राजनीति


सञ्चार गृह घेरेर सत्यको आवाज कहिल्यै थुनिँदैन: रास्वपा सांसद परियार

सञ्चार गृह घेरेर सत्यको आवाज कहिल्यै थुनिँदैन: रास्वपा सांसद परियार

नेपालखबर
असार ३०, २०८३ मंगलबार १४:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक प्रकाशचन्द्र परियारले सञ्चार गृहलाई धम्क्याउने गतिविधिको निन्दा गरेका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक परियारले नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको स्मरण गराए। ‘​हिजो राजधानीका अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर, भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको कडा शब्दमा भर्त्सना गर्दछु,’ परियारले भने। 

उनले सत्यसँग डराउनेहरूले यस्ता हर्कत गर्ने गरेको जिकिर गरे। ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने– सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्न खोज्नु जस्तै हो,’ परियारले भने, ‘सञ्चार गृह घेरेर सत्यको आवाज कहिल्यै थुनिँदैन भन्नेमा मलाई विश्वास छ।’

नेपाली पत्रकारिताले अहिलेसम्म कसैसँग नझुकेको स्मरण गराए। ‘हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे। त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई-चार वटा गाडी तेर्स्याएर तर्सिन्छ र?,’ उनले प्रश्न गरे, ‘ओखलीमा टाउको हालेपछि मुसलको के डर भने झैँ, जस्तोसुकै संकटमा पनि निर्भीक भएर उभिएको इतिहास कहाँ भूल्न सकिन्छ र?’

नेपाली पत्रकारितालाई कसैले सडकमा अवरोध खडा गरेर गलाउने दिवास्वप्न नदेख्न चेतावनी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैँ उभिएको उनले बताए। 

‘हामी सत्तामा छौँ भन्दैमा वा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस,’ परियारले भने, ‘आफू नमरी स्वर्ग देखिँदैन भने झैँ, लोकतन्त्रको रक्षाका लागि हामी आफैँ अग्रसर भएर प्रेस स्वतन्त्रताको प्रतिरक्षा गर्न तयार छौँ।’

उनले सबै सञ्चार गृह​ र पत्रकारको निर्बाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति गराउन सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad