ad ad

राजनीति


एमालेको आरोप : प्रचण्डले नैतिकता गुमाइसके, प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैनन्

एमालेको आरोप : प्रचण्डले नैतिकता गुमाइसके, प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैनन्

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८० आइतबार १३:१९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौंथो पटक पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ।

आइतबार राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म संसद् अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिए। 

बैठकमा बोल्दै एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म संसद अवरुद्ध निरन्तर हुने बताइन्। 

उनले प्रधानमन्त्री दाहाल संसद्‍मा आएर त्यसबारेको स्पष्टीकरण दिन लायक नरहेको जिकिरसमेत गरिन्। 

सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्नेगरी अभिव्यक्ति दिने प्रधानमन्त्री दाहालले कसरी आफूले कुरा बोलेको होइन भनेर भन्नु भएको हो?भनेर प्रश्न पनि गरिन्। 

‘हामी अहिले प्रचण्ड मुख्य पात्र भएर गरिरहनु भएको प्रहसनको नाटक हेरिरहेका छौं। वास्तवमा पाष्ट हिष्ट्री सम्झन मन लाग्दैन। जनयुद्ध गर्दैखेरी उहाँ र एकजना नेताले भारतलाई लेखेको पत्र सार्वजनिक भएको थियो। उहाँ देश र जनतालाई धेरै ढाँटनु हुन्छ। स्वाधिनताविरुद्ध धेरै पटक उभिनु भएको छ। उहाँका यस्ता कर्तुतहरु विगतमा पनि धेरै देखिए। मैले दृष्टान्तका लागि मात्रै विगतका केही कुरा जोडदैछु’, उनले भनिन्, ‘एमसीसीविरुद्ध बोल्नु भयो। तर एमसीसी बोर्डलाई पत्र लेख्नु भो। एमसीसी पास गर्ने प्रतिवद्धता जनाएर, बाचा खाँदै पत्र लेख्नु भयो। तर यहाँ प्रस्तावमा पारित गराउनु भयो। त्यही समय कार्यकर्तालाई उफार्नु भयो।’ 

उनले प्रचण्ड नाटक गर्न धेरै सिपालु रहेको बताइन्। ‘उहाँले स्वाधिनता, देशको राष्ट्रियता, स्वाभिमानविरुद्ध पटकपटक धावा बोल्नु भएको छ। भारतलाई नेपालमा सरकार बनाउन खुला रुपमा आमन्त्रण गर्नु भएको छ। योभन्दा यो भन्दा अगाडि भारतका निम्ति कम्फर्टेबल सरकार बनाउन भारतलाई खुला सहयोग माग्नु भयो’, उनले भनिन्, ‘यो यो दल भयो भनेर भारतका निम्ति कम्फर्टेवल हुन्छ भनेर। हुँदै जाँदा उहाँले त्यस्ता गल्तीहरु धेरै गर्नुभयो। म धेरै वर्ष अगाडिका कुरा गर्दिनँ। केही समय अगाडि भारतमा जाँदे गर्दा उहाँले धेरै राष्ट्रघाती सहमति गरेर आउनु भएको छ। उहाँले सदनमा इपिजीबारे पनि केही नबोलेको बताउनु भयो। खत्रक्कै परिन्छ कि भनेर त्यो कुरा उठाइनँ भन्नुभयो।’ 

ग्रेटर भारतको नाममा भारतले नक्सा निकाल्दै गर्दा नेपालको भूमि हेरेर आएको पनि उनले बताइन्। ‘तर उहाँलाई दुखेन, अलिकति पनि पीडा भएन। उहाँलाई अलिकति पनि पोलेन। त्यसै गरेर फुकोट कर्णाली नेपाल आफैंले बनाउने भनेर मन्त्रीपरिषदले निर्णय गरेको कुरा उहाँले भारतलाई सुम्पेर आउनु भयो’, उनले भनिन्, ‘यस्ता राष्ट्रघाती काम गर्दा प्रधानमन्त्रीज्यू तपाईंले पुर्खाहरुको इतिहास सम्झनु भएन? यो देश बलभद्र, भक्ति थापा, अमर सिंहहरुले गरेको योगदान सम्झनु भएन? त्यसैले तपाईंले म दुर्लभ प्रधानमन्त्री हुँ भनेर जसरी भन्नु भएको छ। दुर्लभ प्रधानमन्त्रीले गर्ने यस्तै हर्कत हो। राष्ट्रियताविरुद्ध, स्वाधिनताविरुद्ध कति पटक सहने? पछिल्लो दिनमा उहाँले जे गर्नु भयो। प्रधानमन्त्रीका धेरै कर्तुत पछि खुल्दै जान्छन्। अब तपाईले संसदलाई जवाफ दिन आवश्यक छैन। तपाईंको कुरा प्रष्टसँगले आईसकेको छ। तपाईले प्रष्टसँग भन्नु भएको छैन र? बाहिर भाषण गर्दै हुनुहुन्छ अझ मैले बोलेको होइन भनेर।’

उनले प्रधानमन्त्री एक मिनेट पनि कुर्सीमा बस्न योग्य नरहेको तर्क गरिन्। ‘तपाईंले भन्नु भएको यही होइन र–मलाई प्रधानमन्त्री बनाउनका निम्ति धेरै मेहनत गर्नु भयो। प्रितम सिंहले मलाई प्रधानमन्त्री बनाउन धेरै पटक भारत जानु भयो भनेर प्रष्टसँग तपाईले भन्नु भएको होइन?’, उनले सोधिन्, ‘अनि मैले बोलेको होइन भन्ने नैतिकता छैन प्रधानमन्त्रीज्यू। देश नैतिकताले चल्छ, कानुनले चल्छ। यो स्वाधिनताको विषय हो। राष्ट्रियताको विषय हो। यो सामान्य विषय होइन। त्यसैले तपाईं यो संसदमा आएर जवाफ दिन लायक हुनुहन्न। प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य पनि हुनुहुन्न। त्यसैले एउटा मात्रै समाधान तपाईंको बहिर्गमन हो। तपाईंको बहिर्गमन नहुँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .