समाज


...जहाँ साउनलाई हरियो होइन ‘कालो महिना’ मानिन्छ

...जहाँ साउनलाई हरियो होइन ‘कालो महिना’ मानिन्छ

फाइल तस्बिर


रासस
साउन १, २०८० सोमबार १३:५१, बैतडी

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा साउनलाई ‘बत्ती बाल्ने महिना’का रुपमा मनाउने गरिन्छ। धार्मिक महिनाका रुपमा चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ। कालो महिना मानिने भएकाले आजदेखि बत्ती बालेर उज्यालो पार्ने पर्वका रुपमा मनाइँदैछ।

साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको उनले बताए।

'साउनमा सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्, हरिशयनी एकादशीदेखि साउनसम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्,' भट्टले भने। शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ। 

आजदेखि भक्तजनले बिहानै उठेर नुहाएर एक महिनासम्म व्रत बस्ने तथा देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने र अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ। 

बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभई सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको दशरथचन्द नगरपालिका–२ का दीपेन्द्र बोहराले बताए। जिल्लामा रहेका रौलाकेदार मन्दिर, ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, सिगास मन्दिर, शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावण भरी दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। 

श्रावण महिनाभरी मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रहिआएको भट्टले बताए। जिल्लाबाट बसाइँ सरेर गएका पनि मन्दिरमा पूजापाठ गर्न तथा बत्ती बाल्न जिल्ला भित्रिने गर्दछन्। बत्ती बाल्ने महिना सुरु भएसँगै यहाँका शक्तिपीठहरुमा दर्शनाथीको भीड लागेको छ। 

हर्‍याल हालिँदै
सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्‍याल हाल्ने चलन छ। हर्‍याल हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई भनिन्छ।

साउनमा देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्‍याल हाल्ने गरिएको संस्कृतिका जानकार भट्टले बताए। उनले सङ्क्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने चलन रहेको जानकारी दिए।

त्यस्तै साउनमा खीर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिनुका साथै असारभरी हिलोमा खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउने भएकाले आज सफासुग्घर गरी ‘लुतो फाल्ने’ गरिन्छ। 

गाउँघरमा आज साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ। त्यसरी लुतो फालिसकेपछि जिउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ। 

साउनमा पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वासका आधारमा यस महिनालाई पवित्र महिनाका रुपमा मान्ने गरिन्छ। योसँगै चाडपर्व सुरु भएको मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad