ad ad

राजनीति


नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न बेलायतलाई आग्रह

नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न बेलायतलाई आग्रह

रासस
कात्तिक १४, २०८० मंगलबार १०:३२, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लन्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ। 

भेटका क्रममा अर्थमन्त्री डा महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरे। उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत अनुरोध गरे।

त्यसैगरी उनले बेलायतका तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिरहेको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गरेको अर्थमन्त्री डा. महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ।

ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गरिरहेको र यसलाई निरन्तरता दिने बताए।

उनले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताए।

भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनाल पनि सहभागी भएका थिए। 

लन्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्च्स्तरीय सम्मेलनमा भाग लिन त्यहाँ पुगेका मन्त्री डा. महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउन्डेसनको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तर्क्रियामा सहभागी भएका थिए।

सो क्रममा मन्त्री डा. महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने बताउँदै वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिए। उनले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङको प्रक्रिया सुरु भइसकेको जानकारी पनि दिए।
 
डोल्मा फाउन्डेसनका टिम गोचर र जापनिज बैंक एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रिन बन्डको बारेमा आफ्नो धारणा राखेका थिए। 

यसैगरी स्टान्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राखेका थिए। राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .