ad ad

राजनीति


‘भैंसेपाटी गठबन्धन’ भत्काउन ओलीको यस्तो कसरत

‘भैंसेपाटी गठबन्धन’ भत्काउन ओलीको यस्तो कसरत

नेपालखबर
माघ १२, २०७६ आइतबार ८:१५,

त्रिपक्षीय शक्ति सन्तुलन रहेको सत्तारुढ नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक छलफल तीब्र बनाएका छन्। सभामुख चयन प्रकरणमा असफल भएपछि उनले पार्टीभित्र अप्ठेरोमा परेको निष्कर्षसहित अनुकुल वातावरण बनाउन प्रयास अघि बढाएका हुन्।

गत महिना सचिवालय सदस्य वामदेव गौतमको भैंसेपाटीस्थित घरमा सचिवालयका नौ मध्ये पाँच नेता बसेपछि झस्किएका ओली फेरि उनीहरुलाई फुटाएर आफ्नो शक्ति सुदृढ गर्ने योजनामा लागेका छन्। नेकपा सचिवालय र स्थायी समितिका केही नेताहरूका अनुसार यही अभियान अन्तर्गत ओलीले उक्त बैठकमा सहभागीमध्ये तीन नेतासँग अलगअलग कुराकानी गरेका छन्।

आफूलाई घेराबन्दीमा पारेर ‘पार्टी तथा संसदमा बहुमतमा नरहेको सन्देश दिइएको’ भन्दै ओलीले बिहीबार बरिष्ठ नेता झलनाथ खनालसँग चार घण्टा लामो गुनासो सुनाएका थिए।

‘मलाई अप्ठेरो पार्न कोसिस गरिएको छ, बहुमत छैन भनेर देखाउन खोजिएको छ। यसबाट के सन्देश दिन खोजिएको हो भन्ने मैले बुझेको छु। म पनि यत्तिकै बस्दिनँ’, ओलीको भनाइ उद्धृत गर्दै खनालले आफू निकट नेताहरुलाई सुनाएका छन्।

ओली प्रधानमन्त्री भएपछि खनाललाई बोलाएर यसरी लामो कुराकानी गरेको पहिलो पटक हो। विगतमा खासै मतलब नगर्ने ओलीले बोलाएपछि बिहीबार १० बजे बालुवाटार पुगेका खनालले आफूलाई वेवास्ता गरिएको भन्दै गुनासो गरेका थिए।

बालुवाटार स्रोतका अनुसार भैंसेपाटी बैठक लगत्तै प्रधानमन्त्री ओलीले सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई निवासमै बोलाएर बैठकका बारेमै दुई घण्टा कुरा गरेका थिए। त्यसक्रममा ओलीले बैठकमा के के कुराकानी भयो भनेर जिज्ञासा राख्नुका साथै ‘आफ्ना विरुद्ध त्यसरी बैठक बसेको’ भन्दै आक्रोश पोखेका थिए।

श्रेष्ठ निकट नेताहरूले बताए अनुसार पार्टीमा सबैलाई मिलाएर लैजान खोजेपनि आफूलाई सबै मिलेर अप्ठेरोमा पार्ने गरेको गुनासो ओलीले गरेका थिए। श्रेष्ठलाई राष्ट्रियसभा सदस्य बनाएका कारण उनी नरम हुने अपेक्षा ओलीको रहेको स्रोतहरूले जनाएका छन्।

प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालका हाराहारीका समूहहरु रहेको नेकपामा कुनै दुई नेता एक ठाउँमा उभिँदा अर्को नेता स्वतः अल्पमतमा पर्ने गणित छ। अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालबीच पछिल्ला दिनमा निकटता बढेपछि ओली थप दबाबमा परेका छन्। यसबीचमा दाहाल र नेपालबीच पटकपटक वार्ता हुनुका साथै दोस्रो तहका केही नेताहरुसमेत बसेर खुमलटारमा डिनरसहित सहमति भएको सूचना बालुवाटार पुगेको छ।

बरिष्ठ नेता नेपाललाई विगतदेखि नै किनारा लगाउँदै आएका प्रधानमन्त्री ओलीलाई यसबाट थप घाटा भइरहेको विश्लेषण उनी निकट नेताहरुको छ। दाहाललाई साथमा लिने र नेपाललाई किनारा लगाउने नीति अख्तियार गरेका ओली बेलाबेलामा पार्टीमा दाहाल हावी हुँदा झस्किने गरेका छन्।

दाहाल र नेपालबीच कुनै थप सहमति भएमा ओली स्वतः अप्ठेरोमा पर्ने देखिन्छ। दाहाल र नेपाल मिलेमा पार्टीको केन्द्रीय सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका साथै संसदीय दलमा स्वतः बहुमत पुग्छ।

निशानामा दाहाल
पछिल्लो समय ओली र दाहालबीच विषयवस्तुमा मत मात्रै बाझिएको छैन, कटुतासमेत बढेको छ। स्रोतका अनुसार, बालुवाटारमा बोलाइएका नेताहरुसँग प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको चर्को आलोचना गर्ने गरेका छन्।

दाहाललाई आफूले विश्वास गरेर कार्यकारी अधिकारसहितको अध्यक्ष स्वीकार गरे पनि उनले आफूलाई असहयोग गर्ने गरी गुटबन्दी र भेला गर्दै हिँडेको भन्दै ओलीले ‘म पनि हेरौँला’ भन्ने गरेको नेताहरूले सुनाउने गरेका छन्।

ओली निकट स्थायी समितिका एक नेता भन्छन्, ‘अहिले प्रधानमन्त्रीलाई अप्ठेरोमा पार्न खोजिएको छ, यस्तै गर्ने हो भने त जसले जसलाई पनि अप्ठेरोमा पार्न सक्छ नि।’

आफूले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर पुराना मुद्दाहरु सल्टाउनका लागि कोसिस गरे पनि दाहालले ‘पार्टीभित्र बहुमत जुटाएर द्वन्द्वकालीन मुद्दासँग जोडिएका अग्नि सापकोटालाई सभामुख बनाउन बाध्य बनाएको’ भन्दै ओलीले यसबाट दाहाललाई नै अप्ठेरो पर्ने बताउने गरेको ओली निकट स्थायी समितिका अर्का एक नेताले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .