ad ad

कारोबार


लिखु खोला जलविद्युतमा किन गुनासो गर्दै छन् स्थानीयबासी?

लिखु खोला जलविद्युतमा किन गुनासो गर्दै छन् स्थानीयबासी?

नेपालखबर
माघ १२, २०७६ आइतबार ८:२६,

रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधीन ३ वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। व्यापारिक घराना दुगड ग्रुपको लगानीमा निर्माण भएको परियोजनाबाट १ सय ५७ मेगावाट विद्युत उत्पादन हुनेछ। तर आयोजना निर्माणका क्रममा कम्पनीले त्यस क्षेत्रका समस्या र स्थानीयहरुको मागलाई बेवास्ता गर्दै आएको स्थानीयहरुको गुनासो छ।

रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा पाँचवटा जलविद्युतय परियोजना निर्माणाधीन छन्। त्यसमध्ये ‘लिखु–१, २ र ए’मा व्यवसायिक घराना दुगड ग्रपको लगानी छ। करिब २१ अर्ब लगानीमा निर्माण भइराखेको तीनवटै परियोजनाको निर्माण कार्य अवको एक वर्षमा सकिँदै छ । तीनवटै परियोजनामा १५ किलोमिटर सुरुङमार्ग छ। त्यसमध्ये १२ किलोमिटर खन्ने काम सकिएको छ । यो परियोजना एक वर्षभित्रमा सकिए सबैभन्दा छोटो समयमा सम्पन्न हुने जलविद्युत परियोजना हुने छ । दुगड ग्रुपका प्रवन्ध निर्देशक विवेक दुगडले ‘लिखु ए’ को निर्माण आगामी जुलाई सम्म सकिने र केन्द्रीय ग्रीडलाइनमा जोडने तयारी भइरहेको बताए। त्यस्तै ‘लिखु १ र २’ पनि एक वर्ष भित्रमा सम्पन्न हुनेछन्।

परियोजनाको काम तीव्र गतिमा भएसँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले परियोजनाहरुको स्थलगत अवलोकन गरेका छन्। सो अवसरमा मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा छिटो काम सम्पन्न गर्ने आयोजना बन्नु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले लिखु खोलामा साढे २१ अर्ब लगानी आएको भन्दै उक्त पैसालाई कसरी स्थानीय स्तरमै राख्न सकिन्छ भन्नेमा स्थानीयहरुको ध्यान जानुपर्ने बताए। आयोजनाले स्थानीय जनताको आर्थिक स्थितिमा सुधार ल्याउन सहयोग पु¥याउने भएकाले अवरोध नगरी काम गर्न दिनुपर्ने उनले बताए। त्यसका लागि स्थानीय जनप्रतिनिधि र राजनीतिक व्यक्तिहरुले पहल गरी स्थानीयको समस्या समाधानमा लाग्नुपर्ने बताए।

तर स्थानीयहरुले भने परियोजनाले आफुहरुका समस्या समाधानमा चासो नदिएको भन्दै मन्त्री पुनलाई ज्ञापन पत्र बुझाएका छन् । स्थानीयहरुले परियोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्नुपर्ने काम र स्थानीयका समस्या समाधानमा चासो नदिएको बताएका छन् । उनीहरुले सुरुङबाट निष्किएको मकिनको व्यवस्थापन सुरक्षित नगरिएको र घातक तरलपदार्थ खोलामा सिधै मिसाउँदा मानव स्वास्थ्यमा प्रभाव परेको भन्दै क्षतिपूर्तिको माग गरेका छन्। त्यस्तै आयोजनाबाट उत्पादन हुने विद्युतबाट पाँच मेगावाट स्थानीयलाई वितरण गर्नुपर्ने र प्रत्येक प्रभावित घरधूरीलाई कम्तीमा पनि दुई सय कित्ता सेयर निःशुल्क दिनुपर्ने माग स्थानीयको छ । उनीहरुले आयोजनाले निर्माण गरेको सडक पनि दीर्घकालीन नभएको बताएका छन्।

जनप्रतिनिधिहरुले पनि स्थानीयको समस्या र मागमा आयोजनाले चासो दिनुपर्ने बताएका छन्। सांसद हेमकुमार राईले आयोजना निर्माण हुनुभन्दा पहिला गरिएका प्रतिवद्धताहरु कार्यान्वयन भएका छन् या छैनन् त्यसको जानकारी स्थानीयलाई गराउनुपर्ने बताए।

दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले भने सामुहिक रुपमा हुने माग फरक भएको तर व्यक्तिगत रुपमा कुनै पनि स्थानीयको समस्या नरहेको बताए। उनले अहिलेसम्म लिखित रुपमा के कस्ता समस्या हुन आयोजनामा नआएको समेत बताए। उनले लिखित रुपमा समस्या आए बसेर छलफल गरी समाधान गर्न आफु तयार रहेको समेत बताए।

मन्त्री पुनले आयोजनाले निर्माण गरेको एक पुलको उद्घाटन समेत गरे। सो अवसरमा उनले निजी क्षेत्रबाट निर्माण भएको ठुलो परियोजना भएकाले स्थानीयका समस्या समाधानमा सरकारले पनि चासो दिएको बताए। उनले ठूलो लगानी गर्दा फाइदाको हिस्सा स्थानीयमा पनि जानेगरी व्यवस्थापन गर्न आयोजनालाई आग्रह समेत गरे। दुगड ग्रुपले निर्माण गरिरहेको ‘लिखु १’ ७७ मेगावाट, ‘लिखु २’ ५५ मेगावाट र ‘लिखु ए’ २९.०४ मेगावाट क्षमताको रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .