प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ।
नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत रहेको प्रष्ट पारे।
‘प्रधानमन्त्रीले जुन खालको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु भयो। त्यसले हाम्रो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतालाई उहाँले माटोमा मिलाउने काम गर्नु भएको छ। र, नेपाली जनतामा निहित सार्वभौमसत्तामाथि उहाँले प्रकारले चुनौति दिने काम पनि गर्नु भएको छ,’ उनले भने, ‘देशका एउटा बहालवाला प्रधानमन्त्रीले यो तहको अभिव्यक्ति दिने कुरा आफैंमा गम्भिर र आपत्तिजनक कुरा हो। यो निन्दनीय छ। यसलाई हामीले सामान्य रुपले लिन सक्दैनौं।’
आइतबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य हुने पटकपटक दोहोर्याए।
यो पनि पढ्नुहाेस्:
‘हाम्रो राष्ट्रिय स्वाधिनताभन्दा माथि अर्को कुरा हुन सक्दैन। हाम्रो सार्वभौमिकताभन्दा माथि अर्को कुनै पनि चिज हुन सक्दैन। त्यसकारणले सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिबाट निर्वाचित भएको प्रधानमन्त्रीले म संसदले होइन, दिल्लीबाट म प्रधानमन्त्री भएको हुँ भन्ने आशयको अभिव्यक्ति दिनु, दिल्लीको कुनै एउटा व्यापारीले मलाई प्रधानमन्त्री बनाउनका लागि दिल्लीमा लबिङ गर्नु भयो भन्ने जुन अभिव्यक्ति आयो,’ गिरीले भने।
प्रमुख सचेतक गिरीले प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिप्रति संसदमा उभिएर माफी मागे संसद सुचारु गराउन भने सकिने धारणा राखे।
‘यस्तो व्यक्ति देशको प्रधानमन्त्रीको रुपमा रहनु भनेको सिंगो राष्ट्रका लागि पनि दूर्भाग्य हो। त्यसकारणले उहाँले तत्काल राजीनामा दिनुपर्छ। र, राजनीतिक निकास दिनुपर्छ भन्ने पक्षमा हामी छौं,’ उनले भने, ‘हाम्रो माग यथावत छ। हामी विल्कुल यथावत छौं। उहाँले कुनै अक्षम्य खालको एउटा गल्ती गर्नु भएको छ।’
प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षणनै राजीनामा दिई सकेको हुने जिकीर समेत गरे।
‘आज संसारका लोकतान्त्रिक मुलुकहरु, विकसित मुलुकहरुको प्रमुखले कार्यकारी राष्ट्रपतिले वा कार्यकारी प्रधानमन्त्रीले यस्तो प्रकारको अभिव्यक्ति दिनु हुन्थ्यो भने तत्क्षण सत्ताबाट च्यूत हुन्थ्यो। तत्काल देशका नागरिकहरु स्वाभिमानका झण्डा बोकेर सडकमा आउँथे,’ गिरीले भने, ‘संसदभित्र आगो बल्थ्यो। त्यस्तो खालको परिस्थिति निर्माण हुन्थ्यो। तर यहाँ हामीले धेरै संयमता अपनाएका छौं।’
उनले यसलाई सामान्य विषयको रुपमा नलिन पनि आग्रह गरे।
Shares

प्रतिक्रिया