्त्री र अमेरिकी समकक्षीबीच भेटवार्ता, नेपाल-अमेरिका सम्बन्ध विस्तारमा जोड

परराष्ट्रमन्त्री र अमेरिकी समकक्षीबीच भेटवार्ता, नेपाल-अमेरिका सम्बन्ध विस्तारमा जोड

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १०:१२, काठमाडौँ

अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ता भएको छ।

सोमबार वासिङटन डीसीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्बन्धलाई थप विस्तार, साझेदारी सुदृढीकरण,  मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना कार्यान्वयन, अक्टोबर ७ मा हमासको आक्रमणबाट १० नेपालीको मृत्यु तथा विकासका प्राथमिकतामा अमेरिकाको थप सहयोगबारे कुराकानी भएको छ। 

वासिङ्टनस्थित नेपाली दूतावासका अनुसार परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच विकास सहयोग, व्यापार र बजार पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायत द्विपक्षीय सम्बन्धका विविध एजेन्डाबारे छलफल भयो। 

दुई नेताबीच साझा सरोकारका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान भएको थियो। 

मन्त्री साउदले व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरेको दूतावासले जनाएको छ।

उक्त अवसरमा उनले नेपालका लागि नयाँ निर्यात योग्य वस्तु थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटीपीपी) र जेनरलाइज सिस्टम फर प्रिफरेन्स (जीएसपी) सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न अमेरिकालाई अनुरोध गरे।

भेटवार्तामा दुवै पक्षले एमसीसीअन्तर्गतका आयोजना समयमै कार्यान्वयन गर्नेमा जोड दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

यस्तै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले नेपालले लोकतान्त्रिक शासनको सुदृढीकरणमा गरेको प्रगतिको प्रशंसा गरे। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ब्लिन्केनले परराष्ट्रमन्त्री साउदलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिनुभयो।’

उक्त द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट मन्त्री साउदसँगै राजदूत श्रीधर खत्री र परराष्ट्र मन्त्रालय र नेपाली दूतावासका उच्च अधिकारीहरु सहभागी थिए। यस्तै अमेरिकाका तर्फबाट मन्त्री ब्लिन्केनसँगै नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र विदेश मन्त्रालयका वरिष्ठ अधिकारी पनि थिए।

हेर्नुहोस् विज्ञप्ति-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .