ad ad

राजनीति


माओवादीले देशको अगुवाइ नगरेको भए युक्रेन बनिसक्थ्यो : महासचिव गुरुङ

माओवादीले देशको अगुवाइ नगरेको भए युक्रेन बनिसक्थ्यो : महासचिव गुरुङ

नेपालखबर
असोज २९, २०८० सोमबार १९:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रचण्डको नेतृत्वमा आफ्नो पार्टीले पहल नगरेको भए अहिले देश युक्रेन भइसक्ने दाबी गरेका छन्।

जनप्रगतिशील मञ्चद्वारा बेलायतस्थित अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाडपर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले यस्तो बताएका हुन्।

‘तेस्रो दल भए पनि अहिले मुलुककै नेतृत्व गर्ने अभिभावकीय जिम्मेवारीमा माओवादी छ। मुलुकको अगुवाइ माओवादीले गरिरहेको छ। यतिखेर माओवादीले यो भूमिका नखेलेको हुँदो हो त यतिखेर नेपालमा विदेशी सेनाले परेड खेल्ने ठाउँ बन्थ्यो,’ महासचिव पोखरेलले भने।

समाजवाद स्थापना गर्नका लागि पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको उनले बताए।

‘पहिलो नेपालको राष्ट्रिय राजनीतिमा समाजवादी क्रान्तिको विकल्प छैन। अथवा समाजवादी सत्ता स्थापना गर्नुको विकल्प छैन। त्यसका लागि हामीले दुईवटा गौंडा पार गर्नुपर्छ,’ उनले भने, ‘पहिलो सामन्तवादको नेतृत्व गरिरहेको राजतन्त्र फ्याँकेर एउटा गौंडा पार गरिएको छ। दोस्रो गौंडा भनेको बाँकी छ।’

उनले समाजवाद स्थापनाका लागि दुईवटा गौंडा रहेको र पहिलो गौंडा जनयुद्धको बलमा सामन्तवादी निरंकुश सत्ता फ्याँकेर जनताको सत्ता ल्याएपछि पूरा भएको जिकिर थरे। 

‘समाजवादी क्रान्तिका लागि विदेशीको थिचोमिचोका गम्भीर चुनौती हो। यो समस्या नपञ्छाइकन समाजवादी क्रान्ति सम्भव छैन,’ उनले भने।

उनले माओवादी जनयुद्धले सामन्तवादीहरुको निरंकुश सत्ता फ्याँके पनि समाजवादका लक्ष्यमा जानका लागि आधारभूत रूपमा नै बाँकी रहेको बताए। 

सम्पूर्ण कम्युनिस्ट शक्ति, देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवादतर्फ जान सकिने पनि महासचिव गुरुङले बताए।

‘समाजवादी लक्ष्य पूरा गर्नका लागि सम्पूर्ण कम्युनिस्टहरू, देशभक्त तथा गणतन्त्रवादीहरू मिल्नुको विकल्प छैन तर त्यसभन्दा पहिला मेचीदेखि महाकालीसम्मका समाजलाई एकताबद्ध गर्न जरुरी छ,’ महासचिव गुरुङले भने।

उत्पीडित जाती, क्षेत्र, समुदाय लगायतको मुक्ति विना समाजवादमा जान नसकिने र त्यसको मुक्ति दिने काम माओवादीले मात्रै गर्ने पनि उनले दाबी गरे।

‘भ्रष्टाचारविरोधी अभियान सुरु गरेकाले धेरैलाई पचेको छैन। जनताको व्यापक समर्थनले मात्रै प्रचण्ड सरकार टिकेको छ। यो सरकार कुनै पनि हालतमा टिकाउनु छ,’ उनले भने, ‘भ्रष्टाचार विरोधी अभियानमा जनतालाई ठीक ढंगले सम्प्रेषण गर्न सकियो भने जनताले साथ दिन्छन्। जनताको साथ र समर्थनले तेस्रो दल, सानो दल भएको भएता पनि ठूला दलहरूलाई कुनै न कुनै रूपमा मिलाउँदै मिलाउँदै, राष्ट्रिय सहमति भन्दै भन्दै अहिले मुलुकको नेतृत्व गरिरहेका छौं।’

अहिले माओवादी प्रति जन विश्वास बढेर गएको पनि महासचिव गुरुङको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .