ad ad

राजनीति


सुन तस्करसँग महराका बाबुछोराको साँठगाँठबारे एमालेले संसद्‌मा उठायो प्रश्न

गिरीले भने- चिनियाँ व्यापारी र भन्सार अधिकृतलाई धेरैपटक फोन गर्दापनि अनुसन्धान भएन
सुन तस्करसँग महराका बाबुछोराको साँठगाँठबारे एमालेले संसद्‌मा उठायो प्रश्न

नेपालखबर
साउन १०, २०८० बुधबार १६:५३, काठमाडौँ

चिनियाँ नागरिकले तस्करी गरेर नेपाल ल्याएको सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाबु–छोरालाई कारबाही नगरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ। 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले अडिओ टेप नै बाहिरिँदा पनि महराका बाबु–छोरामाथि अनुसन्धान नगरेको बताए। 

उनले २०७९ पुस १० गते दुबईबाट १० किलो सुन इलेक्ट्रिक सिगरेटबाट ल्याउने काम भएको र त्यसलाई बाहिर ल्याउन महराले विभिन्न किसिमका हर्कत समेत गरेको संसद्‌मा भने। 

‘हामीले सञ्चारमाध्यमबाट सुन्यौं, सत्तापक्षकै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका बाउछोराले त्यो सुन त्यहाँबाट बाहिर ल्याउन धेरैपटक त्यहाँका अधिकृतहरुलाई फोन गर्नुभयो,’ सांसद गिरीले भने।

उनले महराका बाबु-छोराले एक सय ९५ पटक चिनियाँ व्यापारीलाई निरन्तर फोन गरेको प्रहरीले नै स्वीकार गरेको उनले संसद्‌मा बताए। 

‘सत्तापक्षकै नेता कृष्णबहादुर महरा र उहाँका छोराहरुले एक सय ९५ पटक चिनियाँ व्यापारीलाई निरन्तर फोन गरेको कुरा प्रहरीले पनि स्वीकार गरेको छ। तर उहाँलाई बोलाएर अनुसन्धान गर्ने काम गरेन। सोध्ने काम पनि भएन। यो भन्दा ज्यादती के हुन्छ?,’ उनले भने, ‘आज ठूलो माछाहरु उम्कने र सानालाई खोजी खोजी कारबाही गर्ने? हामी जो कोहीलाई पनि कारबाही हुनुपर्छ भन्ने पक्षमा छौं।’

संसद्‌मा गिरीले के भने?
२०७९ पौष १० गते दुबईबाट १० किलो सुन इलेक्ट्रिक सिगगरेटबाट ल्याउने काम भयो। त्यो सनुलाई बाहिर ल्याउन धेरै किसिमका हर्कतहरू भए। 

हामीले सञ्चारमाध्यमबाट सुन्यौं, सत्तापक्षकै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका बाउछोराले त्यो सुन त्यहाँबाट बाहिर ल्याउन धेरैपटक त्यहाँका अधिकृतहरुलाई फोन गर्नुभयो। जब त्यो सुन बाहिर ल्याउन सम्भव भएन, नभएपछि इलेक्ट्रिक सिगरेटकै नाममा लिलाममा लानुपर्यो भनेर दबाब आयो। कर्मचारीभित्रबाट इलेक्ट्रिक सिगरेटभित्र भएको सुन निकालेर बिक्रि गर्ने काम भयो। त्यसपछि यसले नयाँ रुप लिन थाल्यो। अहिले त्यसलाई सीआईबीले छानबिन गर्ने भन्यो। केही व्यक्तिहरुलाई मुद्दा दायर पनि भयो। अदालतले पुर्पक्षका लागि थुनामा पठाउने काम भयो।

सत्तापक्षकै नेता कृष्णबहादुर महरा र उहाँका छोराहरुले एक सय ९५ पटक चिनियाँ व्यापारीलाई निरन्तर फोन गरेको कुरा प्रहरीले पनि स्वीकार गरेको छ। तर उहाँलाई बोलाएर अनुसन्धान गर्ने काम गरेन। सोध्ने काम पनि भएन। यो भन्दा ज्यादती के हुन्छ? आज ठूलो माछाहरु उम्कने र सानालाई खोजी खोजी कारबाही गर्ने? हामी जो कोहीलाई पनि कारबाही हुनुपर्छ भन्ने पक्षमा छौं। 

तर, सत्ताको आडमा यत्रा ठूला स्क्यान्डल गर्ने कसैलाई पनि छाड्न हुँदैन भन्नेमा हामी सशक्त आवाज उठाउँछौं। 

भक्तिराज श्रेष्ठ भन्ने भन्सार अधिकृतले भन्नुभयो, मलाई कृष्णबहादुर महराले धेरैपटक फोन गर्नुभयो। उहाँका छोराले पनि फोन गर्नुभयो र लिलाम गर्न भन्नुभयो। मैले राजस्व अनुसन्धान आयोगलाई लेखेर दिएँ भन्नुभएको छ। बयानमा पनि ती कुराहरु उल्लेख छ। ती कुराहरुलाई लत्याइयो। सत्ताको आडमा मान्छेलाई संरक्षण गर्ने काम भयो। 

२०६७ साल भदौ १८ गते तत्कालिन माओवादीका नेता कृष्णबहादुर महराले चिनियाँ व्यापारीले डिल गरेको कुरा अडिओ रेकर्ड पनि आयो। यसका सिलसिला त्यहाँबाट सुरु भएको छ। पछिल्लो समय अहिले एक क्न्टिलभन्दा बढी सुन विमानस्थलबाट भित्रिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .