सडक सुरक्षालाई उच्च प्राथमिकता दिँदै आगामी तीन वर्षभित्र पहिचान भएका सबै पहिरोको व्यवस्थापन र तीन हजार नयाँ पुल निर्माण गर्ने योजना रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री लम्सालले सडक सुरक्षा र पहिरो नियन्त्रणका लागि सरकारले २३ अर्ब रुपैयाँको वहुवर्षीय बजेट विनियोजन गरेको छ। आगामी तीन वर्षभित्र पहिचान भएका सबै पहिरोको ‘स्लोप प्रोटेक्सन’ र अन्य सुरक्षाका काम सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको बताए।
वार्षिक बजेटमा क्रमशः रकम थप गर्दै लगिने गरी यो योजना तर्जुमा गरिएको उनले बताए। सडक सुरक्षाको दृष्टिकोणले नेपालका राजमार्ग असुरक्षित रहेको स्वीकार गर्दै मन्त्री लम्सालले अब निर्माण हुने सबै राजमार्गमा अन्डरपास, ओभरपास र फ्लाईओभर निर्माणलाई अनिवार्य गरिने उनको भनाइ थियो। ‘अब उपरान्त जति पनि नयाँ सडकका टेन्डरहरू खुल्छन्, त्यहाँ सुरक्षाका यी मापदण्डहरू अनिवार्य हुनेछन्,’ उनले भने।
यसैगरी, हाल निर्माणाधीन सडकमा समेत सडक सुरक्षाका अवयवहरू थप गर्न लागिएको उनले बताए। निर्माणाधीन आयोजनामा ‘भेरिएसन अर्डर’ मार्फत क्र्यास ब्यारियर, रोड मार्किङ, ट्राफिक सिग्नल र सम्भव भएसम्मका स्थानमा अन्डरपास तथा ओभरपास थप गरिने उनको भनाइ छ।
सडक दुर्घटनाको उच्च जोखिम रहने पुल तथा क्रस ड्रेन स्ट्रक्चरको अभावलाई सम्बोधन गर्न स्थानीय पूर्वाधार विभागमार्फत आगामी तीन वर्षमा तीन हजार वटा पुल सम्पन्न गर्ने लक्ष्य राखिएको बताए। यसका लागि सरकारले ८१ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको छ।
हाल बजेट पुस्तिकामा करिब एक हजार पुल मात्र समावेश भए पनि बाँकी दुई हजार पुलको प्रमाणीकरण प्रक्रिया सकिएपछि बजेटको सुनिश्चितता हुने मन्त्री लम्सालले बताए। डीपीआर र टेन्डर प्रक्रिया अघि बढेपछि बजेट खर्चको अवस्था हेरेर रकमान्तर गरी पुल निर्माणलाई गति दिइने र तोकिएको समयमै लक्ष्य हासिल गरिने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया