ad ad

राजनीति


कांग्रेस नेतृत्वको गठबन्धनलाई बहुमत जुटाउन सभामुखले पनि गरे हस्ताक्षर

मुख्यमन्त्री थापा भन्छन् : उहाँ प्रदेशसभा सदस्य हो, राजीनामा दिनु पर्दैन
कांग्रेस नेतृत्वको गठबन्धनलाई बहुमत जुटाउन सभामुखले पनि गरे हस्ताक्षर

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार १८:५५, काठमाडौँ

कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित गठबन्धन सरकार बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका छन्। 

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन बहुमत अर्थतत् ४७ जना सांसद पुर्‍याउन सभामुख गौतम पनि हस्ताक्षर गरेका छन्।

नयाँ सरकार गठनको प्रस्ताव प्रदेश प्रमुख परशुराम खापुङकहाँ पेस गर्दा कांग्रेसबाट संसदीय दलका नेता थापा, माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी दलका नेता निर्मला लिम्बूले हस्ताक्षर गरेका छन्।

गत मंसिरको चुनावमा ओखलढुंगाबाट निर्वाचित भएका गौतम नेकपा एमालेको पनि समर्थनमा सभामुख बनेका थिए। तर एमालेसँग माओवादीको गठबन्धन केही महिना पनि टिक्न सकेन।

यो अवस्थामा ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद चाहिन्थ्यो। ती सांसद कांग्रेस-माओवादी गठबन्धन र एमाले-राप्रपा गठबन्धन दुवैतिर पुग्ने अवस्था थिएन। कांग्रेस-माओवादीसहितको गठबन्धनमा पनि ४६ र एमाले-राप्रपासँग पनि ४६ मात्रै सांसद छन्। 

भिडिओ :

यस्तो अवस्थामा बिहीबार थापाले सरकारको दाबी पेस गर्दा सभामुख गौतमले पनि हस्ताक्षर गरेका छन्। उनले आफूलाई प्रदेशसभा सदस्यका रुपमा प्रस्तुत गर्दै थापाको पक्षमा बहुमत जुटाउने गरी हस्ताक्षर गरिदिएका हुन्।

यसअघि यो गठबन्धनले एमालेको साथमा रहेको राप्रपालाई आफ्नो पक्षमा ल्याउन खोजेको थियो। तर ६ सांसदसहितको राप्रपाले साथ नदिने भएपछि कांग्रेस-माओवादीले सभामुखको पनि हस्ताक्षर जुटाएर बहुमतको जुक्ति निकालेका हुन्। 

तर संवैधानिक व्यवस्था अनुसार सभामुखले प्रदेशसभामा बराबरी भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउने उल्लेख छ। यता सरकार बनाउन जुटेका दलहरुले भने सभामुख पनि प्रदेशसभा सदस्य भएकाले हस्ताक्षर गर्न पाउने जिकिर गरेका छन्। 

मुख्यमन्त्रीमा नियुक्त थापाले सभामुख गौतमले वर्तमान सरकार गठनका क्रममा गरेको हस्ताक्षरको विषयमा आउने दिनमा संविधानको व्याख्यामार्फत प्रष्ट पार्ने दाबी गरे। 

उनले सभामुखको हस्ताक्षर संविधानअनुसार नै भएको जिकिर गरे। ‘यो गलत छ या ठीक छ भन्ने कुरा संविधानले नै प्रष्ट पार्नेछ,’ उनले भने, ‘तटस्थ सदस्यका नाताले उहाँले हामीलाई समर्थन गर्नुभएको हो। सभामुखलाई विवादमा पारेका छैनौँ। उहाँ सभामुख मात्रै होइन, प्रदेशसभा सदस्य पनि हो। उहाँ ९३ जनामै पर्नुहुन्छ। प्रदेशसभा सदस्यको नाताले समर्थन गर्नुभएको हो।’ 

मुख्यमन्त्री थापाले सभामुख विवादमा पर्ने काम नभएको दाबी गरे। गठबन्धनको पक्षमा सुरुमै बहुमत जुटाउन हस्ताक्षर गरिसकेपछि गौतमले सभामुखबाट राजीनामा दिनुनपर्ने जिकिर थापाले गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .