राजनीति


रास्वपाले तयार गर्दै महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली

रास्वपाले तयार गर्दै महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली

नेपालखबर
असार ४, २०८३ बिहिबार १५:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु भएको छ। 

रास्वपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म हुँदै छ। निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयारी हुन लागेको हो।  

केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले मधेस प्रदेश र विभिन्न १३ जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराउन लागिएको बताए। उनका अनुसार, २०७९ सालको आम निर्वाचनमा उम्मेद्वार भइ निर्वाचित हुन नसकेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई पनि प्रतिनिधिका रुपमा सहभागी गराइने भएको छ। 

यस्तै, पालिका सभापति, पालिकाको अधिवेशनबाट छनोट भएका महाधिवेशन प्रतिनिधि, केन्द्रीय समिति र केन्द्रीय संरचनामा रहेका प्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि हुनेछन्। केन्द्रका ३८ विभागका ११ जनाका दरले रहेका समितिका सदस्यहरू महाधिवेशन प्रतिनिधिका रुपमा हुनेछन्। तीन आयोगका ११ जनाका दरले रहेका सदस्य र सल्लाहकार पनि  प्रतिनिधिका रुपमा रहनेछन्। 

सङ्घीय नेतृत्व मञ्चका सबै सदस्य, सातै प्रदेशका प्रदेश समिति, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव, जिल्ला समितिका सभापतिसहित पाँच जना महाधिवेशनका लागि प्रतिनिधि बन्नेछन्। विभिन्न जिल्लाका जिल्ला–काठमाडौँ सम्पर्क विभागका प्रमुख, निर्वाचन क्षेत्रका संयोजक र उपसंयोजक पनि प्रतिनिधि रहनेछन्। 

उनको अनुसार, विभिन्न २५ देशबाट प्रतिनिधि आउने तय भएको छ। ती देशबाट संख्यामा आधारमा तीनदेखि ११ जनासम्म प्रतिनिधि आउने श्रेष्ठले बताए। 

यससँगै केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत दुई सय जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था रहेको छ। विधान र पार्टीको निर्णय अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची तयार गरिँदै छ। महाधिवेशन प्रतिनिधिको यकिन सङ्ख्या आज साँझसम्ममा तय हुने उनले बताए। 

यसैसाथ महाधिवेशनमा पर्यवेक्षकका रुपमा सहभागी हुनेहरुको सूची पनि तयार हुँदै छ। महाधिवेशनमा सहभागी हुनका लागि राष्ट्रिय मान्यता प्राप्त दल, विशिष्ट व्यक्तित्व, विदेशी पार्टी तथा अन्य निकायलाई निमन्त्रण पठाउने काम भइरहेको उनले बताए। 

महाधिवेशनको पहिलो दिन असार ७ गते भरतपुरको गेस्ट हाउस मैदानमा उद्घाटन हुनेछ। असार ८ र ९ गते मैदान नजिकै रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र चल्नेछ। 

महाधिवेशनले नेतृत्व चयन गर्नेछ। पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्य चयन हुनेछन्। 

निर्वाचित सदस्यबाट दोस्रो चरणमा तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्री चयन हुनेछन्। महाधिवेशन तयारीका लागि केन्द्रीय नेता आउने क्रम सुरु भइसेको । महाधिववेशन मूल आयोजक समितिअन्तर्गतका १८ वटा उपसमितिले खटिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad