ad ad

राजनीति


विश्वप्रकाश पुत्री स्वीकृति जब केपी ओलीलाई भेट्न बालकोट पुगिन्

बुवाको मुख हेर्ने दिन ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्ने
विश्वप्रकाश पुत्री स्वीकृति जब केपी ओलीलाई भेट्न बालकोट पुगिन्

बालकोटमा स्वीकृति र ओलीबीच देखिएको आत्मीयता। तस्बिर : एड टक्सको टिकटकबाट


नेपालखबर
साउन १७, २०८० बुधबार १६:५६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जिल्ला एकै हो-झापा।

फरक दलको नेतृत्वमा रहे पनि यी दुई नेताबीच आत्मीय सम्बन्ध रहने गरेको छ। २०७९ को दसैंमा महामन्त्री शर्मा र ओलीबीच भेटघाट गरेर सौहार्दता प्रकट गरेका थिए।

२०७९ मंसिरको चुनावमा विश्वप्रकाश झापा १ बाट विजयी हुँदा ओलीले आफ्नो पुरानै क्षेत्र झापा ५ बाट सजिलै जित निकाले।

निर्वाचनमा पनि सकेसम्म यी दुई नेताहरु एक अर्कालाई क्षति नपुर्‍याउने गरी मैदानमा उत्रिन्छन्। विश्वप्रकाश हत्तपत्त झापा ३ मा पुग्दैनन्। ओली पनि शर्माप्रति तुलनात्मक रुपमा नरम देखिन्छन्।

तर कहिलेकाहीँ यी नेताहरुबीच एकअर्कामा घोचपेच पनि चलिरहन्छ। यस्तै घोचपेच शर्माले ओलीविरुद्ध साउन १३ मा गरेका थिए। उनले एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको भन्दै कटाक्ष गरेका थिए। 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिको कार्यक्रममा बोल्दै उनले ओली र एमाले युवा नेताहरुप्रति कटाक्ष कसेका थिए। 

कांग्रेसका युवाहरुले आफ्नो सन्देश दिन सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिष्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरुमा अध्यक्ष ओलीसँग प्रतिष्पर्धाका लागि साहस गर्ने आँट नभएको भन्दै शर्माले व्यंग्य कसेका थिए। 

दुई अलग पार्टीका नेताबीच घोचपेच चलिरहँदा झापामा भने उनीहरुको अघोषित सहकार्य रहेको दुवै पार्टीका नेता कार्यकर्ता बताउँछन्। 

झापा ३ मा कांग्रेस नेता कृष्ण सिटौलाविरुद्ध ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाइरहन्छन्। 

एमालेकै साथका कारण लिङ्देन विजयी भइरहँदा सिटौला भने लगातारको हारबाट राजनीतिको कुनातिर परेका छन्। 

तर महामन्त्री शर्मा र ओलीबीच पारिवारिकस्तरमै निकटता छ। त्यही निकटता र सामिप्यतालाई पुष्टि गर्ने दृश्य मंगलबार बालकोटमा देखियो। जहाँ शर्माकी कान्छी पुत्री स्वीकृतिसहितको एउटा टोली पुगेको थियो।

त्यसबेला ओली बालकोटमा टेबलटेनिस खेलेर ज्यानमा स्फूर्ति भर्न व्यस्त थिए। टेबलटेनिस खेलिसकेपछि ओलीले स्वीकृति सहित एड टक्सको टोलीलाई समय दिए। 

एड टक्सका लागि टोलीका अन्य सदस्यहरुसहित पुगेकी स्वीकृतिले ओलीलाई ‘बा’ भनेर सम्बोधन गरिन्। 

त्यसपछि स्वीकृति र एड टक्सले टिकटकमा सार्वजनिक गरेका भिडिओमा ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्ने पनि जानकारी दिइएको छ।

एमालेका धेरै नेता कार्यकर्ताले ओलीलाई बा भनेर सम्बोधन गरिरहँदा विश्वप्रकाश पुत्री स्वीकृतिसहितको टोलीले ओलीलाई ‘बासँग विद्यार्थी’कार्यक्रममा प्रस्तुत गर्ने भएका छन्। 

ओलीलाई बालकोटमा ‘बा’ नामले नै सम्बोधन गरेकी स्वीकृतिले अब यही भदौ २८ गते ‘बासँग विद्यार्थी’कार्यक्रम गर्न लागिएको पनि जानकारी दिइन्। 

खासमा भदौ २८ गते बुवाको मुख हेर्ने दिन पनि हो। त्यही दिन स्वीकृतिसहितले उक्त कार्यक्रमका लागि ओलीलाई निम्तो पनि दिए। 

उक्त भेटघाटपटि एड टक्स र स्वीकृतिले बनाएको टिकटक भिडिओ ओलीले बुधबार आफ्नो फेसबुक पेजमा पनि अपलोड गरेका छन्। 

‘हिजो एड टक्स शो का लागि भनेर नानीबाबुहरु आएका थिए। उनीहरूका नयाँ नयाँ कुरा सुनाए, मलाई प्रश्न गरे’, उनले भनेका छन्, ‘भिडिओ बनाएर टिकटकमा पनि पोस्ट गरेछन्। भन्दै थिए-बासँग विद्यार्थी कार्यक्रम गर्दैछौँ। रमाइलो भयो, खुसी लाग्यो।’

स्वीकृतिसँगको भेटमा आत्मीयता देखाएका ओलीले उनीसँग सेल्फी र फोटो पनि खिचाए।

स्वीकृतिले नै ओलीसँग केही बेर भिडिओ अन्तर्वार्ता पनि लिइन्। त्यसपछि ओलीले हात हल्लाउँदै स्वीकृतिसहितलाई बालकोटबाट बिदा गरे।

@yedtalks Ba saga Bidhyarthi #yed_talks #kpoli #balkot #dropsomelove #fyp #excited ♬ Valentine, love, piano solo(823923) - zomap

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .