ad ad

राजनीति


एमालेले अघि सार्‍यो थप नयाँ सर्त, संसद्‍ खुल्ने अनिश्चित

एमालेले अघि सार्‍यो थप नयाँ सर्त, संसद्‍ खुल्ने अनिश्चित

आइतबार बसेको तीन नेतको बैठक। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
असार २४, २०८० आइतबार १५:४, काठमाडौँ

सुरुमा संसद् खोल्न तयार भएर समझदारी गरेको नेकपा एमालेले थप सर्त अघि सारेपछि बैठक अनिश्चित बनेको छ।

प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको एमालेले त्यसबाट पछि हटेर आइतबार संसद सुचारु गर्न तयार भएको थियो। 

त्यहीअनुसार १ बजेको लागि बोलाइएको बैठक दुई घण्टा ढिला सारिएको थियो।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।

उक्त छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने प्रतिबद्धता जनाएका थिए। त्यही बैठकबाट अध्यक्ष ओली संसद खोल्न तयार भएका थिए।

‘तपाईंले अभिव्यक्ति फिर्ता लिनुहुन्छ भने हामी पनि संसद् अवरुद्ध गर्दैनौँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले नेपालखबरसँग भन्यो, ‘तीनै नेताहरु त्यसपछि बाहिरिनुभएको थियो।’

तर, केही बेरपछि एमालेले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्ती समेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राख्यो।

‘बिहानको तीन शीर्षनेता भेट्नुभयो, प्रधानमन्त्रीले प्रष्टीकरण दिने सहमति पनि भयो, तर, बाहिरिएपछि फेरि एमालेले सर्त अघि सार्‍यो,’ स्रोतले थप्यो, ‘उहाँहरु उपप्रधानमन्त्री र प्रेस सल्लाहकारकै विज्ञप्ति हटाउनुपर्ने बताउनु थाल्नुभएको छ, यो त माहोल बिगार्ने कुरा भयो।’

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच टेलिफोनमा फेरि संवाद भएको थियो।

त्यसक्रममा प्रधानमन्त्रीले ‘मेरो अभिव्यक्तिपछि बीच बीचमा कसले बोलेका कुरा सबै फिर्ता लिने, प्रष्टिकरण दिने कुरा कसरी सम्भव छ? तपाईं आफैंले विद्यार्थीको कार्यक्रममा गएर हुँदै नभएको रअका अधिकारीलाई भेटेको आरोप लगाउनुभएको होइन, यो पुष्टि हुने कुरा हो त?’ प्रचण्डले भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंकै महासचिवले पनि त के के बोल्नुभएको छ।’

गत सोमबार प्रितम सिंहको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिपछि एमालेले लगातार संसद अवरुद्ध गरिरहेको छ।

संसद् खोल्न प्रचण्डले बैठक राखेका थिए, त्यहीअनुसार समझदारी भएपनि एमालेले नयाँ माग राखेपछि बैठक बस्ने सम्भावना कम हुँदै गएको छ।

यद्यपि प्रमुख सचेतकहरुको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संसद्को‍ गतिरोध हटाउन तीन नेताको छलफल सकारात्मक भएको बताए।

‘संसद् चल्नेतिर गयो, अत्यन्त सकारात्मक छलफल भएको छ,’ आचार्यले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .