ad ad

राजनीति


कोशीका सभामुखको तर्क : संसदीय व्यवस्थामा निष्पक्ष कोही छैन, अप्ठ्यारो परे राजीनामा दिन्छु

कोशीका सभामुखको तर्क : संसदीय व्यवस्थामा निष्पक्ष कोही छैन, अप्ठ्यारो परे राजीनामा दिन्छु

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८० शुक्रबार १३:५३, काठमाडौँ

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले नेपाली कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेकै कारण अप्ठ्यारो अवस्था आए पदबाट राजीनामा दिने बताएका छन्। 

शुक्रबार बिराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। 

‘गठबन्धनको सरकार बनाउन मैले हस्ताक्षर गरेको हो। मलाई कसैको दबाब थिएन। आफ्नै इच्छाले हस्ताक्षर गरेको हुँ। परिआएमा सभामुख छाड्न सक्छु’, उनले भने, ‘यदि हस्ताक्षर गरेकै कारण कुनै अप्ठ्यारो आएमा नैतिकताको कुरा आउँछ, म राजीनामा दिन सक्छु।’

उनले संसदीय इतिहास भनेको पक्ष र विपक्षकै इतिहास रहेको पनि बताए। ‘देख्नुभयो नि! मुख्यमन्त्री उद्धव थापाले निष्पक्षताको शपथ खाएका छन्’, उनले अगाडि भने, ‘मैले सदनमा रहँदासम्म निष्पक्ष भूमिका खेल्छु। यदि त्यो हुन सक्ने अवस्था आएन भने साँच्चिकै अफ्ठ्यारो भए राजीनामा दिन्छु।’

उनले आफ्नो कदमलाई लिएर नैतिक प्रश्न उठे पनि डेड लक तोड्न हस्ताक्षर गरेको बताए। 

‘नैतिक प्रश्न त उठ्यो तर अहिलेको निकास के त? दुवैतिर बहुमत नपुग्दा के गर्ने त? डेडलक राखिरहन त भएन’, उनले भने, ‘म सदनको अध्यक्षको नाताले पक्ष र प्रतिपक्षलाई मिलाएर जाने दायित्व मेरो थियो। एकातिर हस्ताक्षर गर्न नपरोस् भन्ने चाहनथा थियो। तर निकास त दिनुपर्‍यो। निकासका लागि मैले गठबन्धनको पक्षमा हस्ताक्षर गरेँ।’

उनले सरकार बन्नै नसक्ने अवस्थालाई किनारा लगाउन आफूले हस्ताक्षर गरिदिएको बताउँदै त्यसकै कारण परिआए सभामुख पद छाड्ने पनि पटक पटक दोहोर्‍याए। 

सम्बन्धित समाचार

९३ सदस्यीय कोशी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी मिल्दा पनि सरकार बनाउन ४६ मात्रै सांसद पुग्थे। बहुमतका लागि ४७ जना सांसद चाहिने अवस्थामा माओवादीबाट प्रदेशसभामा विजयी ओखलढुंगाका गौतमले हस्ताक्षर गरिदिएका हुन्। 

उनको हस्ताक्षरले बहुमत अर्थात ४७ सांसद पुगेसँगै कोशीमा कांग्रेस नेता उद्धव थापाले मुख्यमन्त्रीको शथप लिइसकेका छन्। उनले जसपा र एकीकृत समाजवादीका एक एक सांसदलाई मन्त्रीमा नियुक्त पनि गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .