अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा रिहा भएका छन्।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी अनुपशमशेर जबराले काठमाडौँ जिल्ला अदालतले तारेखमा छाडेको जानकारी दिए।
‘यसअघि अदालतले ५ दिनको म्याद दिएर बयान गराएर ल्याउनु भनेको थियो। बयानमा शेर्पाले आरोप स्वीकार गर्दै सबै रकम व्यहोर्छु भनेपछि अदालतले तारेखमा छाड्न भनेको हो,’ उनले भने। शेर्पा रिहा भए पनि अनुसन्धान भने जारी नै रहने जबराको भनाइ छ।
सीआईबीको टोलीले असार १२ गते उनलाई बुढानीलकण्ठ-६, गणेशचोकबाट पक्राउ गरेको थियो।
शेर्पाले हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर लाभ लिएको आरोप छ।
विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो।
अनुसन्धानबाट शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको पत्ता लागेको सीआईबीले जनाएको छ।
विद्यालयका लागी सवारीसाधन खरिद गर्ने रकमबाट उनले आफू सम्बद्ध कम्पनीको नाममा जग्गा र सवारीसाधन खरिद गरेको आरोप छ।
विद्यालयको रकम हिनामिना गरेको भनी सीआईबीमा उजुरी परेको थियो।
Shares

प्रतिक्रिया