ad ad

राजनीति


दुई गुटबीच कुटाकुट र विवाद : पाँच महिनामै फेरिए रास्वपा रुपन्देही संयोजक

दुई गुटबीच कुटाकुट र विवाद : पाँच महिनामै फेरिए रास्वपा रुपन्देही संयोजक

रास्वपा रुपन्देहीका नयाँ संयोजक डा. बुद्धिप्रसाद शर्मा


नेपालखबर
साउन १, २०८० सोमबार १३:५०, काठमाडौँ

दुई गुटबीचको विवाद र कुटाकुटपछि राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देहीस्थित जिल्ला संयोजक प्रकाश ज्ञवालीलाई पाँच महिनामै हटाएको छ।

रास्वपाका एकजना सह-महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पाँच महिनाअघि चयन भएका रुपन्देही जिल्ला संयोजक प्रकाश ज्ञवालीलाई हटाएर डा. बुद्धि शर्मालाई नयाँ संयोजक तोकिएको हो। 

नयाँ जिल्ला संयोजक बनेका शर्मा पहिले लुम्बिनी प्रदेश समिति सदस्य थिए। बुर्लाकोटीका अनुसार रुपन्देहीका केही कार्यकर्तामा व्यक्तिगत आचारणको समस्या देखिएकाले छानबिन भइरहेको छ। 

आफूलाई नयाँ विकल्पका रुपमा राष्ट्रिय राजनीतिमा स्थापित भएको रास्वपा जिल्लामा देखिएको विवाद प्रहरीसम्म पुगेको थियो। 

जहाँ रास्वपाका दुई गुटमा विभाजित कार्यकर्ताहरुबीच पार्टीको सैनामैना नगर समितिको कार्यालयमै गत बुधबार हात हालाहाल र कुटाकुटको अवस्था भएको थियो। 

आगामी मंसिरमा जिल्ला अधिवेशन हुने भएपछि दुई गुटबीच नेतृत्व हत्याउने होडबाजी चल्दा अवस्था कुटाकुटसम्म पुगेको थियो। 

रास्वपाको एक समूहले स्थापना समयदेखि पार्टीमा आवद्ध कार्यकर्ताको सदस्यता खारेजी आरोप लगाएपछि बढेको विवाद कुटपिटसम्म पुगेर सार्वजनिक भएको थियो। 

एक समूहले पार्टी विधानअनुसार चल्नुपर्ने अडान लिएको थियो। रास्वपाको सैनामैना र्‍यापिड एक्सन टिम संयोजक दामोदर खत्रीले विधानअनुसार पार्टी चलाउने आवाज उठाउँदा कुटाई खानुपरेको गुनासो गरेका थिए। 

उनले आफूलाई लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही २ का क्षेत्रीय सदस्य विक्रम तिवारीसहितले गत बुधवार राति पार्टी कार्यालयमै बोलाएर कुटपिट गरेको दाबी गरेका थिए।

खत्रीका अनुसार पार्टी विधानको धारा १३ (ङ)मा सरकारी विद्यालयका शिक्षक कुनै पदमा नरहने व्यवस्था छ। तर जिल्ला संयोजक ज्ञवाली तिलोत्तमा नगरपालिका-१७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयका शिक्षक रहेको उनले दाबी गरेका थिए। शिक्षकले राजनीति गर्दा पार्टी विधानविपरीत पनि हुने कुरा बोल्दा कुटानी खानुपरेको खत्रीले जिकिर गरे थिए।

सरकारी विद्यालयको शिक्षक रहेकै कारण ज्ञवालीले जिल्ला संयोजकबाट अब बाहिरिनुपरेको छ। उता खत्रीले भने आफूले ज्ञवालीसहितलाई कुटपिट गरेको स्वीकार गरेका छन्। इलाका प्रहरी कार्यालयमा भएको छलफलपछि खत्रीले गल्ती स्वीकारेका हुन्।

यसैबीच रास्वपा जिल्ला समितिले खत्रीलाई पार्टीबाटै निष्कासनका लागि केन्द्रमा सिफारिस गरिसकेको छ। तर उनले शनिबार नै पार्टीबाट राजीनामा दिएको घोषणा गरिसकेका छन्। 

तर ज्ञवालीसहितले खत्रीले पार्टी विधानविपरीत कार्य गरेको तथा कुटपिटमा पनि उत्रिएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी नै दिएका थिए। 

कुटपिट आरोपपछि रास्वपा जिल्ला संयोजक ज्ञवालीले खत्री पार्टीमै नरहेको जिकिर गरेका थिए। उनले पार्टी जिम्मेवारीमै नरहेका व्यक्तिले अनावश्यक विवाद र गतिविधि गरिरहेको बताए। उनका अनुसार खत्रीलाई यसअघि नै पार्टीको जिम्मेवारीबाट हटाइएको थियो। 

ज्ञवालीले खत्री यसअघि कहिल्यै रास्वपा सैनामैना संयोजक नरहेको पनि दाबी गरेका थिए। पार्टीमै नरहेका व्यक्तिले कार्यालयमा आएर हुलदंगा गरेपछि उजुरी दिन बाध्य भएको पनि ज्ञवालीले जिकिर गरेका थिए। तर अब खत्रीलाई निष्कासन र ज्ञवालीको जिल्ला संयोजक पद गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .