ad ad

राजनीति


संसद्‍मा गतिरोध : अलग्गै वार्तामा जुटे प्रधानमन्त्री प्रचण्ड र ओली

संसद्‍मा गतिरोध : अलग्गै वार्तामा जुटे प्रधानमन्त्री प्रचण्ड र ओली

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार २५, २०८० सोमबार १३:१४, काठमाडौँ

संघीय संसद्‍का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच वार्ता हुने भएको छ।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अहिले दुई जना शीर्ष नेताबीच वार्ता हुन लागेको हो।

 

एमाले उपमहासचिव विष्णु रिमालले दुईजना नेताहरुबीच अलग्गै वार्ता हुन लागेको जानकारी दिएका छन्। दुई नेताहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवाद हुन लागेको हो। 

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको आशयसहितको विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद्‍मा अवरोध गरिरहेका छन्।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा पनि एमालेले अवरोध जारी राख्यो। त्यहीकारण राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक सोमबार दिउँसोसम्मलाई स्थगित गरे। राष्ट्रियसभाको बैठक सोमबार पनि स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक आइतबार स्थगित भएर फेरि सोमबार ३ बजेलाई डाकिएको छ।

एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद्‍को गतिरोध नहटाउने अडान लिएको छ। एमालेको अडानका कारण संसद्‍ अघि बढ्न सकेको छैन। 

एमालेको अवरोधका कारण माथिल्लो सदन राष्ट्रियसभाबाट अझै पनि आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन।

आइतबारको बैठकमा सहमति भएर पनि भाँडिएको थियो। आइतबार कुरा मिलेको केही बेरपछि एमालेले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्तिसमेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राखेको थियो।

त्यसपछि सोमबार फेरि दुई शीर्ष नेता वार्तामा जुटेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .