संघीय संसद्का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला आइतबार बिहान तीन दलका शीर्ष नेताहरूबीचको संवाद सकिएको छ।
करिब डेढ घण्टा चलेको संवादपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद्को गतिरोध हटाउन तयार भएको छ।
आइतबार बिहान सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबीच भएको वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असार १८ गते दिएको आफ्नो अभिव्यक्ति सच्याउन तयार भएका हुन्।
उक्त वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए।
त्यसक्रमा एमाले अध्यक्ष ओलीले दिल्लीले आफूलाई प्रधानमन्त्री बनाइदिएको आशयसहितको प्रचण्डको असार १८ गतेको अभिव्यक्तिलाई लिएर माफी माग्नुपर्ने अडान लिएका थिए।
प्रचण्डले उक्त वार्तामा आफ्नो उक्त विवादित अभिव्यक्तिबारे संसद्मा प्रष्टीकरण दिने बताएपछि एमाले संसद् खुलाउन तयार भएको हो।
यस्तोमा प्रचण्डले उक्त अभिव्यक्तिबारे आफूले संसद्मा स्पष्टीकरण दिने जवाफ दिएका छन्। गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको आशयसहितको विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद्मा अवरोध गरिरहेका छन्।
आइतबार बसेको राष्ट्रियसभाको बैठकमा पनि एमालेले अवरोध जारी राखेको थियो। त्यहीकारण राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक सोमबार दिउँसोसम्मलाई स्थगित गरेका छन्।
उता आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि दुई घण्टालाई पर सारिएको छ।
एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद्को गतिरोध नहटाउने अडान लिएको थियो। तर अब प्रधामन्त्रीले जवाफ दिने भएपछि एमाले अडानबाट पछि हटेको हो।
एमालेको अवरोधका कारण माथिल्लो सदन राष्ट्रियसभाबाट अझै पनि आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन।
Shares

प्रतिक्रिया