जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने पृतनापति समन्वयात्मक बैठक–२०८० आज (भाद्र २२ गते) सम्पन्न भएको छ।
समापनको अवसरमा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले बैठकले समग्र देशको परिस्थितिलाई बुझेर आईपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताए।
आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन बैठक सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्दै प्रधान सेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी उपलव्धिहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिए। उनले बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाईसम्म प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सहभागीहरुलाई निर्देशन दिए।
प्रधान सेनापतिले अनुशासन तथा जवाफदेहिताको महत्त्वबारे सहभागीहरुलाई स्मरण गराउँदै सम्बद्ध निकायहरुसँग प्रभावकारी समन्वय राख्दै प्राप्त सबै जिम्मेवारी स्तरीय ढंगले निर्धारित समयमा पूरा गर्न निर्देशन दिए।
नेपाली सेना, नेपाली जनताको आस्था र भरोसाको धरोहर हो भन्ने कुरालाई मनन् गर्दै जनताको यो विश्वासलाई कायम राखी रहन संस्थाका सबैले व्यक्तिगत तथा सामुहिक ढंगले प्रयत्न गरिरहने कुरामा आफू विश्वस्त रहेको कुरा बताए।
पृतनापतिहरुलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिहरुको उपस्थिती रहेको उक्त समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र छलफलबाट प्राप्त राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ।
Shares

प्रतिक्रिया