ad ad

राजनीति


रास्वपामा पनि पुरानै रोग : दुई गुटबीच पार्टी कार्यालयमै कुटाकुट, प्रहरीसम्म पुग्यो कुरो

रास्वपामा पनि पुरानै रोग : दुई गुटबीच पार्टी कार्यालयमै कुटाकुट, प्रहरीसम्म पुग्यो कुरो

पत्रकार सम्मेलनका क्रममा दामोदर खत्री


नेपालखबर
असार ३१, २०८० आइतबार १२:९, रुपन्देही

आफूलाई नयाँ विकल्पका रुपमा उभ्याएर छोटै समयमा राष्ट्रिय राजनीतिमा स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि पुरानै रोग देखिएको छ।

स्थापना भएको केही महिनामै गत मंसिरको चुनाव लडेर २० सिट जितेको रास्वपाभित्र पनि पुराना दलको झैँ गुट-उपगुट र वादविवाद देखिएको हो।

केन्द्रमा पनि सभापति रवि लामिछाने र सांसद डा. स्वर्णिम वाग्लेबीच शक्तिको लडाँइ सुरु भएको चर्चाबीच जिल्लामा पनि कार्यकर्ताहरु एकआपसमा भिड्न थालेका छन्।

त्यसको पछिल्लो झल्को रुपन्देहीमा देखिएको छ। जहाँ रास्वपाका दुई गुटमा विभाजित कार्यकर्ताहरुबीच पार्टीको सैनामैना नगर समितिको कार्यालयमै हात हालाहाल र कुटाकुटको अवस्था भएको छ।

घटना गत बुधबार रातिको हो। तर यो शनिबार दिउँसो सार्वजनिक भयो। आगामी मंसिरमा जिल्ला अधिवेशन हुने भएपछि दुई गुटबीच नेतृत्व हत्याउने होडबाजी चल्दा अवस्था कुटाकुटसम्म पुगेको हो। 

रास्वपाको एक समूहले स्थापना समयदेखि पार्टीमा आवद्ध कार्यकर्ताको सदस्यता खारेजी आरोप लगाएपछि बढेको विवाद कुटपिटसम्म पुगेर सार्वजनिक भएको हो। 

एक समूहले पार्टी विधानअनुसार चल्नुपर्ने अडान लिएको थियो। रास्वपाको सैनामैना र्‍यापिड एक्सन टिम संयोजक दामोदर खत्रीले विधानअनुसार पार्टी चलाउने आवाज उठाउँदा कुटाई खानुपरेको गुनासो गरेका छन्। 

उनले आफूलाई लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही २ का क्षेत्रीय सदस्य विक्रम तिवारीसहितले गत बुधवार राति पार्टी कार्यालयमै बोलाएर कुटपिट गरेको दाबी गरेका छन्। 

खत्रीका अनुसार पार्टी विधानको धारा १३ (ङ)मा सरकारी विद्यालयका शिक्षक कुनै पदमा नरहने व्यवस्था छ। तर जिल्ला संयोजक ज्ञवाली तिलोत्तमा नगरपालिका-१७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयका शिक्षक रहेको उनले दाबी गरे। शिक्षकले राजनीति गर्दा पार्टी विधानविपरीत पनि हुने कुरा बोल्दा कुटानी खानुपरेको खत्रीले जिकिर गरेका छन्। 

खत्रीले पार्टी विधानअनुसार चलाऊँ भनेपछि नेताहरुले प्रलोभन देखाएर गलत प्रस्ताव राखेको बताए। उनले त्यो प्रस्ताव नमान्दा कुटपिट गरिएको बताए। 

खत्रीले बुधबार रातिको उक्त घटना सार्वजनिक गर्दै शनिबार दिउँसो बुटवलमा पत्रकार सम्मेलन नै गरे। उनले आफूमाथिको अन्याय सहन नसक्ने बताउँदै अब रास्वपाबाटै बाहिरिने पनि घोषणा गरे। 

रवि लामिछानेसँग दामोदर खत्री

आफूमाथि आक्रमण भएपछि प्रतिरक्षा गर्न बाध्य भएको उनको दाबी थियो। आफूमाथि कुटपिट हुँदा पनि मौन बसेको अवस्थामा उल्टै उजुरी हालिएको पनि खत्रीले बताए। 

खत्रीले नयाँ पार्टीमा गुटबन्दी नगरी विधानअनुसार चलाऊँ भन्दा कारबाही र कुटपिट भोग्नुपरेको बताए। स्थापनाकालदेखि आफूहरु पार्टीमा जोडिए पनि अहिले पाखा लगाउने गरी कुटपिटमा उत्रिने काम भएको भन्दै आपत्ति जनाए।

तर ज्ञवालीसहितले खत्रीले पार्टी विधानविपरीत कार्य गरेको तथा कुटपिटमा पनि उत्रिएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी नै दिएका छन्। 

कुटपिट आरोपपछि रास्वपा जिल्ला संयोजक ज्ञवालीले खत्री पार्टीमै नरहेको जिकिर गरे। उनले पार्टी जिम्मेवारीमै नरहेका व्यक्तिले अनावश्यक विवाद र गतिविधि गरिरहेको बताए। उनका अनुसार खत्रीलाई यसअघि नै पार्टीको जिम्मेवारीबाट हटाइएको छ। 

ज्ञवालीले खत्री यसअघि कहिल्यै रास्वपा सैनामैना संयोजक नरहेको पनि दाबी गरे। पार्टीमै नरहेका व्यक्तिले कार्यालयमा आएर हुलदंगा गरेपछि उजुरी दिन बाध्य भएको पनि ज्ञवालीले जिकिर गरेका छन्। 

इप्रका बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले रास्वापका केही नेताहरुले उजुरी लिएर आएको बताउँदै यसबारे आज छलफल हुने बताएका छन्। 

उनले पार्टीको आन्तरिक विवादले अवस्था जटिल बनेको हुन सक्ने बताउँदै यसबारेमा छलफलका लागि दुवै पक्षलाई झिकाइएको पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .