राजनीति


एमालेले अबदेखि केपी ओलीको मात्रै फोटो राख्ने निर्णय गरेको हो?

एमालेले अबदेखि केपी ओलीको मात्रै फोटो राख्ने निर्णय गरेको हो?

फाइल तस्बिर


नेपालखबर
साउन ३२, २०८० बिहिबार १८:३०, काठमाडौँ

यही सोमबार बसेको नेकपा एमाले सचिवालय बैठकले पार्टीको नेतृत्वमा रहेकाहरुदेखि तलका कार्यकर्तासमेत समान रहेको सन्देश दिने गरी एउटा निर्णय गर्‍यो। 

जसलाई एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णयका रुपमा सार्वजनिक गरे।

त्यसपछि बिहीबार एमालेका उपमहासचिव विष्णु रिमालले ओलीकै भनाइलाई पुष्टि गर्ने गरी सोमबारको सचिवालय बैठकका केही निर्णय बुँदागत रुपमा खुलाए।

पार्टीका कार्यक्रम व्यवस्थापनसम्बन्धी रिमालले सार्वजनिक गरेका ५ निर्णयमध्ये पहिलोमा भनिएको छ, ‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी तथा जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने।’

यही निर्णयलाई लिएर अहिले एमालेभित्रै र बाहिरका मानिसहरुले पनि सामाजिक सञ्जालमा विभिन्न तर्क गरिरहेका छन्। 

कसैले एमालेलाई ओलीले आफ्नो कम्पनी बनाउन खोजेको आरोप लगाएका छन् भने कसैले कार्यक्रम व्यवस्थापनसम्बन्धी नयाँ निर्णयलाई प्रशंसा गरेका छन्।

एमालेको यो निर्णयमा अनेक क्रिया प्रतिक्रिया आइरहेका बेला ओलीको मात्रै फोटो राख्ने कुरा उनलाई सर्वेसर्वा बनाउनेका रुपमा पनि व्याख्या गरिरहेका छन्। 

तर एमाले नेताहरुले पार्टी कार्यक्रमहरुमा ओलीको मात्रै फोटो राख्ने निर्णय नभएको बताएका छन्। 

एमालेको सार्वजनिक कार्यक्रम व्यवस्थापनबारे ओलीको मात्रै फोटो राख्ने निर्णय नभएको केन्द्रीय सदस्य रचना खड्काले बताएकी छन्। 

उने कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालसहितका नेताहरुको पनि फोटो राखिने बताएकी छन्। 

‘कमरेड पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटोको सट्टामा कमरेड अध्यक्षको फोटो राख्ने भनिएको होइन। उहाँहरु ३ नेताको फोटो रहन्छ’, उनले भनिन्, ‘उहाँहरुबाहेक अचेल कार्यक्रमका ब्यानरहरुमा धेरैको फोटो राखेर ब्यानर बनाउने चलन बढेकोले राख्नु पर्दा अध्यक्षको राख्ने र फोटोको प्रयोगलाई भद्दा नबनाउने भनिएको मात्रै हो।’

एमालेले सोमबार नै अबदेखि पार्टीका कुनै पनि कार्यक्रममा आसन ग्रहण नगराउने र नेताहरुलाई पनि दर्शक दीर्घामा राख्ने निर्णय लिएको थियो। 

यी हुन् निर्णय
१. कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने।

२. मञ्चको प्रयोग वक्ताले मात्र गर्ने।

३. अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने।

४. कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने।

५. कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad